सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: २२:२१ | UK Time: 16:36

जनताका पीडाले मलाई पनि भित्रभित्रै पोल्छ ः प्रधानमन्त्री

वीनेपाली
२०७३ वैशाख १ गते ९:४०
K P oli

फाइल तस्विर

काठमाडाँै, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठूला राजनीतिक परिवर्तन आएपनि जनताको दुःख निवारण नभएकोमा सर्वसाधारणलाई झैँ आफूलाई पनि भित्रभित्रै पोल्ने गरेको बताउनुभएको छ ।

नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आज साँझ आफ्नै कार्यकक्षबाट दिनुभएको सन्देशमा उहाँले लोकतन्त्रका लागि चार जना प्रातःस्मरणीय सहिदहरूले हाँसीहाँसी मृत्यु अँगालेका र ७५ वर्षपछि संविधान घोषणा भएको बताउँदै अधिकार प्राप्तिको आन्दोलन आधारभूतरूपले टुङ्गिएको तर एउटा पीडाले तपाईंहरूलाई जस्तै मलाई पनि भित्रभित्रै पोल्छ, मुलुकमा यति ठूला राजनीतिक परिवर्तन आए तर जनताको दुःख उस्तै छ भन्नुभएको छ ।

उहाँले सबै राजनीतिक दल र मित्रहरूलाई अब राष्ट्रको हित र जनताको समृद्धिको लक्ष्यमा केन्द्रित हुन आग्रह गर्दै प्रतिस्पर्धा, आवधिक निर्वाचन र सरकारको विषय लोकतन्त्रको चरित्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर राष्ट्रको समृद्धि र जनताको श्रीवृद्धि भने स्थायी र साझा विषय हुन् । परिस्थिति फेरिन्छ । सन्दर्भहरु फेरिन्छन् । राजनीतिक नेतृत्वले तदनुरुप नै आफूलाई परिमार्जन गरी अद्यावधिक हुन र समयानुकूल नेतृत्व दिन सक्षम हुनुपर्छ ।”

प्रधानमन्त्रीले दलहरू बढी आत्मकेन्द्रित भए र आन्दोलनको धरातललाई राजनीतिक नेतृत्वले दिनुपर्ने ध्यान दिन सकेनन् भन्ने जनताका गुनासा मननीय लागेका बताउँदै अब नयाँ राजनीतिक संस्कृतिको विकास गर्ने बेला भइसकेकोतर्फ राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनका लागि पनि बृहत्तर राष्ट्रिय समझदारी आवश्यक भएको तथा वर्तमान सरकारका तर्फबाट आफू त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दै सहमतिका लागि सकारात्मक योगदान गर्न सबैलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्रीले नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा दिनुभएको सन्देशको पूर्ण विवरण यस प्रकार छ ः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

१) आजबाट वि.स. २०७२ हामीबाट बिदा हुँदैछ । यो वर्ष नेपालको इतिहासमा उल्लेख्य सकारात्मक र नकारात्मक घटनाले भरिपूर्ण रह्यो । नेपालको संविधान घोषणा, नेपालको राष्ट्रिय चेतनामा आएको ठूलो विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा प्राप्त भएका नयाँ उचाइ जस्ता सुखद उपलब्धि यसै वर्ष हासिल भएका छन् । खेलकूद क्षेत्रमा हाम्रा युवाहरुले प्राप्त गरेको उपलब्धिले समग्र नेपालीलाई उत्साहित पारेको छ । तर वर्षको सुरुवात मै आएको विनाशकारी भूकम्प होस् वा दर्जनौं जनाको ज्यान जाने गरी तराई–मधेसमा उत्पन्न दुःख घटनाहरु या त्यसैसँग जोडिएर अनावश्यक ढंगले थोपरिएको नाकाबन्दी होस्, हामी नेपालीलाई बिर्सन कठीन हुने घटनाका रूपमा रहेका छन् । सम्बत् २०७३ सबै नेपालीका लागि सफल र सुखमय होस्, हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२) लोकतन्त्र भनेको जनताको शासन व्यवस्था हो । आफूमाथि शासन गर्ने प्रतिनिधि उनीहरु आफैं चुन्छन्, त्यसैले भनिन्छ लोकतन्त्रमा जनताको बोली बिक्छ । तर लोकतन्त्र आफैंमा लगाम बिनाको घोडा भने होइन । त्यहाँ जनतालाई लोकतन्त्र हुन्छ, तर आफ्नै प्रतिनिधिद्वारा बनाइएको विधिले कोरेको सीमा बाहिर जान मिल्दैन, त्यसो भएमा विधिको शासनको रक्षाका लागि राज्यसत्ता उपस्थित हुन्छ । राज्यसत्ता भनेको लोकतन्त्ररूपी सिक्काको त्यो पाटो हो, जहाँ सन्तुलन र नियन्त्रणका वैध संयन्त्रहरु क्रियाशील हुन्छन् ।

