
काठमाडौँ, २५ चैत । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।
त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् ।
तीमध्ये मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाइँदैछ । आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले आठ हजार १६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो ।
सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गर्नुभएको थियो । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स राइस र लुच सिङ्गरले ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो ।
मनास्लु आरोहण गर्ने चारमध्ये एकमात्र जीवित ९० वर्षीया जापानी आरोही हिगेता महोत्सवमा सहभागी हुन नेपाल आउँदैहुनुहुन्छ, अन्य तीनजनाको निधन भइसकेको छ । हिगेताँसँगै जापानी मिडिया तथा माउन्टेनरिङ फेडेरेसनलगायतका ८७ जना जापानी आरोहीहरु नेपाल आउँदैछन् ।
ल्होत्से चड्ने स्विस नागरिक जीवित भए पनि उहाँहरुको प्रतिनिधित्व गरेर अन्य आरोही नेपाल आउँदैछन् । समारोहमा यहाँस्थित स्विस राजदूतले प्रतिनिधित्व गर्नुहुनेछ ।
भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि हीरक महोत्सव निकै उपयोगी हुने सम्बद्ध अधिकारी बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्पपछि पर्यटक घटिरहेको अवस्थामा दुई हिमालको हीरक महोत्सवले आरोहीलाई पनि प्रोत्साहन र विश्वका पर्यटकलाई नेपाल घुम्न जानुपर्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।
“नेपालको पर्यटन भनेकै हिमाल हो, त्यसैले ६० वर्षअघि मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका आरोही नै यहाँ आएर हीरक महोत्सवमा सहभागी हुने भएकाले यसको आफ्नै गरिमा र महत्व हुन्छ” – हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका सचिव राईले भन्नुभयो ।
काठमाडौँमा आयोजना गरिने महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हालैको मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन गरिएको हो । महोत्सवको सहयोगका लागि विभिन्न क्षेत्रका ४४ वटा संस्था छनोट भएका छन् । महोत्सवको तयारीस्वरुप मूल समितिले उपसमितिहरु गठन गरी काम अघि बढाएको सचिव राईले जानकारी दिनुभयो ।
नेपाल सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर फैलाउन महोत्सवले सहयोग पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो ।
हीरक महोत्सवका लागि विभिन्न मुलुकबाट आरोही तथा मिडियाहरु आउनेछन् ।
मूल आयोजक समितिको सदस्य सचिव संस्था एनएमएका अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म बेलायत, जर्मन, जापान, स्विट्जरल्यान्डलगायतका देशबाट सहभागी हुने जानकारी गराइसकेका छन् ।
नेपालले विश्वभरका १०० भन्दा बढी अल्पाइन क्लब र त्यसका छाता सङ्गठनहरुलाई हीरक महोत्सवमा सहभागिताका लागि आग्रह गरिएको शेर्पाले उल्लेख गर्नुभयो ।
मे ९ मा काठमाडौँमा मात्र नभई गोरखा र मनास्लुको फेदी सामा गाउँमा पनि विविध कार्यक्रम गरी मनाइन्छ । काठमाडौँको कार्यक्रम सकेर जापानी आरोहीहरु मनास्लु क्षेत्रको ट्रेकिङ गर्ने बताइएको छ । यसअघि सन् २०१३ मा सगरमाथा र चो–यु हिमालको हीरक महोत्सव मनाइएको थियो । आगामी नोभेम्बर १९ मा मकालु र कञ्चनजङ्घाको हीरक महोत्सव मनाइने जनाइएको छ ।
एनएमएको विवरणअनुसार हालसम्म मनास्लुको एक हजार ४७ र छोयुको ६०७ जनाले आरोहण गरिसकेका छन् । सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । नेपालमा पाँच हजार ८०० मिटरभन्दा माथिका ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने