काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७३, ०७४ राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेको छ ।
छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले बजेटको समर्थन गर्नुभयो भने प्रतिपक्ष दलका सांसदले त्यसलाई जनता झुक्याउने प्रवृत्ति भन्दै आलोचना गर्नुभयो ।
नेपाली काँग्रेसका डा प्रकाशशरण महतले बजेट प्राथमिकताविहीन भएकाले मूल्यवृद्धि गर्ने, जनतालाई राहतभन्दा आहत दिने भएकाले यसले कुनै प्रभाव नपार्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।
उहाँले ४० प्रतिशतभन्दा बढी राजस्वको स्रोत आयात निर्भर भएकाले राजस्व बढाउँछु भन्नु हास्यापद रहेकाले क्रमशः परनिर्भरता बढाउने र सामाजिक भक्तासमेत दिन नसक्ने स्पष्ट पार्नुभयो ।
डा महतले चालु आवमा रु २५ अर्बको चामल आयात भएको सन्दर्भमा दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छ भन्नु पूर्णतः गलत भएको बताउनुभयो ।
बजेटप्रति धारणा राख्दै नेकपा (एमाले)का गोकर्ण विष्टले केही व्यक्तिलाई मन नपरेको भए पनि सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट व्यावहारिक र प्रभावकारी रहेको दाबी गर्नुभयो ।
उहाँले धरातलीय यथार्थतालाई आत्मसात् गरेर बजेट प्रस्तुत गरिएको, ठूला र महत्वपूर्ण आयोजनामा बजेट व्यवस्था गरिएको, राजस्व परिचालन अनुमानयोग्य र जायज रहेको, सामाजिक सुरक्षामा ध्यान दिइएको, भूकम्प प्रभावित जिल्लालाई पुनःनिर्माणमा जोड दिइएकाले अतिरञ्जीत तवरले प्रचार नगर्न आग्रह गर्नुभयो ।
उहाँले पुनःनिर्माणलाई समयमा नै अगाडि बढाउन सकियो र केही महत्वपूर्ण आयोजना समयमै सुरु गरियो भने त्यसले सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने भन्दै कृषि, सिँचाइमा दिइएको अनुदान र सामाजिक क्षेत्रलाई दिइएको महत्वले आमनागरिक लाभान्वित हुने धारणा राख्नुभयो ।
ऊर्जा क्षेत्र, पूर्वाधार विकास, काठमाडौँ–तराई मधेस द्रुतमार्ग, उत्तर दक्षिण करिडोरलाई ध्यान दिइएका कारण बजेटले आमजनतामा आशा जगाएको सांसद विष्टको कथन थियो ।
माओवादीको आपत्ति
नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेटको रुप पक्ष सकारात्मक भए पनि सारमा भने जनयुद्ध, जनआन्दोलनका घाइतेलाई कुनै राहत नदिइएको बताउनुभयो ।
खर्च गर्ने संयन्त्रको अभाव रहेको, व्यापार घाटा कमी गर्ने कार्यक्रम कमी रहेको, किसानलाई पेन्सन दिने विषय नसमेटिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । नयाँ संविधानको भावनाअनुसार बजेट आउनुपर्नेमा त्यसो नभएको भन्दै सांसद शर्माले कर्णाली र सुदूरपश्चिमका जनतालाई समेट्न नसकिएकामा आपत्ति गर्नुभयो ।
राज्यको दृष्टिकोण केन्द्रमुखी र नेतामुखी रहेको भन्दै उहाँले झापा र रुपन्देहीमा बजेट केन्द्रित गरेर पिछडिएको क्षेत्रमाथि अन्याय गरिएको, प्राथमिकता नदिइएको भन्दै असन्तुलित बजेट सच्याउन आग्रह गर्नुभयो । कर्णाली आयोगलाई राष्ट्रिय योजना आयोगको एउटा एकाइ बनाएर ठगिएको भन्दै उहाँले विभेदकारी व्यवस्था हटाएर सन्तुलित बनाउन ध्यानाकर्षण गराउनुभयो ।
राप्रपा नेपालका भाष्कर भद्राले आगामी आवका लागि प्रस्तुत गरिएको बजेटले पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिइएकाले त्यसको सार्थक कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
बेरोजगारीको अन्त्य, कृषि क्षेत्रको विविधिकरण र आधुनिकीकरण गर्नु जरुरी रहेको भन्दै उहाँले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै सांसदलाई समान भूमिका दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सुबोधकुमार पोखरेलले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकता दिएर अगाडि बढाउन खोजेकामा सरकारको प्रशंसा गर्नुभयो ।
वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बढाएर सरकारले सामाजिक दायित्व लिएको भन्दै उहाँले बजेट जनपक्षीय रहेकामा स्वागत गर्नुभयो ।
राप्रपाका सुनिल थापाले खर्च गर्ने क्षमता नभएको अवस्था कायमै रहेको, चर्को मूल्यवृद्धि हुने अवस्था रहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने आधार प्रस्तुत गर्न आग्रह गर्नुभयो । बजेटले मुलुकको अर्थतन्त्रमा वित्तीय जोखिम बढ्ने अवस्था रहेको भन्दै उहाँले वितरणमुखी बजेटलाई चाहिने आर्थिक स्रोत जुटाउनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संसद्मा छलफल जारी छ ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन