
काठमाडौँ, २६ चैत । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले तत्काल निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिएको चार महिना पूरा हुँन लाग्दासमेत चमेलिया जलविद्युत् आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।
लेखा समितिले गत पुस १२ गते सो आयोजनाको काम तत्काल अगाडि बढाउन र कुनै पनि बहानामा काम नरोक्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । तर चमेलियाको काममा हालसम्म कुनै ठोस प्रगति हुनसकेको छैन ।
प्रसारण लाइनमा रहेको विवाद समाधान भएर निर्माण सम्पन्न हुन लाग्दा समेत सिभिलतर्फको काममा भने कुनै प्रगति हुन सकेको छैन । आयोजनाको ८४३ मिटर सुरुङ खुम्चिएको विषय नै बढ्ता चासोमा रहेको भए पनि नेपाल विद्युत् प्राधिकरणले समस्या समाधान गर्नेतर्फ पहल नगरेको गुनासो समेत आउन थालेको छ ।
खुम्चिएको सुरुङमध्ये ६११ मिटर पुनःनिर्माण भइसकेको र बाँकी रहेको २३२ मिटर सुरुङ तत्काल मर्मतसम्भार गर्न समितिले दिएको निर्देशन प्राधिकरणले अटेर गरेको समेत अथ्र्याउन थालिएको छ । प्राधिकरण सञ्चालक समितिले सुरुङ खुम्चिएको विषयमा तत्काल ७५ प्रतिशत भुक्तानी दिने र काम अगाडि बढाउन गरेको आग्रह चिनियाँ ठेकदार कम्पनीले अस्वीकार गरेको बुझिएको छ । चिनियाँ ठेकदार कम्पनी गेजुवाले प्राधिकरणको प्रस्ताव अस्वीकार गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा कुनै निर्णय गरेको छैन ।
ठेकेदारले सुरुङ खुम्चिएको विषयमा रु एक अर्ब नौ करोड रकम भेरियसनबापत उपलब्ध गराइदिन आग्रह गरेको थियो । विसं २०७१ असार ६ गते भेरियसन अर्डरबाट समय र लागत बढाइदिन आग्रह गरेको र सो माग गलत भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।
आयोजनाका कर्मचारी अजय दाहालकाअनुसार इलेक्ट्रो मेकानिकलको काम अन्तिमचरणमा पुगेको भए पनि सिभिलतर्फको काम सम्पन्न नहुँदा समस्या हुने देखिएको छ । विद्युत्गृहदेखि कैलालीको अत्तरियासम्मको १३२ केभी क्षमताको १३१ किलोमिटर प्रसारण लाइन आगामी दश दिनभित्र सम्पन्न हुने छ ।
अपि हाइड्रोले निर्माण गरेको नौगाड जलविद्युत् आयोजना चमेलियाको प्रसारण लाइनमा जोडिएको छ । जसका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत्भार कटौती अन्त्य भएको बताइएको छ । डडेल्धुरामा रहेको वन तथा मुआब्जाको विषयमा रहेको विवाद समेत अन्त्य गरेर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि आयोजनाको प्रमुख काम नै अगाडि नबढ्दा समस्या उत्पन्न भएको छ ।
दाचुर्ला, बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको अत्तरियामा दुई साताभित्र प्रसारण लाइन जोडिने दाहालले जानकारी दिनुभयो ।
यस्तै आयोजनाकै अर्का कर्मचारी पुष्पराज जोशीका अनुसार सुरुङ खुम्चिएको विषयमा प्राधिकरणले नै ठोस निर्णय गरेर काम अगाडि बढाउनुपर्छ । ठेकेदारलाई कसरी काममा लगाउने भन्ने विषयमा परामर्श जारी रहेको उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी आयोजनाका सम्बन्धमा देखिएको विवादित विषयमा मूल्याङ्कन गरेर भुक्तानी दिने र काम अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको बताउनुहुन्छ ।
ऊर्जा मन्त्रालयले आगामी सात महिनाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेको जनाएको छ । लेखा समितिको बैठकमा ऊर्जा सचिव सुमनप्रसाद शर्माले आयोजनाका अरु काम अगाडि बढिरहेको र सुरुङ खुम्चिएको विषयमा प्रष्ट निर्णय आउने वित्तिकै आयोजना सम्पन्न हुने जानकारी गराउनुभएको थियो ।
इन्धनको अभावमा केही समस्या परेको भए पनि पछिल्लो दिनमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयको समन्वयमा आयोजनाले इन्धन पाएको तथा हाइड्रोमेकानिक र इलेक्ट्रोमेकानिकल ठेकेदारले काम लगभग सम्पन्न गर्ने चरणमा पुरयाएको छ ।
प्राधिकरणले सन् २००६ को ठेक्का सम्झौतामा उल्लेख नभएको नयाँ कामका लागि ६ वर्षअघिको मूल्यमा काम गर्न नमानेको भन्दै सन् २०१३ को प्रचलित दरअनुसार काम दिएको र अग्रिम भुक्तानी मात्र दिएको जनाएको थियो । आयोजनाको भेरिएसन अर्डरबापत रु ८२ करोड ९३ लाख मात्रै भुक्तानी दिनुपर्नेमा प्राधिकरणले रु एक अर्ब नौ करोड भुक्तानी दिन लागेको थियो ।
दार्चुलाको शिखर गाविस– ४ बलाँचस्थित निर्माणाधिन सो आयोजना सन् २००६ को जनवरीबाट निर्माण सुरु भई सन् २०११ को मेमा सम्पन्न हुनुपर्ने थियो । पटक–पटक भेरियसन हुँदा सो आयोजनाको लागत रु १५ अर्ब ६ करोड पुगेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने