आमरण अनसन स्थगित गर्ने निष्कर्षमा भूपू गोर्खा

तस्वीर गोरखा जस्टिस क्याम्पेन

तस्वीर गोरखा जस्टिस क्याम्पेन

लन्डन । आन्दोलनरत भूपू गोर्खाहरु तत्काल आमरण अनसनमा नजाने भएका छन् । नेपाल सरकारले बेलायत सरकारलाई दुई वटा औपचारिक पत्र पठाइसकेको सन्दर्भमा वार्ताबाटै समस्या समाधान हुने विश्वासले आमरण अनसन दुई महिना स्थगित गर्ने निर्णय गरिएको हो ।

यसबारे औपचारिक जानकारी आज मध्यान्ह १२ बजे प्रधानमन्त्री कार्यालय अगाडि हुने प्रदर्शनबीच दिइने आन्दोलन नेतृत्व गरिरहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ ।

बेलायत सरकारले आफ्ना माग सम्वन्धमा दिइएको दुई वटा अल्टिमेटमलाई वेवास्ता गरेपछि उनीहरु आज २४ अप्रिल देखि भोक हड्तालमा जाने पूर्ण निर्धारित कार्यक्रम थियो ।

‘नेपाल सरकारले बेलायत सरकारलाई औपचारिक पत्र लेखिसकेको र केही समय दिनु भनेकाले हामीले आमरण अनसनको समय २ महिना पर सार्ने निर्णय गरेका छौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण राईले वीनेपालीलाई जनाए ।

नेपाल सरकारले निकट भविष्यमै वार्ता टोली गठन गर्ने र आफ्ना मागबारे नेपालका प्रधानमन्त्री समेत सकारात्मक रहेको सत्याग्रह समितिले जनाएको छ । व्यवस्थापिका संसदकी सभामुख ओनसारी घर्ती मगरले पनि हालै बेलायत भ्रमणका क्रममा भूपू गोर्खाहरुको विषयलाई गम्भीरतापूर्वक लिंदै ठोस पहलकदमी लिने आश्वासन दिएकी थिइन् ।

सत्यागह समितिको प्रेस विज्ञप्ति जस्ताको तस्तै
आदरणीय गोर्खा दाजुभाई, दिदीवहिनी, व्रिटिस भेर्टन तथा पत्रकार वन्धुहरु
सप्रेम अभिवादन ।

हामीले क्यामरुन सरकारलाई दोस्रो पटक दिएको अल्टिमेटम आज १२ बजे समाप्त भएको छ । विडम्वना, क्यामरुन सरकारले आजसम्ममा पनि हाम्रा कुनै मागहरु पुरा गरेको छैन नत अन्य कुनै पहल नै गरेको छ । अल्टिमेटम दिएपछि हामीले बेलायत र नेपाल दुबै मुलुकमा अनवरतरुपमा विभिन्न दवावमुलक कार्यक्रमहरु गर्दै आएका छौ । त्यही दौडानमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक श्री कृष्ण बहादुर राई, डा. राम नारायण कन्दंग्वा र मेजर मान बहादुर राई हाम्रो वैध अभिभावक नेपाल सरकारलाई कुटनीतिक तथा वार्ताको माध्यमबाट हाम्रो युगौ पुरानो समस्यालाई यथाशीघ्र हल गर्न बाध्य पार्ने उद्देश्यले नेपाल गएका थियौ । त्यो सिलसिलामा नेपाल सरकारका प्रधानमन्त्री, राष्टपति, मन्त्रीहरु, सरकारका विभिन्न पदाधिकारीहरु र नेताहरुले भरपर्दो र सकारात्मक आश्वासनहरु दिनुभएको थियो । तर ती आश्वासनहरु कति कार्यन्वयन भए, प्रगति के कस्तो भैरहेको छ भन्ने कुराको मूल्याडंकन गर्न तथा अतिरिक्त दवाव सृजना गर्न संयोजक कृष्ण बहादुर राई पुनः नेपाल जानु भएको थियो । उहां पांच हप्ता नेपाल बसी गत १४ अप्रिलमा मात्र बेलायत फर्कनु भएको छ । अतः उहांले नेपाल सरकारको तर्फबाट हाम्रो लागि तपसिल बमोजिमको प्रेमपूर्ण उपहारहरु लिएर आउनु भएको छ ः

१. परराष्ट्र मन्त्रीले गोर्खाहरुको समस्या हल गर्न बेलायत सरकारलाई अहिलेसम्ममा दुई पत्रहरु पठाएको
२. ती पत्रहरुको अन्र्तवस्तु हामी अनुकूल समयमा नेपाली राजदूतावासमा गएर हेर्ने
३. निकट भविष्यमा बेलायत भ्रमणमा आउनुहुने सांसदले हाम्रो समस्या तत्काल हल गर्न नेपाल सरकारले बेलायत सरकारलाई लेखेको अर्को वढी सशक्त पत्र ल्याउने
४. नेपाल सरकारले निकट भविष्यमै वार्ता टोली गठन गर्ने
५. यो विषयमा नेपालका प्रधानमन्त्री पनि सकारात्मक
६. व्यवस्थापिका संसदकी सभामुख सम्माननीय ओनसारी घर्ती मगरले पनि नेपाल फर्के पछि यो विषयमा ठोस पहलकदमी लिने
७. सम्माननीय सभामुखले एपीपीजीका अध्यक्ष माननीय सांसद श्री वीरेन्द्र शर्मालाई नेपाल भ्रमणको निमन्त्रणा दिने
८. युरोपीयन विभाग हेर्ने सचिवले पनि यो समस्या हल गर्न दुई महिना समय मागेको
९. र, यही विषयलाई लिएर आगामी २६ तारिख नेपालका 
परराष्ट्रमन्त्री श्री कमल थापा अमेरिका भ्रमण समाप्त गरि बेलायत आउने ।

यो दुई मुलुक बीचको युगौं पुरानो जटिल समस्या भएको हुनाले यसलाई हल गर्न समय लाग्नु स्वभाविक देखिन्छ । मन्त्री तथा सरकारका सचिवहरुले पनि त्यही आसय व्यक्त गरेका छन् । यो परिदृष्यमा हिजोको केन्द्रीय समितिको बैठकमा व्यापक र गहिरो छलफल गरि हामीले क्यामरुन सरकारलाई दिएको अल्टिमेटमलाई सर्वसम्मतिमा जुलाई १ मा हडंकडं छोडेको तर त्यो मितिलाई बेलायतले कटअफ लाइन मानी १ जुलाई १९९७ भन्दा अघि निवृत्त भएका गोर्खाहरुलाई अर्को अन्याय प्रारम्भ गरेको त्यो कालो दिन मात्र समाप्त हुने निर्णय गरिएको छ । अहिले हाम्रो अथक मेहनतको कारण मूलत नेपालमा माहोल धेरै आशावर्धक बन्दै गएको छ । सरकार इतिहास मै पहिलो पटक सबै भन्दा बढी सकारात्मक, गम्भिर र जिम्मेवार देखिएको छ र सरकार र सचिवहरुले यो ऐतिहासिक अभिभारालाई हल गर्ने दिशामा काम गर्नका लागि आवश्यक समय मागिरहेका छन् । काम गरेर समस्या हल गर्न चाहनेहरुलाई समय दिनु हाम्रो विवेक, महानता र कतव्र्य हो । हाम्रो उद्देश्य विध्वंस मच्चाउने वा विर्निमाण गर्ने होइन् । हलो अडकाएर गोरु पड्काउने नियत पनि अवश्य होइन । हामी समाजलाई अग्रगती दिने, प्रजातन्त्र, न्याय र समानतामा आस्था राख्ने, वार्तामा विश्वास गर्ने, त्यागी आन्दोलनकारीहरु हौं । त्यसैले यो हाम्रो वुद्धिमतापूर्ण निर्णयलाई तपाईहरु सबैले रोमाञ्चित हुदै आसा र उत्साहका साथ स्वीकार गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।

हाम्रो आफ्नै समस्याको लगि गोर्खा सत्याग्रह आन्दोलनको जन्म भएदेखि नै तपाईंहरुले जुन त्याग र वलिदान गर्नुभएको छ, आर्थिक, भौतिक, नैतिक सहयोग गर्नु भएको छ, जुन चरम उधतता, उदवेलन, उत्साह र सक्रियता देखाउनु भएको छ त्यसको निम्ति गोर्खा सत्याग्रहको तर्फबाट र मेरो आफ्नै तर्फबाट पनि अन्तस्करणको गहिराइबाटै हार्दिक धन्यवाद टकयाउन चाहन्छौं । भविष्यमा अझबढी उधतता, उदेवेलन र सक्रियता देखाउनु हुनेछ र तपाईहरुको सम्पूर्ण प्रकारको सहयोगलाई पनि साविकैरुपमा जारी नै राख्नुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछौ ।

सबैभन्दा रोमाञ्चित बनाउने र आन्दोलनकाप्रति आस्था जगाउने कुरा व्रिटिस भेट्रानहरुले पनि हाम्रो जायज मागहरु पुरा नभइन्जेल हामीलाई हरप्रकारको सहयोग गर्ने प्रतिवद्दता जनाएका छन र उहाहरुको सहयोग प्रारम्भ भइसकेको छ । केही भेर्टनहरुले आवश्यक परे भोक हडताल सम्म पनि बस्न सक्ने आश्वासन दिनु भएको छ । यसरी उहाहरु हाम्रो लागि भोक हडतालसम्म बस्न तयार हुनुहुन्छ भने हामी आफैंले आफ्नै समस्या समाधान गर्न वलिदान, त्याग र सक्रियतापूर्वक सहभागी हुने कि नहुने ? आवश्यक सम्पूर्ण सहयोग गर्ने कि नगर्ने ? एकपटक छातीमा हात राखेर सोच्नु हुन विनम्र अनुरोध गरिन्छ । हजारौं वर्षको मानव इतिहास हेर्नुहोस्, अन्याय, असमानता र विभेद घरमा सुतेर यो संसारमा कहिं पनि अन्त्य भएको छैन् ।

भेदभाव, अन्याय र असमानता विरुद्द एकातावद्द संघर्षलाई उराल्नुको विकल्प यो दुनियामा छैन् भन्ने कुरा दिनको घाम झैं सत्य हो । धन्यवाद ।

गोर्खा सत्याग्रह
संयुक्त संघर्ष समिति
बेलायत नेपाल
मितिः २४ अप्रिल २०१६

प्रतिक्रिया

सम्बन्धित सामाग्री