नेपाली राजनीति यूटर्न, अब ‘काँग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार’

Prachand-Oli

काठमाडौँ, २८ असार । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेसको समर्थनमा आफ्नो नेतृत्वको नयाँ सरकार गठन हुने जनाएको छ ।

माओवादीका मन्त्री फिर्ता

नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले) नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ ।

माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ ।

नेकपा (एमाले)को नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएलगत्तै पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो पार्टीका नेता कृष्णबहादुर महराले काँग्रेसले अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने पत्र दिएको जिकिर गर्नुभयो ।

उहाँले सरकार गठनको समयमा एमालेसँग भएको सहमति एवम् पछिल्लो पटक वैशाख २३ गते भएको नौबुँदे सहमति एवम् तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न एमाले तयार नभएपछि आफूहरु सरकारमा रहिरहन नैतिक हिसाबले गाह्रो भएको जानकारी दिनुभयो ।

नेता महराले राष्ट्रिय सहमतिको सरकारका लागि माओवादी केन्द्रले विगतदेखि नै आफ्नो धारणा राख्दै आएको उल्लेख गर्दै एमालेले समेत त्यसमा सहमति जनाउने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको पहिलो चरणमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा काँग्रेसले नेतृत्व गर्ने सहमतिसमेत भएको छ ।”

संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण लगायत विषयमा सबै दलको सहमति जरुरी भएको बताउँदै नेता महराले जुन आधारमा सरकार निर्माण भएको हो, त्यही आधारमा रहन तयार नभएपछि त्यसमा रहनु र नरहनुको कुनै अर्थ छैन भन्नुभयो ।

उहाँले सरकारको स्वरुप लगायत विषयमा काँग्रेससँग थप छलफल गरेर अगाडि बढिने र त्यसबारे काँग्रेसले सार्वजनिक रुपमा नै जानकारी गराउने बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा नेता महराले सङ्क्रमणकालीन न्याय, संविधान कार्यान्वयन एवम् पुनःनिर्माण लगायत विषयमा सबै दल मिलेर नै अगाडि बढिने भन्दै कोही आत्तिने र कोही मात्तिनु जरुरी नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री