आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १४:३६ | UK Time: 08:51

सङ्गीतका ‘सगरमाथा’ अम्बर समाधितिर

वीनेपाली
२०७३ जेठ २५ गते १३:०९
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको पार्थिव शरिरमा श्रद्घाञ्जली दिदै परिवारका सदस्य तथा सङ्गीतप्रेमी । तस्बिर ः रोशन सापकोटा,रासस

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको पार्थिव शरिरमा श्रद्घाञ्जली दिदै परिवारका सदस्य तथा सङ्गीतप्रेमी । तस्बिर ः रोशन सापकोटा,रासस

काठमाडौँ, २५ जेठ । ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’, विसं २०१८ मा कलकत्तामा रेकर्ड भएको यो गीत त्यसताका दार्जिलिङतिर निकै प्रसिद्ध थियो । साहित्यकार अगमसिंह गिरीद्वारा रचित यो गीतका सङ्गीतकार सो समयमा सङ्गीत विधामा सङ्घर्ष गरिरहेका युवा अम्बर गुरुङ हुनुहुन्थ्यो ।

यसअघि फाट्टफुट्ट केही गीतमा सङ्गीत भर्ने गुरुङ आफैँले गाएको यो पहिलो गीत थियो । यो गीत दार्जिलिङमा यति ‘हिट’ भयो कि सबै पेसा र वर्गका मान्छेले गुनगुनाउन थाले । अन्ततः यो गीत अल इन्डिया रेडियोले प्रतिबन्ध लगायो । सो गीत भारतीय एकता विरोधी भन्दै प्रतिबन्ध लगाइएको थियो ।

आज विहान सबेरै निधन हुनुभएका वरिष्ठ सङ्गीतकार गुरुङ उही युवा अम्बर गुरुङ हुनुहुन्छ । उहाँको जन्म १९९४ फागुन १४ गते भारतको दार्जिलिङस्थित लालढिकीमा भएको थियो । ‘नौ लाख तारा उदाए’ गीत गाएपछि तत्कालीन राजा महेन्द्रले उहाँको प्रतिभाको कदर गर्दै नेपाल झिकाएको भनिन्छ । तर जेहोस्, उहाँ २०२४ सालमा नेपाल आउनुभएको भने सत्य हो ।

राजा महेन्द्रकै चाहना बमोजिम गुरुङले २०२६ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिणबाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’ लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको छ ।

सबैगरी उहाँले करिब एक हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने त्यसमध्ये छ–सात सय गीत उहाँकै स्वर र शव्दमा रहेका छन् । गीत–सङ्गीतका अध्येता प्रकाश सायमी भन्नुहुन्छ – “उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा उत्तिकै पोख्त हुनुहुन्थ्यो ।”

राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिक गान ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’का सङ्गीतकार गुरुङ पछिल्लो समयमा ‘राष्ट्रगायक’को उपाधि पाउने चर्चामा हुनुहुन्थ्यो । गायिका कुन्ती मोक्तानलाई नेपाली सङ्गीत क्षेत्रकै सर्वाधिक उच्च व्यक्ति मान्नुहुन्छ । मोक्तानलाई यस्ता उच्च व्यक्तित्वसँग धेरै पटक भेट्ने मौका पाएपनि सँगै काम गर्न नपाएकोमा भने अलि थक्थक् लागेको छ । “उहाँसँगका खुसीका क्षण धेरै छन् ‘त्यतिबेला ‘राष्ट्रगान’मा उहाँसँग काम गर्ने मौका पाइनँ, अहिले उहाँ वित्नुभएपछि भने ठूलो कुरा गुमाएजस्तै लागिरहेको छ ।”

गुरुङले संगीत गर्नुभएका नारायणगोपालले गाएका ‘पोखिएर घामको झुल्का भरि संघारमा’, तारादेवीले गाएका ‘हराए झैँ केही लाग्छ’, अरुणा लामाले गाएको ‘सबैले भन्थे’, ‘पोहोर साल खुसी फाट्दा’, आफ्नै आवाजको ‘किन किन तिम्रो तस्बिर (पुरानो)’, अरुणा लामा र रुक्मिणी गुरुङले गाएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ जस्ता कालजयी र अमर गीत छन् । गुरुङका दौँतरी उमेरका साहित्यकार बैरागी काइँला भन्नुहुन्छ – “उहाँले राम्रा गीत लेखेर, गाएर र सङ्गीत भरेर नेपाली सङ्गीत क्षेत्रलाई नै विश्वस्तरको प्रतिस्पर्धामा लान सफल हुनुभयो ।”

गुरुङले आफैँले सङ्गीत गरेर गाएका गीतमा ‘जसै साँझ परयो’, ‘ए फूल वसन्त’, ‘मेरो जीवनलाई’, ‘क्षितिज आकासले’, ‘दिल त म’, ‘कहीँ आफ्नो भूमरीमा आफैँ परयौ कि’, ‘म अम्बर हुँ तिमी धर्ती’, ‘उकाली चढ्दा’, ‘सोधुँ सोधुँ लाग्छ’, ‘कैले लहर’ आदि लोकप्रिय छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघि मात्र गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भन्नुभएको थियो – “अम्बर गुरुङ नेपाली सङ्गीतको सगरमाथा हुनुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक