
नेपाली सेनाले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको घोडेजात्रामा घोडाबाट विभिन्न खेल प्रदर्शन गर्दै नेपाली सेनाका जवानहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको परम्परागत घोडेजात्राको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपतिसमेत हुनुहुन्छ ।
सो अवसरमा सो जम्प, ड्रिल राइड, गु्रप टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्यान्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग सो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिएको थियो । साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत सो अवसरमा प्रस्तुत गरियो । नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरेको थियो ।
समारोहमा राष्ट्रपति भण्डारीले म्युजिकल राइडर र सो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।
नेपालमा घोडे जात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर यो अवसरमा घोडाको कौशल एवम् रोमाञ्चक खेल प्रस्तुत गर्ने गरिन्छ । मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको छ । महाभारतकालीन ठूला युद्धमा समेत घोडाको प्रयोग भएको इतिहास छ ।
काठमाडौँमा मनाइने घोडे जात्राको भने आफ्नै रोचक कथा छ । टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । त्यसबाट पीडित सहरवासीले उसलाई मारे तर फेरि पनि प्रेतात्मा जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ ।
सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ । सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सभामुख ओन्सरी घर्ती समारोहमा उपस्थित भई घोडेजात्रा कार्यक्रमको अवलोकन गर्नुभयो ।
समारोहमा उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा हेर्न सैनिक मञ्च टुँडिखेल पुग्नुभएको थियो ।
अपराह्न ३ बजेदेखि सुरु भएको सो घोडेजात्रा हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । नेपाली सेना मातहत रहेको श्री नेपाल क्याभलरी युनिटले प्रत्येक वर्ष टुँडिखेलमा हुने घोडेजात्राको संयोजन गर्दै आएको छ । घोडेजात्रा समारोहमा प्रदर्शन गरिने घोडा दौड तथा अश्वकलामा नेपाल क्याभलरीका घोडाको प्रयोग हुने गर्दछन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम