
काठमाडौँ, ३१ असार । मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधान बमोजिम अघि बढ्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताउनुभयो ।
माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा छलफल नभएसम्म बजेट आश्रित विधेयक पारित नगर्ने अडान लिएको सम्बन्धमा पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता राईले भन्नुभयो – “त्यो उहाँहरुको कुरा हो । सरकार संविधान र विधिसम्मत ढङ्गले अघि बढ्नेछ ।”
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई बुधबार काँग्रेससँग मिलेर सो प्रस्ताव दर्ता गराएको थियो ।
चिकित्सा ऐनको मस्यौदा पारित
बैठकले ‘नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐन’को मस्यौदालाई संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको राईले बताउनुभयो । सो मस्यौदाले चिकित्सक डा गोविन्द केसीको मागलाई केही हदसम्म सम्बोधन गर्ने बुझिएको छ ।
यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरलाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक मेसिनरी खरिदका लागि रु २० करोड पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
चार भारतीयको नागरिकता खारेज
जिल्ला प्रशासन कार्यालय, बाँकेमा झुठो विवरण दिई नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता कानुन बमोजिम रद्द गरी नागरिकता दिने सम्बन्धित कर्मचारीलाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।
‘गुगल ब्वाइ’ प्रतिष्ठानलाई रु एक करोड
‘गुगल ब्वाइ’बाट चर्चित आदित्य दाहाल प्रतिष्ठानलाई आवास र सवारी साधन तथा साधना केन्द्र स्थापनाका लागि रु एक करोड अनुदान दिने निर्णय सरकारले गरेको छ ।
लगानी बोर्डमा नियुक्ति
बैठकले लगानी बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । यस्तै ऋण असुली न्यायाधीकरणको सदस्यमा मानबहादुर अर्याल नियुक्त हुनुभएको छ ।
दुई सचिवमा बढुवा
बैठकले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते