आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: ०३:०४ | UK Time: 22:19

बेलायतमा नेपाली सभ्यताको हलचलको एउटा पाटो ‘यति’

वीनेपाली
२०७३ जेठ १४ गते २३:०९

Shashi-Poudel

मानव सभ्यताको सुरुदेखि नै मानव जाति एक ठाउँबाट अर्काे ठाउँमा कामको खोजीमा जाने, बसाई सर्ने प्रचलन रहँदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउँबाट अर्को ठाउँ बसाई सरेको पौराणिक कथा पढ्न पाइन्छ । जस्तै शिवजी श्लेष्मान्तक जंगलमा गई मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई छलकपट गरी विवाह गरेर अर्कै ठाउँमा एक्लै गर्भवती अवला नारीलाई बसाई बसाएर आफू भागेको । रामचन्द्रहरुको १४ वर्षसम्मको वनबास, आदि आदि ।
क्रिश्चियन धर्मबारे बाइबलका कुरा गर्यौं भने पनि बाइबलको प्रमुख कथाका पात्र नै यसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफको म्यारीसँग प्रेम सम्बन्ध बसेपछि म्यारी गर्भवती भएको र अविवाहित नारी गर्भवती भएपछि इजरायलमा बस्न त्यतिबेलाको सामाजिक मान्यताअनुरुप अप्ठ्यारो पर्ने भएकाले इजरायल छोड्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको बीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन । तिनै बालकको नाम हो यसु क्रिष्ट ।
त्यस्तै नेपालको सन्दर्भमा पनि नेपालबाट नेपालीहरु रोजगारको खोजीमा कहिलेबाट भारततिर लाग्न थालेका हुन् निश्चित तिथि मिति पाउन कठिन पर्ने छ । तथापि सत्य के हो भने मानव सभ्यताको विकास सँगसँगै मानव जाति एक ठाउँबाट अर्को ठाउँमा चर्न जाने परम्परा रहँदै आयो । यस क्रममा कतिपय त्यतै बसेर पुस्ताैँ गुजारे कतिपय २/४ वर्ष पछि मुलुक अर्थात् जन्मस्थल फर्किने गर्दछन् तर पनि उनीहरुको नजिकत्व जन्मस्थल हुने गरेको पाइन्छ । मध्ययुगमा यो परम्पराले अझ तीव्र गति लिएको पाइन्छ ।
एघारौं शताब्दीमा रोमको सभ्यताको विकासले गति लिइसकेको थियो । त्यहाँका युद्ध नायक एवं इसाई धर्मावलम्बीहरु संसार चाहार्न थाले । इतिहासमा पाइए अनुसार उनीहरुको एउटा जत्था अहिलेको प्यालेस्टाइन पुगे । समुद्रको किनार आवतजावत गर्न सजिलो र युद्ध गर्दा लुक्ने भाग्ने र आक्रमण गर्नसमेत अनुकूल देखेर त्यसलाई कब्जा गरे र आजसम्म पनि त्यहाँ युद्ध सकिएको छैन । यस अर्थमा मानव सभ्यताको हलचलले सधैंभरी सकारात्मक कार्य मात्र गरेको छ भन्न मिल्दैन ।
सभ्यताको हलचलको अर्को पाटो यसरी शुरु हुन्छ । इजरायलका यहुदीहरु विश्वभर छरिन थाले । उनीहरुको ठूलो संख्या जर्मनीमा गएर बस्यो । आज हामीले बैंकमार्फत पैसाको कारोबार गर्छौ । इजरायलबाट जर्मनी गएर बसेका एक रोटशिल्ड नामक यहुदीले बैंकिङ सिष्टम चलाउन शुरु गरेका थिए । बेलायती भूमिमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा मानिन्छन् भने स्थायी बसोबास गर्ने उद्देश्यले काम गर्ने अनुमति लिएर बेलायत छिर्ने पहिलो ब्यक्ति कृष्णबहादुर थापा मानिन्छ । उनी साढे चारदशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अघि नै अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्देश्यले गठन गरिएको नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । यतिज द नेपाली एशोसियसन इन द युके १९६० मा स्वर्गिय राजा वीरेन्द्र वीर विक्रम शाह एवं भूतपूर्व मन्त्री पशुपति शम्शेर राणाहरुको सक्रियतामा गठन गरिएको थियो । त्यतिबेला उनीहरु बिद्यार्थीका रुपमा बेलायतमा रहेका थिए । दोस्रो विश्वयुद्ध पछि मानव सभ्यताको हलचल संसारभर भैरहेको थियो । त्यो अवस्थामा नेपाल पनि अछुतो रहने कुरै भएन । विश्व मानव सभ्यताको हलचलसंगै नेपालीहरु पनि भारत बाहेक अन्यत्र पनि जान थाले । त्यसक्रममा नेपालीहरुका लागि बेलायतसम्मको बाटो पनि खुल्यो र बेलायतमा नेपालीहरुको संख्या एक दुई हुँदै बढ्न थाल्यो । यति गठन भएको लगभग १५ वर्ष पछि यो संगठनको नाम नेपालीमा नामाकरण गर्नुपर्ने महशुस गरी यसको नाम यति नेपाली एशोसिएशन भनि परिवर्तन गरियो । अहिले यो संगठनले पाँचदशक पार गरिरहदा बेलायतमा नेपालीहरुकोे संस्था मात्र तीनसय नाघेको छ भने नेपालीहरुको संख्या सवालाख नाघेको छ ।
हरेक वस्तुमा द्वन्द्व भएझैँ यति नेपाली एशोसिएसन पनि द्वन्द्वरहित रहन सकेन । चाहे राम्रो चाहनाले होस् चाहे चिन्तन र विचारको भिन्नताले होस्, द्वन्द्व हुनु स्वाभाविक हो तर द्वन्द्व स्वस्थ्यकर र समालोचक हुनु जरुरी हुन्छ । हुन पनि हो एउटा संस्था भनेको विभिन्न चिन्तन, विचार एवं फरक फरक अनुभव संगालेका ब्यक्तिहरुको जमघट हो र हरेक ब्यक्तिको सबभन्दा असल र इमान्दार शिक्षक भनेको उसको आफ्नो अनुभव हो । सोही आफूले विश्वास गरेको र असल ठानेको शिक्षकबाट आर्जन गरेको शिक्षा ब्यबहारमा लागु गर्न चाहानु सकारात्मक पक्ष हो तर आफूले आर्जन गरेको शिक्षा ब्यबहारमा लागू गर्दा अरुको अनुभवको आदर गर्न सक्नु र अरुको अनुभवलाई धक्का पर्न नदिने कला सिक्नु जरुरी हुन्छ । यदि आफूले आफ्ना अधिकार र स्वतन्त्रता लागू गर्दा अरुलाई धक्का पर्न गयो भने त्यहाँ विवाद सुरु हुन्छ । विवाद हुनु र वस्तु वा संघ संस्थामा द्वन्द्व हुनु फरक हो । जब द्वन्द्व विवादमा परिणत हुन्छ तब सम्स्याहरु उत्पन्न हुन थाल्छन् । जब समस्या उत्पन्न हुन्छ तब दुवै पक्षलाइै नोक्सान हुन्छ । हो यही भएको थियो यति नेपाली एशोसिएसनमा पनि । यस्तो अवस्थामा समय खेर नफालीकन विवादको जरो पत्ता लगाएर समाधानको बाटो खोजिहाल्नु पर्दछ ।
यतिभित्र खासगरी २००६ सालदेखि विवाद देखा परेकाले मैले त्यतिबेलाका अध्यक्ष डा राघब धितालसंग विवादको जरो के हो भनी सोधेको थिएँ ।
यति आफैँमा एक सामाजिक संस्थाको हैसियतले रकम संकलन गर्न र त्यसबाट कुनै सम्पत्ति खरिद गर्न पाउने कानुनी अधिकार नराखेको कारणले यसलाई सघाउने गरी एक च्यारिटी संस्था दर्ता गर्ने निर्णय गरी १९९७ मा यति लण्डन वेलफेयर फाउण्डेशनको नाममा एक च्यारिटी संस्था गठन गर्याैँ । उक्त च्यारिटी संस्थामा तत्कालिन कार्यसमितिका पदाधिकारीहरु ट्रष्टी हुने ब्यवस्था गरियो । यति लण्डन वेयलफेयर फाउण्डेशन यतिकै एक भाग हो भन्ने जान्दाजान्दै पनि हामीले कानुनी रुपमा यसो भन्न मिल्दैनथ्यो । यदि त्यसो भनेको खण्डमा यतिको सबै हिसावकिताब सरकारी निकायलाई देखाउनु पर्ने हुन्थ्यो । त्यसैले यी दुई एक अर्कामा पूरक भए पनि अलगअलग राख्नु पर्ने अवस्था थियो ।
पछि क्रमश नेपालीहरुको बेलायत आगमन बढ्न थाल्यो र हाम्रो संस्था पनि क्रमशः झांगिदै जान थाल्यो । सदस्य संख्या बढ्न थाले । लोकतान्त्रिक मूल्य र मान्यताको विकास हुन थाल्यो । साथीहरु यसैमा सक्रिय हुन थाले । सक्रिय साथीहरुबीच मत भिन्नता हुनुलाइ विवादका रुपमा नहेरीकन यसलाई स्वाभाविक प्रकृयाका रुपमा हेर्नुपर्ने मेरो मान्यता छ । तर पनि २००८ मा भएको निर्वाचनमा केही साथीहरुले अनियमितता भएको भनि कुरा उठाए र त्यतिबेला भने विवादले जरा गाडेको महसुस गरिन थाल्यो तर अहिले यतिमा कुनै विवाद छैन ।
डा. राघव धितालले २००८ मा सम्पन्न निर्वाचनमा विवाद भएको संकेत गरेकाले मैले त्यतिबेला निर्वाचित घोषणा गरिएका ब्यक्ति चिरन्जिवी ढकालसंग पनि सोही प्रश्न सोधेको थिएँ । चिरन्जिवी ढकालले भनेका थिए — २००८ को निर्वाचनमा कसरी धाँधली हुनपुग्यो त्यो मलाई खासमा केही थाहा भएन । मुठा मुठा मतपत्र भेटियो भन्ने कुरा आयो । त्यो मैले गर्ने कुरै भएन । त्यस्तो कसरी भयो मैले भन्न सक्ने कुरै भएन । यस अगाडी पनि मैले यतिको नेतृत्व गरेकै हो । थुप्रै सामाजिक काम गर्न सफल भएका हौं । संगठन राम्रोसंग चलेकै हो । संगठनभित्र केही द्वन्द्व हुनु स्वाभाविकै हो । त्यो सकारात्मक पनि हो । एउटा भनाइ छ “गुडिरहने ढुंगाले लेउ जम्मा गर्दैन” । त्यस्तै सांगठानिक कार्यमा हुने द्वन्द्वले संगठनको विकासमा नै टेवा पुर्याउँछ । संगठनलाई खरो, ताजा र चलायमान बनाउँछ भन्ने अर्थमा मैले लिएको छु । निर्वाचन हुनु, निर्वाचनमा समूह समूहले उम्मेदवारी दिनु, हारजित हुनु लोकतान्त्रिक प्रकृया हो । लोकतान्त्रिक प्रकृयाका आफ्नै सवल र दुर्बल पक्ष पनि हुन्छन् । हामीले जहिले पनि लोकतन्त्रका सवल पक्षलाई अंगिकार गर्न सक्नु पर्दछ । र यति संस्थाभित्र पनि लोकतन्त्रको सवल पक्षलाई नै संगठनको जीवन हो भनेर अगाडि बढ्न सक्नु पर्छ । हरेक ब्यक्ति जो सामाजिक संगठनमा सक्रिय हुन मन पराउछ त्यस ब्यक्तिले “म यो संगठनमा लाग्दा सामाजिक सेवा गर्ने प्रेरणाले नै लागेको हुँ” भन्ने भावनाले प्रेरित भएको हुनु पर्छ । तर यदि जो कोही पनि आफू चर्चामा आउने उद्देश्यले मात्र प्रेरित छ भने उसले नितान्त आफ्नो र संगठनको समेत हानी पुर्याउने छ । यदि कसैले इतिहास लेख्ने क्रममा इतिहास बंग्याउन वा इतिहासका पाना बिर्सन चाहान्छ भने त्यसले आफू हिंड्दै गरेको आफ्ना पाइला पनि मेट्दै जाने छ भन्ने बुझ्नु नितान्त जरुरी रहन्छ ।
(यही शीर्षक र यिनै तर्क र यस्तै आशयको लेख मैले यतिको स्वर्ण जयन्तीको अवसरमा प्रकाशित गरिएको यति दस्तावेजका लागि पनि लेखेको थिएँ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक