शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: २२:४१ | UK Time: 16:56

बेलायतमा चुनौती खेप्दै नेपाली रेष्टुरेन्ट

वीनेपाली
२०७३ जेठ १२ गते १४:२०

12898260_1096422697074915_1137371588909735445_o

लन्डन । मातृभूमिबाट करिब ५ हजार माइल टाढा रहे पनि बेलायतवासी नेपालीले टिपिकल नेपाली खानाको स्वाद चाख्न पाएकै छन् । नाम लिंदै मुख रसाउने मःमः होस् वा काठमाडौंका रैथाने नेवारहरुको रोजाइको परिकार छोयलाको स्वाद होस् । यहांका नेपाली देखि बेलायती नागरिक र सांसदहरु सम्मले त्यो चाख्न पाएका छन् ।

नेपालीहरुको जनसंख्या वृद्धिसंगै यहां नेपाली रेष्टुरेन्टहरुको संख्या पनि बढेको छ । नेपलिज क्याटरर्स एसोसिएसन यूकेका अध्यक्ष विजय थापाको भनाइमा बेलायतमा अहिले नेपालीले सञ्चालन गरेका रेष्टुरेन्ट संख्या करिब २ सय ५० छन् । बेलायतमा खुलेका नेपाली रेस्टुरेन्टले व्यापार मात्र होइन, नेपाली पहिचान, संस्कृति, परिकारलाई पनि प्रवद्र्धन गर्दैछन् । बेलायतमा हुर्कंदो नेपाली समाजलाई सुदृढ र सम्बृद्ध बनाउन यिनीहरुको भूमिका कम्ती छैन् ।

इतिहास

सन् १९६० को दशकमा नेपालीहरु भारतीय लगानी रहेको रेस्टुरेन्टमा काम गर्न बेलायत आउन थालेको पाइन्छ । बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास कोट्याउंदा कालुराम तामाङ, कृष्णबहादुर थापा, श्याम महर्जन र इश्वर मानन्धरको नाम शुरुमै आउंछ । नेपाली खानालाई बेलायतमा चिनाउन उनीहरुको योगदान कम छैन् ।
सन् १९६८ मा लन्डन ओर्लिएका थिए तामाङ, थापा र महर्जन । त्यो समय एक भारतीय व्यापारी नेपाली सेफ खोज्न काठमान्डू गएका थिए । ती भारतीय व्यापारी रिजुमल भवनानीले लन्डनमा आफूलाई सेफ चाहिएको कुरा गरेर लन्डन जान प्रस्ताव राख्यो । सेन्ट्रल लन्डनस्थित क्वालिटी रेष्टुरेन्टमा सेफ भएर काम गर्ने भारतीयको प्रस्ताव कालुराम, केवी थापा र महर्जनले सहर्ष स्वीकारेर यहां आए । स्वर्गीय केवी थापालाई रेष्टुरेन्टमा काम गर्न वर्क परमिट लिएर बेलायत आउने पहिलो

नेपाली मानिन्छ । आफूलाई रेस्टुरेन्टमा काम गर्ने वर्क परमिट पाएर बेलायत आउने दोस्रो व्यक्ति दाबी गर्थे स्वर्गीय इश्वर मानन्धर । त्यतिबेला नेपालीहरुले भारतीय रेन्टुरेन्ट धनीहरुसित विभिन्न शर्त राखेका थिए । जस्तो हवाई भाडा तिरिदिनुपर्ने, बस्ने व्यवस्था मिलाइदिनु पर्ने आदि ।

क्वालिटीमा काम गर्न तीन वर्षको सम्झौता गरेर लन्डन आएका कालुराम तामाङ त्यहां झण्डै ५ वर्ष काम गरेपछि सन् १९७३ तिर लक्ष्मण थापा र जयकृष्ण तामाङसंग पार्टनरसीपमा त्यही क्वालिटी रेष्टुरेन्ट किनेको दावी गर्छन् । करिब ५ वर्षजति क्वालिटी रेष्टुरेन्ट चलाएपछि उनीहरुले त्यो छाडेर ह्यामरस्मिथमा रहेको अर्को रेष्टुरेन्ट ‘लाइट अफ नेपाल’ किने । उक्त रेष्टुरेन्टमा कालुरामसहित लक्ष्मण थापा, मदन थापा, ध्रुव केसी र जयकृष्ण तामाङको साझेदारी थियो ।

क्वालिटी रेस्टुरेन्टमा आगलागी भएपछि लाइट अफ नेपाल रेस्टुरेन्ट खोलिएको र यो नै नेपालीहरुको पहिलो रेष्टुरेन्ट दावी गर्नेहरु पनि छन् । क्वालिटीकै अर्का कर्मचारी इश्वर मानन्धरले सन् १९७५ मा नटराज रेस्टुरेन्टमा रहेको आफ्नो १५ प्रतिशत हिस्सालाई बढाएर शतप्रतिशत बनाएको र क्लालिटीकै अर्का कर्मचारी हरिविभोर कार्कीले अल्डसटमा जोनी गोर्खा रेस्टुरेन्ट खोलेको बताइन्छ । उता, क्वालिटीकै केबी थापाले इलिङ तन्दुरीमा शेयर बढाउंदै पूर्ण स्वामित्व लिएका थिए ।

नेपाली रेष्टुरेन्टलाई सफलता

भारतीय रेस्टुरेन्टमा काम गर्न आएका नेपालीहरुले ती साहुहरुबाट रेस्टुरेन्ट किन्दै गए । त्यसताका नेपाली रेस्टुरेन्टको लोकप्रियता उल्लेख गर्दै 
क्याटरर्स एसोसिएसनका अध्यक्ष थापा भन्छन्, “त्यतिबेला नेपाली रेस्टुरेन्टमा खानका लागि मानिसहरुको लाम बाहिरसम्म लाग्ने गथ्र्यो ।” भारतीयहरुले चलाउन नसकेर बेचेका रेस्टुरेन्ट नेपालीहरुले चाहिं कसरी सफलतापूर्वक चलाउन सके त ? थापा भन्छन्, “भारतीयहरु रेस्टुरेन्टमा असफल हुनुका दुई कारण छन् । पहिलो उनीहरुसित ‘वर्क फोर्स’ थिएन, दोस्रो भारतीयहरुको नयां पुस्ताले बाबुबाजेले गरिआएको व्यवसायलाई निरन्तरता दिएन ।”

सन् १९८० देखि २००० सम्मको अवधिमा सबैभन्दा बढी नेपाली रेस्टुरेन्टहरु खुलेको व्यवसायीहरुको भनाइ छ । सन् १९८० मा साउथ इलिङमा मोन्टिज नेप्लिज कुजिन खोलेका हरिसिंह थापाको अनुभवमा नेपालीहरुको राम्रो काम गर्ने तरिका, ग्राहकलाई खुशी तुल्याउने कला, मीठो खाना खुवाउने सीप नै नेपाली रेस्टुरेन्ट सफल हुनुको कारण हो । उनको बुझाईमा सबैभन्दा ठूलो श्रेय त नेपालीहरुको इमानदारिता नै हो ।

नेपाली रेस्टुरेन्टको समीक्षामा बेलायतको द गार्डियन अखबारले एक पटक लेखेको थियो ः नेपाली रेस्टुरेन्ट सफल हुनुको कारण ‘मिठो खाना, मैत्रीपूर्ण र हार्दिक सेवा र सस्तोपन’ प्रमुख हो ।

औसत नेपाली रेस्टुरेन्ट सफल देखिए पनि अधिकांश रेस्टुरेन्ट बन्द पनि भएका छन् । जो बन्द भए उनीहरुमा पर्याप्त गृहकार्य र अनुसन्धानको कमी रहेको रेस्टुरेन्ट व्यवसायीहरुकै मत छ । गुरुङ भन्छन्, “समग्रमा नेपाली रेस्टुरेन्ट सफल भएकै देख्छु । तर कतिले आवश्यक ज्ञान नभई जोशकै बलमा खोलेका रेस्टुरेन्ट बन्द भएका छन् । कतिपयलाई रेस्टुरेन्ट खोलेपछि आइपरेको समस्याले पनि बन्द हुन बाध्य गराएको छ ।”
आर्थिक सामाजिक टेवा
कम्तीमा एउटा रेस्टुरेन्टका लागि आठजना कामदार चाहिने रेस्टुरेन्ट व्यवसायीहरुको भनाइ छ । रेस्टुरेन्टको अवस्था हेरी बढीमा २० जनासम्म कामदार रहेको नेपाली रेस्टुरेन्ट पनि छन् । एसोसिएसनकै 
आंकडालाई केलाउने हो भने पनि करिब दुईहजार मानिसले नेपाली रेस्टुरेन्टमा काम पाइरहेका छन् । त्यसमाथि पनि अझै गहिरिएर हेर्ने हो भने नेपाली रेस्टुरेन्टमा काम गर्ने ९९ प्रतिशतभन्दा बढी कामदार नेपालीहरु नै छन् ।
एसोसिएसनका अध्यक्ष थापाको भनाइमा एउटा रेस्टुरेन्ट खोल्नलाई प्रोपर्टी इन्भेस्टमेण्टसहित खोल्ने हो भने करिब १ देखि २ लाख पाउण्ड र लिज होल्डमा खोल्ने हो भने ५० देखि ७० हजार पाउण्डसम्म लाग्छ । एनआरएनए यूकेका पूर्व अध्यक्ष गुरुङको अनुभवमा एउटा सामान्य नेपाली रेस्टुरेन्टका लागि कम्तीमा ७० हजार पाउण्ड लगानी चाहिन्छ । यस हिसाबले औसतमा एउटा रेस्टुरेन्टको लगानी न्यूनतम ६० हजार पाउण्ड मान्दा पनि नेपालीहरुले डेढ करोड पाउण्डभन्दा बढी रेस्टुरेन्टमा लगानी गरेका छन् ।

नेपाली परिकार मात्र होइन, नेपाली रेस्टुरेन्टले आफ्ना ग्राहकलाई विभिन्न माध्यमबाट नेपाल चिनाउने काम पनि गरिरहेका छन् । रेस्टुरेन्ट व्यवसायीहरुको अनुभवमा धेरैजसो ग्राहकहरु नेपालबारे जिज्ञासा राख्छन् । रेस्टुरेन्ट व्यवसायीहरुले नेपालीपन झल्काउने साजसज्जा, भेषभूषा, संगीत आदिका माध्यमबाट पनि नेपाली प्रवर्धन गरिरहेका छन् ।
ब्रिटिशको रोजाइमा नेपाली खाना

जुलाई २०१३, तेश्रो साता गुल्मेली दाजुभाई अर्जुन भण्डारी र काशीराम भण्डारीले स्कटल्याण्डमा खोलेको ‘सिमला प्यालेस्’ रेष्टुरेन्ट उद्घाटन भयो बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनका बाहुलीबाट । त्यतिबेला विश्व शिक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत समेत रहेका ब्राउनको त्यो उपस्थिति नेपाल र नेपाली खानाप्रतिको उच्च लगावका कारण रहेको धेरैले बुझे ।

ब्राउनले रेष्टुरेन्ट सञ्चालकलाई आफ्नो क्षेत्र किरकेल्डीमा समेत शाखा खोल्न आग्रह गर्नुले उनी नेपाली खानाका पारखी हुन् भन्ने ठम्याउन असहज भएन ।

चाहे बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका सल्लाहकार हुन् वा पूर्व उपप्रधानमन्त्री निक क्लेग । ब्रिटिश अभिनेत्री जोआना लुम्ली देखि अन्य कयौं ब्रिटिश सेलिबे्रटी, मन्त्री र सांसदहरु गइरहने रेष्टुरेन्ट हो ‘एभरेष्ट इन’ । कुनै बेला यहां अध्यागमन मन्त्री भान्साभित्रै गएर आफ्नो रोजाइको खाना पकाएको चर्चा थियो । बढ्दो लोकप्रियताबीच यसले तेश्रो एसियन करी अवार्डस् २०१३ प्रतियोगितामा ‘वेष्ट नेपलिज रेष्टुरेन्ट इन द यूके’ उपाधि जितेर ह्याट्रिक नै गरिदिएको थियो ।

यस बाहेक, बेलायतको सर्वदलीय सांसदहरु सम्मिलित टिफिन क्लवले वर्षेनी आयोजना गर्ने टिफिन कप अवार्डस् २०१३ मा लन्डन व्याटरसीस्थित नेपालीको ‘होली काउ’ दक्षिण एसियाली रेष्टुरेन्टमध्येबाट उत्कृष्ट भयो । ब्याटरसी, बाल्हम र वान्ड्सवोर्थकी सांसद जेन इलिसन आफैं अघि सरेर आफ्नो क्षेत्रका जनतासमक्ष उक्त रेष्टुरेन्टलाई मत दिन सिफारिस गरेकी थिइन् ।

यसबाहेक दैनिक करिब साढे पांच लाख विक्री हुने बेलायतको लोकप्रिय अखवार टेलिग्राफको आइतबार संस्करणमा ट्राभल र जीवनशैलीबारे कलम चलाउने पत्रकार डोनाल्ड स्ट्राचनले एउटा समिक्षा गर्दै लन्डनमा अथेन्टिक नेपाली खाना खाने हो भने लि हाइरोड लुइसमस्थित ‘पानस गोर्खा रेष्टुरेन्ट’ जान सिफारिस गरिदिए ।

त्यसैगरि, करी इण्डष्ट्रीको ‘अस्कर’ मानिने ब्रिटिश करी अवार्डस् २०१३ मा यूकेभरका टप १०० रेष्टुरेन्टमा पर्न सफल भए चार नेपाली रेष्टुरेन्ट गोर्खा प्यालेस (फार्नवोरो), गोर्खा प्यालेस फोकस्टोन, एभरेष्ट स्पाइस रेडहिल र द गंगेज एण्ड गोर्खा प्लेमाउथ ।

केही वर्ष अघि बेलायतको लोकप्रिय अखवार इन्डिपेन्डेन्टको सर्वेक्षणमा टप ५० मध्ये १६ औं स्थानमा पर्न सफल भएको थियो कर्नवालस्थित काठमाण्डौं प्यालेस रेष्टुरेन्ट ।

यी केही उदाहरणले पुष्टि गर्छन् बेलायतमा नेपाली रेष्टुरेन्टको बढ्दो लोकप्रियता ।

बंगालीपछि इण्डियन रेष्टुरेन्टले ‘डोमिनेन्ट’ गरिरहेको बेलायतको करी इण्डष्ट्रीमा अहिले नेपाली रेष्टुरेन्टले पनि आफ्नो पकड जमाउंदैछन् । बेलायतमा अनुमानित अढाइ सय नेपाली रेष्टुरेन्ट मध्ये अधिकांश डुबेका पनि छन् तर, बेलायती खाना पारखीको मन जित्न भने ति सफल छन् । नेपाली रेष्टुरेन्ट टिपिकल खाना ढिंडो, दाल भात, गुन्द्रुक बेचेर टिकेका भने होइनन् । बेलायतमा नेपाली रेस्टुरेन्ट व्यवसाय शुरु भएको करिब चार दशक भए पनि अझै ग्राहकलाई नेपाली स्वाद चिनाउन भने बांकी नै छ । नेपाली रेस्टुरेन्ट भनेर लेखिए पनि भारतीय, चाइनिज र बंगाली खाना ‘सर्भ’ गर्नुपर्ने व्यावसायिक बाध्यता छ । दालभात र गुन्द्रुकलाई व्यवसायीकरण गर्न अझै बांकी नै छ । भारतीय खानालाई हल्का ‘मोडिफाइ’ गरेर तयार पारिएका रेसिपी’ ले व्यवसाय चलेको बताउंछन् लन्डनमा सातवटा टेक वे रेष्टुरेन्ट चलाइरहेका एनआरएनए युरोप संयोजक कुल आचार्य । उनी थप्छन्, ‘गोर्खाली र नेपालीको प्रतिष्ठा र इमान्दारिता देखेर नियमित आउने ग्राहक धेरै छन् ।’

त्यसो त नेपाली रेष्टुरेन्टको योगदान च्यारिटी काममा पनि उत्तिकै छ । नेपालीको स्थानीय समुदायसंग बढ्दो सामिप्यता र लोकल च्यारिटीप्रति उनीहरुको निरन्तर योगदानले पनि ग्राहक आकर्षित भएको ठान्छन् गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोका सञ्चालक सूर्य गुरुङ । उनी बेलायत र नेपालको च्यारिटीका लागि बराबर कार्यक्रम गर्छन् । उनले फेब्रुअरी तेश्रो साता आफ्नो रेष्टुरेन्टको १७ औं वार्षिकोत्सवमा च्यारिटी गरेर भूकम्पले क्षतिग्रस्त गोरखाको महेन्द्र लिला उच्च मावि भवन पुनर्निर्माणका लागि करिब साढे ६ लाख रुपैयां प्रदान गरे ।
व्यवसायमा नयां चुनौती

आफ्नो व्यवसाय सुचारु गरिराख्न चुनौती भने प्रशस्त देख्छन् नेपाली व्यवसायी । साख जोगाइराख्न नयां आइडिया, मार्केटिङ, खाना र सेवामा बढि चनाखो हुन जरुरी रहेको उनीहरुको भनाइ छ । व्यवासायी कुल आचार्यका भनाइमा नेपाली ‘कुइजिन’ मात्र भनेर रेष्टुरेन्ट चल्ने सम्भावना कम छ त्यसैले बाहिर साइनवोर्डमा नेपाली एण्ड इण्डियन कुइजिन नभनि सुखै छैन् ।

सन् १९९० देखि मुनाल तन्दुरी रेष्टुरेन्ट चलाइरहेका थापाले अहिले रेष्टुरेन्ट व्यवसायमा धेरै चुनौती थपिएको बताए । ‘विशेष गरि दक्ष जनशक्ति अभावले हामी धेरै मर्कामा छौं’, थापाले भने, ‘सेफ र बाहिर काम गर्ने स्टाफ अभावले रेष्टुरेन्ट धान्नै मुश्किल भइरहेको छ ।’ उनले बेलायत सरकारले बाहिर मुलुकबाट वर्क परमिटमा कामदार ल्याउन कडाइ गरिदिएपछि अभाव शुरु भएको जनाए । ‘हामी त जेनतेन चलिरहेका छौं । तर, यही जनशक्ति अभावले अधिकांश बंगालीहरुले त व्यवसायबाट हात नै धुनु परेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक