पूर्व सहमति कार्यान्वयन गर्न एमालेमाथि माओवादी केन्द्रको दवाव

प्रचण्ड

प्रचण्ड

काठमाडौँ, २६ असार । नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पूर्व सहमतिलाई अक्षरशः लागू गर्दै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको छ ।

संविधानको सहज कार्यान्वयन, तराई–मधेसमा आन्दोलनरत दल, आदिवासी, जनजाति तथा थारु समुदायको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई सार्थकरुपमा अगाडि बढाउन पनि सहमतिको सरकार जरुरी रहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रवक्ता भुसालका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, एमालेसँग भएको सहमति तथा विभिन्न चरणमा विभिन्न राजनीतिक दलसँग भएको संवाद तथा छलफलका बारेमा समेत कुराकानी भएको थियो ।

माओवादी केन्द्रको केही दिनअघि सम्पन्न पोलिटब्युरो बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरेको थियो ।

एमाले र माओवादी केन्द्रबीच गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र गोप्य राखिएको भनिएको तीन बुँदे भद्र सहमतिका आधारमा सहमतिको सरकार गठन गरेर मुलुकका समस्या हल गर्ने उल्लेख रहेको नेताहरुले सार्वजनिक रुपमा नै बताउँदै आउनुभएको छ ।
प्रवक्ता भुसालले माओवादी केन्द्रको बैठक सोमबार बिहान पुनः बस्नेगरी स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री