३) मैले सरकारको नेतृत्व सम्हालेको एक महिना नाघेपछि देशवासीलाई संबोधन गर्दा हामी आफैंले तयार गरेको संविधानको घोषणार त्यसको लगत्तै सिर्जित असाधारण अवस्थालाई चित्रण गरेको थिएँ । सरकार अत्यन्तै असाधारण अवस्थामा गठन भएको विनम्रताका साथ उल्लेख गरेको थिएँ । सवारी साधनमा हाल्ने इन्धन नभएको, चाडपर्वको बेला जनताको चुल्हो बाल्ने मट्टितेल र ग्याँस नभएको, खाद्य पदार्थ र कतिपय जीवन रक्षक औषधिको समेत अभाव हुँदै गएको राष्ट्रिय सङ्कटको त्यस घडीमा नेपाली जनताले देखाएको धैर्य, देशभक्ति र राष्ट्रिय स्वाभिमानको हृदयदेखि नै प्रशंसा गरेको थिएँ । मैले भनेको थिएँ– यो सरकार सामान्य अवस्थामा बनेको सरकार होइन । यसको भूमिकासँग सरकारमा आबद्ध दलहरुको मात्रै हैन, सिंगो देशको भविष्य गाँसिएको छ भन्ने कुरामा म सचेत छु ।

४) मैले त्यस समयमा जारी असहज अवस्था, सीमामा रहेको अवरोध, अवरोधका छद्म बाहकहरु र त्यसको छायाँमा सलबलाउन खोजेकोसंगठित अपराधको समेत चर्चा गरेको थिएँ । आन्दोलनका लागि आन्दोलन आवश्यक नरहेको र आन्दोलनको आडमा हुने अवाञ्छित कृत्यको छिटाबाट सच्चा आन्दोलनकारीहरु समेत जोगिउन् भन्ने मेरो आग्रह थियो । सरकार र सरकार सञ्चालक दलहरुको भूमिका विभेदकारी भयो, पनपच्छे गरियो भन्ने भनाइप्रति मेरो विनम्र प्रश्न थियो– राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा आधा शताब्दीभन्दा बढी आयु बिताएको एउटा व्यक्ति तपाईंहरुको प्रधानमन्त्री भएको छ, जसले १४ वर्षभन्दा बढी यातनापूर्ण जेल जीवनमा कैयौं रात खानाको सट्टा केवल सास्ती र अपमान मात्र खाएको छ, ऊकसरी विभेदकारी, अमानवीय र जनविरोधी हुनसक्ला ? तानाशाही, विभेदकारी एवं निरङ्कुश हैन, देख्न–सुन्न सक्ने र जनताको पीरमर्कामा आफूलाई एकाकार गर्ने, लोकतान्त्रिक संरचनाको निगरानीमा चल्ने सरकार भएको बेला देश र जनता भूकम्प र नाकाबन्दीबाट आक्रान्त र पीडित एवं अर्थतन्त्रमा गम्भीर धक्का लागेको यस समवेदनशील परिस्थितिमा जुलुस, बन्द–हडताल, तोडफोड केका लागि भन्ने मात्र मेरो प्रश्न थियो । जनताका प्रतिनिधिहरूले बनाएको, लोकतान्त्रिक विधिबाट बनेको र जनताका अधिकार एवम् न्याय–समानताको सार बोकेको संविधान जारी हुँदा किन अन्त्यहीन आन्दोलन ? जिज्ञाशा राखेको थिएँ । केही कुरा नमिलेका भए संशोधन मार्फत् मिलाउन सकिन्छ, सीमाङ्कन पुनरावलोकन गर्नुपर्ने भए सहमतिमा गर्न सकिन्छ, संविधान र सङ्घीयतालाई गतिशील विषयका रूपमा लिएर अगाडि बढौं भनिरहेकै बेला देशलाई नै सङ्कट पार्ने सीमा अवरोध किन ? सवाल गरेको थिएँ । “तराई मधेसमा जारी असहज घटनामा मिसिएका मित्रहरुलाई आग्रह गरेको थिएँ– तराई मधेससँग सम्बन्धित विषयहरु हामी सबै नेपालीका साझा विषय हुन् । तिनको उचितरूपमा सम्बोधन गर्नु नेपाल सरकारको जिम्मेवारी हो । राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य हो भन्ने म ठान्दछु ।” तराई–मधेसमा भइरहेको बन्द–हडताल र त्यसले जनता तथा देशको हित प्रतिकूल पारेका चौतर्फी असरबारे गम्भीर हुन मैले आन्दोलनरत पक्षलाई आग्रह गरेको थिएँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक