सानो देशका ठूला मान्छे

Shashi Poudel

अघिल्लो हप्ता एक नेपाली बहिनी आफ्नो पतिका साथ छोरा पनि साथ लिएर मकहाँ भेट्न आइन् । यस्तै डेढदशक अघि ती बहिनीको विवाहमा म अनुवादक एवं केटी पट्टीको साक्षीका रुपमा उपस्थित थिएँ । त्यसपछि मेरो उनी र उनको पतिसंग लामो समयसम्म सम्पर्क थिएन । हामी हाम्बर्गमा आएपछि उनीहरुसंग टेलिफोन सम्पर्क अलि बाक्लियो । अचानक उनले एकदिन अघि टेलिफोन गरिन् र अर्को दिन मकहाँ आउन चाहेको कुरा बताएकी थिइन् । म उनीभन्दा एकदशक अघि युरोप छिरेको हुँ, सायद ममा पनि थुप्रै परिवर्तन आए होला, कपाल फूले, अनुहार चाउरी भयो । समग्रमा भन्दा उमेरले डाँडा काट्यो । तर उनमा आएको परिवर्तनले भने मेरो मनमा एक अनौठो तरंग ल्यायो ।
उनी लामो कुर्ता सुरुवाल लगाएकी, लामो कपाललाई कम्मरसम्म झारेर कोरेकी, भुतुक्क लज्जालु, बोल्दा नेपाली संभ्रान्त हजुर, आइसियोस्, गइसियोस् र बसिसियोस् जस्ता भाषामा बोल्ने गर्थिन् । त्यसैले विदेशीसंग बिहे गर्न लागेकी केटीहरुले पनि नेपाली संस्कारलाई भुलेका छैनन् भनेर मैले धेरै ठाउँ उनको उदाहरण समेत दिने गरेको थिएँ ।
उनी बाहिर ढोकाबाटै चर्को आवाजमा हाँस्दै भित्र पसिन्, क्रमश उनको पति र छोरा । उनीहरु झण्डै ५ घण्टा हामीकहाँ बसे । मैले उनको हाउभाउ, खवाइ र पहिरनमा आएको परिवर्तनलाई नियालेर हेरिरहें । कपाल काट्नु, कतै लामो र कतै छोटो बनाउनु, अनि मोटाउने डरले थोरै खानुलाई मैले स्वाभाबिक रुपमा लिएँ । कपालमा थुप्रै रंगहरु लगाएर इन्द्रेणी बनाएकोमा पनि सारै अनौठो मान्दिनँ ।
तर उनलाई एउटा छाेंटो कट्टु र पछाडी नागैं देखिने अनि छाती मात्र छोपिने पहिरनमा देख्दा भने म खेल मैदानमा छरिएको कौडाजस्तै चित परें । त्यतिले पुगेन छ, बिचरा नानीले डेड दशकभित्रै नेपाली भाषा पनि भुसुक्कै बिर्सिन् रे । उनका अनुसार अब उनलाई नेपाली बोल्न पनि त्यति राम्रो आउँदैन रे । फटाक्फुटुक अंग्रेजी बोल्ने गर्थिन् त्यो पनि मासु पोलेर खाएझै पोलेरै खाइछन् । जर्मन भाषा त झन् उनलाई काँचो पिडालु जस्तो न निल्न सक्ने न ओकल्न सक्ने रे । उनले आफ्नो मनको बह पोख्न संसारका कुनै पनि भाषाले साथ नदिने रहेछ । कुराकानी क्रममा उनले भर्खरै बोल्न सिकेका बच्चाहरुको बोली नफुटे जस्तो गरी मलाई अंग्रेजी सिकाइदिनुस् न भन्दै जर्मन भाषामा बोलिन् । त्यसैबीच कुरा काटेर उनको पतिले भने तँ जर्मनीमा छस् पहिले जर्मन भाषा सिक् अनि बल्ल अरु भाषाको कुरा गर त्योभन्दा त बरु नेपाली नै सिक न ।
एक वर्षअघि मेरो एउटा अर्को अर्ध नेपाली परिवारसंग परिचय भयो । यस्तै सात दशक नाघेका जर्मन पुरुष अनि पाँच दशकमा भर्खर टेकेकी नेपाली मूलकी पत्नी र दुई दशकको हाराहारीमा पुग्न लागेकी नेपालमै जन्मेकी धर्म छोरी । विगत तीन दशक अघि नेपालमा पुगेका जर्मन नागरिकसंग चिनजान भएको र उनैसंग बिहे गरेर पछि जर्मनी छिरेकी अर्की नेपाली नारीको हालत त झन वेदनापूर्ण पो रहेछ । उनको दिमागमा यति गरीवी रहेछ कि त्यसको नापजाँच गर्ने यन्त्र नै छैन जस्तो लाग्छ । तर ती नारीले भने आफ्नो त्यो बौद्धिक दरिद्रतालाई निकै ठूलो मान्छे भन्ठान्छिन् ।
नयाँ चिनजान भएको हैसियतले हामीले उनीहरुलाई नयाँ वर्ष २०१४को बेला पारेर एक साँझ खाना खाने भनेर बोलायौं । खाना खाने तयारी गर्दै थियौं, उनले सोधिन् के हो खाने कुरा ? मेरो पति र छोरीले त दालभात मन पराउन्न । नेपालीकहाँ जहाँ गए पनि दालभात नै पकाउँछन् अनि हामी भोकै घर फर्किनु पर्छ । मैले पनि दालभात खान्न । हामी त केवाफ, पिज्जा, रोष्ट अनि कार्तोफिल(आलु) पो खान्छम् । अब जर्मनीमा आएर पनि के दालभात खानु ? छि नेपालीहरुले युरोप आएर पनि कति नसिकेका ? मलाई त नेपाली बोल्न पनि मन पर्दैन । उनले नेपालीहरुलाई गाली गर्दै भनिन् यी नेपालीहरु खान नपाएर विदेश पसेका छन् अनि के सिकुन् जर्मनीका आनीबानीहरु ? उनले गाली गर्ने क्रममा अगाडि भनिन् यी नेपालीहरु खाली कालो काम गर्छन् सरकारलाई तिर्नुपर्ने कर तिर्दैनन् । त्यसैले मैले त नेपालीहरुको एउटा पार्टी भैरहेको बेला पुलिसलाई टेलिफोन गरेर पुलिस बोलाइ दिएं । ४÷५ जना कतिलाई त नेपाल नै फर्काइ दियो ।
नेपाली खानालाई उनले गाली गरिन् त्यो सहें । नेपालीहरुलाई तथानाम गाली गरिन् त्यो पनि सहें । तर नेपाली भाषालाई गाली गरेकोमा भने मेरो चित्त नराम्रोसंग दुख्यो ।
एक वर्ष अघि म बाध्यतावश उनीहरुकोमा दुइरात बास बस्नु परेको थियो । त्यतिबेला उनले मलाई आफ्नी छोरी र आफूलाई अंग्रेजी सिकाउन आग्रह गरेकी थिइन् । मैले उनीसंग बरु छोरीलाई पहिले नेपाली भाषा सिकाए वेश हुने तर्क गरेको थिएँ । जवाफमा उनले भनेकी थिइन् नेपाली भाषा अब हामीलाई किन चाहियो ? कहिलेकाँही नेपाल गयौं भने त्यहाँ सबैले अंग्रेजी बुझ्छन् । जर्मनी आएदेखि नेपाल त्यति गएकै छैन, छुट्टी मनाउन हामी बरु अरु नै देश जान्छौं भने अब किन नेपाली भाषा ?
अव किन नेपाली भाषा ?
आफूलाई मपाइँ भन्नेहरु मैले बेलायतमा पनि नभेटेको होइन । केही वर्ष अघि तिहारको बेला थियो । मेरा एकजना आफन्तले तिहारको सम्झनामा केही घण्टा संगै बसौं न अंकल भनेर आग्रह गरे । हामी पनि हुन्छ नि त भनेर गयौं । उनले त्यसदिन एक नेपाली परिवार, पेशाले डाक्टरलाई पनि निम्त्याएका रहेछन् । उनकी पत्नी र दुई छोरीहरु पनि संगै आएका थिए । केही घण्टा गफगाफ र तास पनि खेल्यौं । मैले त्यतिबेला बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको साप्ताहिक एभरेष्ट टाइम्सको सम्पादन गर्थें । त्यसैले मैले उनको ठेगानामा एउटा प्रति पठाइ दिएँ । त्यो पत्रिका पाएपछि उनी आगो भएछन् र पत्नीलाई धुमधाम गाली गरेछन् । एकदिन उनले मलाई टेलिफोन गरे र भने यो नेपाली भाषाको पत्रिका मलाई किन पठाएको ? यो कसले पढ्छ ? खुब ठूलो काम गरें भनेर देखाउन खोजेको हो कि कसो ? यो नेपाली भाषा अब हामीलाई किन चाहियो ? हामी त बेलायती, तर्पाइलाई त्यति पनि थाहा छैन ? मैले उनलाई शान्त हुने आग्रह गर्दै भनें, हेर्नुहोस् यसले तपाईको केही नाश गर्ने छैन बरु फाइदा नै हुने छ तपाईका छोरीहरुलाई नेपालमा पढेको नेपाली भाषा फेरि सम्झना गराउने छ । मातृभाषा हो यसको अपमान नगरौं ।
उनी झन रिसाउदै भने संसारका यति धेरै मान्छे नेपाली भाषा, नेपाली खाना र नेपाली संस्कृति बिना बाँचेका छन् भने हाम्रा छोरीहरुलाई किन चाहियो ? तपाईको भाषण आफैसंग राख्नुस् अनि मेरो सफा घरलाइ फोहर गराउन र रद्दीको टोकरीमा फाल्ने काम बढाउन पत्रिका मलाई नपठाउनुस् ।
उनका यी कुरा सुनेपछि मैले मनमनै कुरा गरें, आखिर मान्छे सानो र गरीव देशमा जन्मेर के भो र आफू अनि नितान्त आफू ठूलो बनेपछि जीवनको सार्थकता त्यही भेटिन्छ सायद ? यद्यपि आफू ठूलो बनेको हेर्न आफ्नो आँखामा आफैले लगाएको चस्माको रंग चाहिं फरक फरक हुने रहेछ । यसैले होला संसारका विभिन्न कुना, ठूला वा साना देशमा पुगेको नेपाली डायस्पोरा ठूलो मान्छे बन्ने म्याराथन दौडमा छन् तर दुर्भाग्य यो म्याराथन दौडमा उनीहरुले नेपाल, नेपालित्व, बिर्सेर जन्मभूमि र कर्मभूमि बीचको फरक छुट्ट्याउन सकिरहेका छैनन् ।

पाैडेलका अन्य लेखहरू  www.theglobal.co.uk मा पढन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री