गोर्खा अनलाइन रेडियोको नयां वर्ष शुभकामना सांझ

12967303_10154100070249282_3171976297707602906_o
लन्डन । गोर्खा अनलाइन रेडियोले गत अप्रिल ९ तारिख शनिबार लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज हलमा नयां वर्ष शुभकामना सांझ २०७३ आयोजना गरेको छ ।

बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बेलायतमा गरिने नेपाली कार्यक्रमहरुमा सबैभन्दा छोटो मन्तब्य राखेर कार्यक्रम सञ्चालन गरिएको सम्भवतः यो नै पहिलो रहेको दावी आयोजकको छ ।

कार्यक्रममा अतिथिका रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनए संस्थापक सचिव तथा नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरन्जिवी ढकाल, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायतको उपस्थिति थियो ।

सांझ ७ बजे शुरु भएको औपचारिक कार्यक्रम उद्घाटन कार्यवहाक राजदूत क्षेत्रीसहित अन्य अतिथिहरुद्वारा दीप प्रज्वलन गरी शुभारम्भ भएको थियो । गोर्खा अनलाइन रेडियोका सञ्चालक नरेन्द्र बस्नेतद्वारा सञ्चालन गरिएको पहिलो चरणको कार्यक्रममा नेपाल तथा बेलायतका राष्ट्रिय गीत बजाइएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत क्षेत्रीले शुभकामना दिंदै नयां वर्ष वि.स. २०७३ प्रेरणादायी बनोस् भन्ने कामना गरे । उनले गत वर्ष भूकम्पले पुरयाएको क्षतिलाई यस वर्षले पूर्णता दिनेछ भन्ने आशा पनि व्यक्त गरे ।

कार्यक्रममा अतिथिहरु चिरन्जिवी ढकाल र कुल आचार्यले शुभकामना मन्तव्य दिंदै यस्ता कार्यक्रमबाट भावी पुस्ताहरुलाई आफ्नो कला संस्कृति र परम्परालाई निरन्तरता दिन प्रेरणा मिल्नुका साथै नेपाली संस्कृतिको पनि जगेर्ना हुने बताए । उनीहरुले मिडियाद्वारा गरिएको यस किसिमको कार्यक्रमको प्रशंसा पनि गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु सुजन पराजुली, दिव्यानी शर्मा, विजय घिमिरे र कपिल गौतमले सुमधुर गीत प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए भने डिजे चांद लामाको डिजेइंगमा सहभागी अबेरसम्म नाचे ।

दोस्रो चरणको कार्यक्रम सञ्चालन सुजन पराजुलीले गरेका थिए । कार्यक्रममा प्रसुना कंडेल, दीपा गिरी थापा, रश्मी गौतमले नृत्य प्रस्तुत गरेका थिए भने युक्ती बिमलीले चौबन्दीमा पटुकी बोलको गीत गएर मन्त्रमुग्ध पारेकी थिइन् । त्यस्तै बच्चाहरुको तर्फबाट बेन्सन बस्नेत र टिया आचार्यले रेशम फिलिली… गीतमा नृत्य प्रस्तुत गरे । सुजन पराजुली र दिव्यानी शर्माले आधा बाटो हिंडेपछि तिमीसंग भेट भयो… बोलको गीत गएर मनोरन्जन दिलाए ।

एकसय पचासभन्दा बढि सहभागी उक्त शुभकामना सांझमा पत्रकारहरुसहित व्यवसायी तथा सामाजिक अगुवाहरुको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रममा गीत संगीतसहित लक्की ड्रको पनि व्यवस्था गरिएको थियो । उक्त लक्की ड्रका लागि रारा क्याटरर्स, फोर व्हिलर्स लिमिटेड हन्स्लो, गोर्खा स्टोर्स फेल्थम, ब्लू अर्किड रेस्टुरेन्ट नर्थहल्ट, द हेयरपोर्ट हेयर एण्ड ब्यूटी सैलुन, खुकुरी बियर, गोर्खा दरवार फेल्थाम, काठमाडौं जोन रेस्टुरेन्ट हन्स्लोले पुरस्कार प्रायोजन गरेका थिए ।

कार्यक्रममा गोर्खा रेडियोले कार्यबहाक राजदूत क्षेत्रीको योगदानको कदर गर्दै उनलाई मायाको चिनो प्रदान गरेको थियो भने कलाकारहरुलाई गोर्खा रेडियोको तर्फबाट क्षेत्रीले प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रकाश केसीले स्टुडियोको सम्पूर्ण व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री