
गतिरोधबीच राजनीतिक भेटघाटमा व्यस्त सभामुख
काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी (ब्रिफिङ) गराउनुभएको छ ।
राष्ट्रपति निवास शीतल निवास आज राष्ट्रपति भण्डारीलाई सभामुख घर्तीले भेट गर्नु भई संसद्को गतिविधिका बारेमा जानकारी गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । दलका यही अविश्वासको अवस्थालाई पुनः विश्वासमा ल्याउन सभामुख घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ ।
राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिनुभयो ।
“मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।” उहाँले भन्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दलको बीचमा संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताउनुभएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
भोलि सदनको बैठक बस्दैछ, दलबीचको अविश्वास हट्ला त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो मैले दलका शीर्ष नेतालाई भेट गर्दा उहाँहरुले सहमति कायम गर्ने जानकारी दिनुभएको जवाफ दिनुभयो ।
सभामुख घर्तीले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई