बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: १३:१५ | UK Time: 07:30

अंग्रेज गृहयुद्ध र गणतन्त्रले मच्चाएको रक्तपात

वीनेपाली
२०७३ जेठ १५ गते २२:११
लेखक आचार्य

लेखक आचार्य

सधैं आफ्नो प्रभुत्व राख्न रमाउने मानिसको इतिहास देखि हाल सम्ममा युद्द, लडाई, झगडा आदिको दृस्टान्त नै प्रमुख रहदै आएको छ । चेतनाको अभिवृद्धि संगसगै बर्तमान सम्म आइपुग्दा धेरै मानबका अधिकांश समय  सत्ता, शक्ति र सम्पतिको प्राप्तिमा नै घुमिरहेको देख्न सकिन्छ । समयको कालखण्डमा जे जति रक्तपात हुदै आएको छ, सबैको मुख्य उद्देश्य भनेको यी तीनै थोक हात पार्न खोज्नु हो भन्दा सायद फरक नपर्ला ।

पैसा, हतियार अनि धर्मको आडमा आफ्ना निहित स्वार्थ पुरा गर्न अनेक युद्द हरुको सामना गरेको मानब सभ्यताले हर समयमा हुने लडाइँको साक्षी हुदै आइरहेको छ । यसै परिप्रेक्ष्यमा इंग्ल्यान्डको गृहयुद्धबाट भएको धनजनको क्षति तथा इंग्ल्यान्डमा ल्याएको परिबर्तनलाई देख्न सकिन्छ ।

इंग्ल्यान्डमा बढ्दो ब्यापार 

सन् सोह्र सयको बिचतिर इंग्ल्यान्डमा क्रान्ति भयो । यहाको पार्लियामेन्ट राजा चार्ल्स प्रथम बिरुद्ध उत्रेपछि सशस्त्र गृहयुद्ध भयो जसबाट करिब दुईलाख मान्छेको ज्यान गयो र राजाको टाउको काटियो । यस युद्धपछि जनप्रतिनिधि निर्बाचनको प्रक्रियाबाट सरकार चलाउने क्रमको थालनी भयो । अमेरिका लगायतका अन्य मुलुकहरुले पनि यस्तो प्रणालीको अवलम्बन गर्न थाले । त्यसबेलामा जनप्रतिनिधि भनेको ब्यापारी या भूमिपतिबाट छानिने हो, साधारण जनताबाट होइन ।

त्यसबेलामा इंग्ल्यान्डमा गृहयुद्ध हुनुको प्रमुख कारणमा लोभी राजसस्था, सम्भ्रान्त तथा ब्यबसायी मध्यम बर्गको पहुच र धर्ममा क्याथोलिक बिरुद्ध प्रोटूस्टनको उदय हुनुलाई मानिछ । राजसंस्थाले नयाँ व्यापारका अवसरहरुको नियन्त्रण गर्दथे । देश भित्र भन्दा बाहिरको ब्यापारमा हावी हुन सजिलो थियो । जसको परिणामले गर्दा सन् १५५२ मा कुल आम्दानीको ५.२% जम्मा बिदेशी ब्यापारको करबाट राजस्व उठ्यो भने गृहयुद्ध शुरु हुनु भन्दा पहिले सन् १६४२ मा ५२.५% हुन पुग्यो । यसको प्रमुख कारणमा “नयाँ संसार”को आविष्कार, अग्रेजी स्टक कम्पनीहरु जसले बिदेशमा व्यापार गर्न शुरुवात भयो अनि महाजनले बाहेकपनि व्यापार गतिविधिमा स्वामित्व लिन थाले ।

यस्ता स्टक कम्पनीहरुमा राजनीतिका हस्तीहरुले शेयर किन्न थाले । प्रसिद्द इष्ट इन्डिया कम्पनिलाई रानी एलिजावेथ प्रथमले डिसेम्बर १६०० मा लालमोहर लगाएकी थिइन् । यहि बेलामा सम्भ्रान्त बर्गहरुले अरु थुप्रै युरोपियन इष्ट इन्डिया कम्पनीहरु खोलेका थिए । सन् १५७५ देखि १६३० बिचको समयमा २३% पार्लियामेन्टका सदस्यहरुले बिदेशी सयुक्त स्टक कम्पनीमा लगानी गरे । यस्ता कम्पनीको स्वामित्व भएपछि राजसंस्था र राजनीतिज्ञ बिच झगडाको कारण बन्न थाल्यो । जति राजाले कर उठाउन चाहन्थे, उतिनै आफ्नो लगानीको कमाइ कम हुन थालेपछि राजाको कदमलाई पार्लियामेन्टले अस्वीकार गर्ने कार्यको थालनी भयो ।

बेलायतमा राजसंस्था 

सेल्ट, स्याक्सन, भाइकिंग बंशको राजा हुदै आएको इंग्ल्यान्डमा सन् १०६६ मा हेस्टिंगको लडाइँ जितेर राजा हुने व्यक्ति विलियम कन्करण फ्रान्सको नर्मन्डी भन्ने ठाउँका थिए । त्यसैले यिनले शुरु गरेको बंशलाई नर्मन भनिन्छ । यस पछि प्ल्यान्टाजनिष्ट, ल्यान्काष्टर हुदै टुडर वंशको शासन चलेको थियो । टुडर बंशका राजा हेनरी आठौले आफ्ना पुत्र नभएपछि आफ्नी श्रीमती क्याथिरन अफ अरीगनलाई छोडपत्र गरि अर्को बिहे गर्ने गरेको कदमलाई तत्कालीन पोपले मान्यता दिन अस्वीकार गरेपछि क्याथोलिक धर्म संग सन् १५३४ मा सबै सम्बन्ध विच्छेद गरि प्रोटूस्टन धर्म इंग्ल्यान्डमा शुरुवात गरे । त्यसबेलामा पारपाचुके गर्नुपर्दा शुल्क सहित पोप कहाँ निवेदन हाल्नुपर्ने थियो ।  प्रोटूस्टन भने क्याथोलिकबाट अलि परिबर्तित भएको दाबि गर्ने जर्मनीमा शुरु भएको थियो । यसले मुख्यतः पोपको सर्बमान्यतालाई अस्वीकार गर्दछ ।

छ वटा पत्नी भएका राजा हेनरी आठौको यस कदम  पछि शक्तिशाली क्याथोलिक धर्मसंग इंग्ल्यान्डको सम्बन्ध राम्रो भएन । यिनको देहान्त पछि यिनको छोरा एडवर्ड चौथो र पछि जेन ग्रे थोरै समयको लागि सिंहासनमा बसे । त्यसपछि सन् १५५३ मा क्याथिरन अफ आरोगनकि छोरी मेरी महारानी भइन् । इंग्ल्यान्डको इतिहासमा पहिले रानी हुने यिनलाई “ब्लडी मेरी” को उपनामले पनि चिनिन्छ । पांच बर्ष शासन गरि यिनको निधन भएपछि सन् १५५८ मा यिनकी बहिनी एलिजावेथ प्रथम इंग्ल्यान्डको महारानी भइन् ।

टुडर बंशको अन्तिम महारानी कुमारी  एलिजावेथ प्रथमको निधन सन् १६०३ मा भएपछि इंग्ल्यान्ड र आयरल्याण्डको राज्य सत्ता यिनको भतिजा जेम्स स्टुवार्डले पाए । तसर्थ स्कटल्याण्डका जेम्स छैटौं इंग्ल्यान्डका जेम्स प्रथम बने । यी तीनवटा छुट्टाछुट्टै अधिराज्यको राजा पहिलोपटक एउटा बने । यी तीनवट देश धेरै फरक थिए र एक आपसमा बिगतका लडाइँको तितो अनुभव विद्यमान थियो ।

इंग्ल्यान्डको सम्पति र इज्जतको लागि जेम्सले एलिजावेथको मृत्य ब्याकुलसंग कुरेर बसेका थिए । तर, यी तीन मुलुकलाई मिलाएर शासन गर्न भने ठुलो चुनौती थियो । यी तिनवटै देशहरुमा फरक फरक धर्म थियो । बहुसंख्यक स्कटहरु काल्भेनिष्ट (परिष्कृत क्रिस्चियन) थिए, बहुसंख्यक अंग्रेज प्रोटुस्टन्ट थिए भने बहुसंख्यक आइरिस भने क्याथोलिक थिए । यी तिनवटै देशहरुमा अरु शक्तिशाली अल्पसंख्यक धार्मिक जनताहरु थिए । राजा जेम्सले इंग्ल्यान्डका क्याथोलिकहरुलाई रानी एलिजावेथले भन्दा राम्रो गर्छन् भन्ने तर्क गलत साबित भयो । धार्मिक विभाजनले अरु उग्र रुप लिन थाल्यो ।

राजा चार्ल्स प्रथम, गृहयुद्ध र गणतन्त्रको घोषणा

सन् १६२५ मा आफ्ना पिताको निधन भएपछि चार्ल्स प्रथम राजा भए लगत्तै क्याथोलिक शक्ति बिरुद्ध लडाइमा होमिए । तर, सन् १६३० मा युरोपको युद्धबाट निस्किए । यी चार्ल्स प्रथम तानाशाही प्रबृत्तिका खुब घमण्डी राजा थिए । आफ्नो राज्यलाई ‘भगवानको शक्ति र अधिकार’ भएको भन्ने विश्वास गर्थे । जसको फलस्वरुप आउदो पन्ध्र बर्षसम्म आफ्नो धार्मिक नीति र पार्लियामेन्ट बिना नै राज्य गर्ने कारणले एक्लिदै जानथाले ।

केहि डाहिला प्रोटेस्टन या पिउरिटन्सहरुले राजाले क्याथोलिक धर्मको स्थापनासंगै मानिसका स्वतन्त्रता नास गर्न लागेको ठाने । यस्तै स्कटल्याण्डमा सन् १६३७ मा चर्चमा प्रार्थना गर्ने पुस्तिका राख्न खोज्दा धार्मिक त्रास बढ्यो । यस्ता घटना बढ्दै गएपछि राजा चार्ल्सले स्कटल्याण्डमा दमन गर्न गरेको प्रयास सफल भएन । यसपछि यी राजालाई स्पष्टीकरण माग्न अक्टोबर १६४० मा पार्लियामेन्ट बोलाउन बाध्य पारियो । सांसदहरुले यिनको नीतिको कडा आलोचना गरेका थिए ।

शुरुमा राजा एक्लो देखिएपनि प्युरेटिन (प्रोटेस्टन) सांसदहरुले चर्चको पुरा सुधार गर्न शुरु गरेपछि धार्मिक पुरातनबादीहरू सशंकित हुन थाले । यसैबीच सन् १६४१ मा आयरल्याण्डमा बसोबास गरिरहेका अंग्रेज र स्कटिस प्रोटेस्टनहरुलाई त्यहाँका क्याथोलिकहरुले सशस्त्र बिद्रोह गरि सयौंलाई मार्न थाले । यस्तो विद्रोहले इंग्ल्यान्डमा खैलाबैला मच्चियो तर राजा चार्ल्स प्रथम र पार्लियामेन्ट बीचमा राजनीतिक सहमति हुन सकेन । सहमति नभएपछि राजा र संसदको बीच सेना विभाजन भयो ।

सन् १६४२ मा उत्तर र पश्चिममा राजाको र दक्षिण र पूर्वमा संसदबादीहरु बीच गृहयुद्ध शुरु भयो । राजा चार्ल्सलाई वयल्स र कोर्नवलबाट सैनिक सहयोग भएको थियो भने संसदबादीहरुलाई राजधानी लन्डन आफ्नो साथमा थियो ।

सन् १६४३ को मध्यमा भने राजाले जित्लान जस्तो थियो । तर, संसदबादीहरुले स्कटल्याण्डसंग सैनिक साथीत्व बनाउन सफल भए । यसरी शक्तिशाली स्कटिस सैनिकको सहयोग भएपछि सन् १६४४ मा मार्स्टन मूर भन्ने ठाउँमा राजाको सैन्य हार भयो र उत्तरी बेलायतको नियन्त्रण गुम्यो । यसको पछिल्लो बर्ष नजबाई भन्ने ठाउँमा संसदबादीले जिते र यसबाट राजाको पतन शुरु भयो ।

संसदबादीहरुसंग आत्मसमर्पण गर्न अस्वीकार गरेपछि राजा स्कटहरु माझ स्वयम् गए तर, स्कटहरुले आफ्ना सहयोद्दा संसदबादीहरु समक्ष नै राजालाई बुझाइदिए । बन्दी भइसकेपछि पनि राजाले कुनै संझौता गरेनन्, बरु अर्को विध्वंश मच्चाउन सफल भए जसलाई दोश्रो गृहयुद्ध भनेर बुझिन्छ ।

यसरी यो राजा छउन्जेल यस अधिराज्यमा कहिल्यै पनि शान्ति नहुने ठहर गरी केहि उग्र सांसद तथा नयाँ सैनिकका अधिकृतहरुले राजा चार्ल्स प्रथमलाई देशद्रोहको मुद्दा लगाए । उक्त मुद्दामा राजा दोषी ठहरिए र सन् १६४९ को जनवरी महिनामा यिनको टाउको काटियो र इंग्ल्यान्ड गणतन्त्र हुनपुग्यो ।

यस समयमा नेपाल 

विशाल सिञ्जा साम्राज्यको पतन भएपछि ई.सं १३८९ (वि.सं. १४४६) मा सान्नी, ई.सं. १३९६  मा दुल्लु र गोताम राज्य बने । यसपछि  नेपालमा  बाइसे र चौबिस राज्यमा अरु टुक्रीन थाल्यो । सबैभन्दा पछिल्लो टुक्रने ई.सं. १७३३ मा माल्नेटा राज्य बन्न पुग्यो । यसैगरि ई.सं १५५३ मा तनहुँरिसिङदर्छा रामपुर र बुटवल राज्य स्थापना भए भने ई. सं १५५९ (वि.सं. १६१६) मा गोरखा राज्यको स्थापना भएको थियो ।

अंग्रेज गृहयुद्धको केहि बर्ष अगाडी  गोरखा राज्यको प्रख्यात न्यायमुर्ति राजा राम शाह (शासनकाल ई.सं १६०६- १६३६) को निधन भइ कृष्ण शाह ( ई.सं.१६४४ -१६५० ) गोरखाको राजगद्दीमा पुगेका थिए  थिए भने काठमाण्डौमा राजा लक्ष्मी नरसिंह मल्ल पछि यिनका छोरा प्रताप मल्ल (ई. सं.१६४१-१६७४) राजा भएका थिए ।

अंग्रेज गृहयुद्धपछि

इंग्ल्यान्डका नयाँ शासकहरुले आयरल्याण्डमा आफ्नो परम्परागत प्रभुत्व कायमै राख्ने निधो गरि सन् १६४९ मा ओलिभर क्रम्बलको नेतृत्वमा आयरल्याण्ड कब्जा गर्न सैन्य फौज पठाए । यसमा क्रम्बलले ठूलो रक्तपात मच्चाएर सन् १६५२ मा आयरल्याण्ड हात पारे ।

यसैबिच इंग्ल्यान्डमा मारिएका चार्ल्स प्रथमका जेठा  छोरा स्कटल्याण्डको राजा बन्ने सहमति भएअनुसार सन् १६५१ मा चार्ल्स दोश्रो स्कटल्याण्डको राजा भए ।  आफ्ना बाबुको मृत्युको बदला लिन यसै बर्षको अन्तिममा यिनले स्कटिस आर्मीको साथमा इंग्ल्यान्ड माथि आक्रमण गरे । क्रम्बलको अंग्रेज आर्मीले वरचेस्टर भन्ने ठाउँमा यिनलाई हराइदिए । युबक राजा बन्दक हुनबाट बचे र फ्रान्समा भागे । यसपछि अंग्रेजले पुरै स्कटल्याण्ड कब्जा गरे ।

सन् १६५३मा ओलिभर क्रम्बललाइ  इंग्ल्यान्ड, स्कटल्याण्ड, आयरल्याण्ड तीनवटा देशकै प्रमुख (लर्ड प्रोटेक्टर) घोषणा गरियो । आउदो पांच बर्ष सम्म यिनले गणतान्त्रिक सरकार सफल संग चलाए ।

सन् १६५८ मा ओलिभर क्रम्बलको निधन भएपछि यिनका छोरा रिचर्ड क्रम्बल प्रमुख भए । तर, रिचर्डलाई राजकाजमा कुनै ध्यान थिएन, मोजमस्तीमा नै बिताए । फलस्वरुप आठ महिनामा नै आफ्नो पदबाट राजीनामा दिए ।

राजतन्त्र पुनर्स्थापना

यिनको राजिनामा पछि गणतन्त्र बिस्तारै डगमगाउन थाल्यो । केहि बर्ष पहिले काटिएका राजा चार्ल्सका छोरालाइ आफ्नो बाबुको गद्दी पुनः सम्हाल्न निम्ता दिइयो । सन् १६६० को मे महिनामा चार्ल्स दोश्रो विजयीका साथ लन्डन आए र राजसंस्था इंग्ल्यान्डमा फेरी स्थापित भयो । यी राजा चलाख भइकन घोसे थिए । राजकाज भन्दा धेरै केटीहरु राख्ने, भोगविलासमा नै बढी रमाउने भए । जनमानसमा आफ्नो कुनै व्यक्तित्व फैलाउन सकेनन् । यिनको पालामा नै सन् १६६५ को प्लेग रोगको महामारी तथा १६६६ मा लण्डनको ठूलो आगलागी भएको थियो ।

यसबेलामा अंग्रेज गृहयुद्धका नायक तथा पहिलो गणतन्त्रका प्रमुख ओलिभर क्रमबलको गाडिएको लास उत्खनन गरि राजा काटेको र  अन्य जघन्य अपराध गरेको ठहर गरि मुद्दा लगाइयो । यिनको कंकाललाई मृत्युदण्ड दिएको घोषणा गरि सबै जनमानसको अगाडी झुण्ड्याएर देखाइयो ।

यिनकै पालामा सन् १६६७ मा च्याटम भन्ने ठाउंमा डचहरुले गरेको आक्रमणमा अग्रेजी सैनिकको सबैभन्दा लज्जास्पद हार भएको थियो । यिनी जस्तो गरेपनि आफ्नो राजसंस्था कायम नै राख्न सफल भए । यिनको मृत्यु सन् १६८५ मा भएपछि यिनको भाइ जेम्स राजा भए । यिनी क्याथोलिक थिए । बहुसंख्यक प्रोटूस्टन भएको इंग्ल्यान्डमा अब झन राजाको कामकाजमा शंकास्पद तबरले हेरिन थाल्यो ।

राजसंस्थामा बढ्दो किचलो

यी जेम्सका छोराको जन्म सन् १६८८ मा भएपछि झन गहिरो समस्या प्रोटूस्टनलाइ भयो किनकी अब हुने पछिल्लो राजा पनि क्याथोलिक नै हुने पक्का भयो भनेर । यसको लगत्तै अंग्रेज प्रोटूस्टनका नाईकेहरु विलियम अरेन्ज भन्ने नेदरल्याण्डका मुख्य न्यायाधीश समक्ष सल्लाहको लागि पुगे जसले जेम्स दोश्रोको जेठी छोरी मेरीलाइ सन् १६७७ मा बिहे गरेका थिए ।

विलियमले यहि खोजेर बसिरहेका थिए । आफ्नो आर्मी साथमा लिएर इंग्ल्यान्ड आइपुगे । केहि हप्तापछि जेम्स दोश्रो फ्रान्सतिर लाग्न बाध्य भए र पछिल्लो बर्षमा विलियम र मेरी संयुक्तरुपमा राजसंस्थामा राखिएको घोषणा गरियो ।

जेम्स दोस्रोको आयरल्याण्डमा ठूलो समर्थन थियो । सन् १६८९मा फ्रेन्च आर्मी लिएर उनी आयरल्याण्ड आइपुगे । सन् सन् १६९० को बोयन भन्ने ठाउँको लडाइँमा विलियमले जिते र आफ्नो शक्ति एकठाउँमा राख्न सफल भए ।

मेरीको सन् १६९४ मा निधन भएपछि विलियम एक्लो शासक भए । तर सन् १७०० मा राजाको उत्तराधिकारी को हुने भन्ने समस्या थियो । किनभने विलियम या जेम्स दोस्रो कि जीवित छोरी आनको कुनै सन्तान थिएनन् । प्रोटूस्टनका नाईकेहरु खुब डराइरहेका  थिए कि यस सिंहासन जेम्स दोश्रोको छोराकोमा जाने भयो, जुन क्याथोलिक थिए ।

यस्तो खतरालाई पार लगाउन सन् १७०१ मा ‘सेटलमेन्ट याक्ट’ भन्ने पास गरियो जसले विलियम र आनको मृत्यु पछि राजगद्दी जेम्स प्रथमको छोरी उत्तराधिकारी हुने भन्ने तय गर्यो । यसपछि ह्यानोभर वंशको सोफिया र यिनको सन्तति इंग्ल्यान्डको राजगद्दीको उत्तराधिकारी हुने भए ।

इंग्ल्यान्ड र स्कटल्याण्डको युनियन 

सन् १७०२ मा विलियमको निधनपछि महारानी आनले शासन चलाइन । पांच बर्ष पछि इंग्ल्यान्ड र स्कटल्याण्डको युनियन बनाएर गाभियो । यो गाभिनुको मुख्य उद्देश्य भनेको स्कटल्याण्डमा पनि प्रोटूस्टनका बंशले राजा हुन भन्ने हो । यसपश्चात इंग्ल्यान्ड र स्कटल्याण्ड एउटा देश बने ।  जब स्टुयर्ट बंशकी महारानी आन दिबंगत भएपछि संयुक्त अधिराज्य बेलायतको राजा जर्ज प्रथम भए जुन ह्यानोभर बंशका पहिलो राजा हुन् । यो बंशको निरन्तरता रानी भिक्टोरियासम्म पुगेको थियो । यसपछि स्याक्स कोर्बर्ग गोथाको बंशले शासन गरेपछि बर्तमानसम्म आइपुग्दा उइन्जर बंशको शासन निरन्तरता छ । बर्तमान रानी एलिजावेथ दोश्रो यस बंशको पांचौ सिंहासनमा जाने व्यक्ति हुन् ।

यी सबै इतिहासलाई दृष्टिगत गर्दा मुख्य पैसा, हतियार अनि धर्मको आडमा आफ्नो प्रभुत्व राख्न मच्चाइएको रक्तपात संसारमा अहिले सम्म निरन्तर चलिरहेछ । युद्द बिना मानिस बांच्न सक्दैन भन्ने कथनलाई समयको चक्रमा राखेर हेर्दा अस्वीकार गर्न गाह्रो पर्ने देखिन्छ । सबै देशको आ-आफ्नो इतिहास छदैछ । इतिहासलाई जीवन्त राख्न सके यसबाट धेरै शिक्षा लिन सकिने कुरा बेलायतको गृहयुद्धको पृष्ठभूमिबाट पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक