लन्डनमा उपप्रधानमन्त्री थापाले भेटे बेलायती मन्त्री

DPM 1
लन्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायती मन्त्रीहरुसंग भेट गरेका छन् । लन्डनको छोटो भ्रमणका क्रममा मन्त्री थापाले बुधबार बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायनसंग बेग्लाबेग्लै भेटेका हुन् । स्वायरसंग विदेश मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हित, नेपालको विकासमा बेलायती सहयोग, पुनर्निर्माण प्रक्रिया र दुई देशबीच उच्च स्तरिय भ्रमणबारे छलफल भएको छ ।
भेटका क्रममा मन्त्री थापाले हालै भएको बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणबारे स्मरण गर्दै उक्त भ्रमणलाई नेपाल र नेपाली जनताले उच्च महत्व र आत्मियताका साथ लिएको र यसले दुई देशबीच सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरे । मन्त्री थापाले भविष्यमा यस्ता खालका उच्च स्तरिय भ्रमण हुने आशा समेत व्यक्त गरे । थापाले विगत २०० वर्ष देखि जोडिएको गोर्खा इतिहासले दुई देशबीचको सम्वन्ध अझ मजवुत बनाएको उल्लेख गर्दैै बेलायतलाई भूपू गोर्खाहरुका बांकी मुद्दा सम्वोधन गर्ने उचित अवसर अहिले नै भएको बताएका थिए ।

Dpm 2
प्रतिउत्तरमा मन्त्री स्वायरले बेलायत सरकारले सम्भव भएसम्म भूपू गोर्खा मुद्दा समाधानमा पहल गर्ने आश्वासन दिएका थिए । स्वायरले नयां संविधान जारी पछि बेलायतले नेपाललाई राजनीतिक, नैतिक तथा आर्थिक सहयोग गरेको समेत स्मरण गरे ।
यसअघि उपप्रधानमन्त्री थापाले डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायनसंग बेलायती संसद हाउस अफ कमन्समा भेटेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त भेटमा दुई देशबीच विकास साझेदारी सम्वन्धमा छलफल भएको थियो । विशेषगरि नेपालको पुनर्निर्माण र विकासमा बेलायती सहयोगबारे छलफल केन्द्रित रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । मन्त्री थापाले आगामी दिनमा व्यापार, लगानी र अन्य आर्थिक सवालमा थप समन्वय हुने आशा पनि व्यक्त गरेका थिए । प्रतिउत्तरमा मन्त्री स्वायनले नेपाललाई पूर्ण सहयोग हुने आश्वासन दिएका थिए ।
दुवै भेटमा लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र परराष्ट्र मन्त्रालयका उपसचिव भरत कुमार रेग्मी पनि सहभागी थिए ।
यसैबीच, बुधबार सांझ उपप्रधानमन्त्री थापाले दूतावासको सहकार्यमा नेपलिज क्याटरर्स एसोसिएसन यूकेले प्रकाशन गरेको पुस्तक टेष्ट अफ नेपालको समेत विमोचन गरे ।

मंगलबार लन्डन आएका मन्त्री थापा बिहीबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री