शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: ०८:०१ | UK Time: 02:16

के विदेशमा बस्ने नेपाली तेस्रो दर्जाका नागरिक हुन् ?

वीनेपाली
२०७२ चैत २१ गते १४:२४
डा. बच्चुकैलाश कैनी

डा. बच्चुकैलाश कैनी

केही समय पहिले फागुनको पहिलो हप्तातिर मैले अनलाइन डट कममा एउटा लेख के नेपाल फर्कने पक्कै हो त रु लेखेको थिएँ । उक्त लेख पढेपछि नेपालका एक जना परिचित मित्रले भनेका थिए ‘विदेशमा गएर तेश्रो दर्जाको नागरिक भएर बस्नु भन्दा नेपालमा नै बस्नु राम्रो ।’ त्यस्तै अर्को मित्रसंग यसै हप्ता फोनमा उक्त लेखको प्रसंगमा कुरा गर्दा उनले पनि उही कुरा गरे । हुन त नेपाल बस्ने कतिपय मानिसहरु मेरो मित्रको यो अभिव्यक्तिसंग सहमत हुनु हुन्न होला ।

त्यसो त यो वाक्य ‘विदेशमा गएर तेस्रो दर्जाको नागरिक वा मानिस भएर बस्नु भन्दा नेपालमा बस्नु राम्रो’ नेपालमा बस्ने अन्य मानिसहरु वा सामाजिक संजालमार्फत केही अन्य व्यक्तिहरुले पनि उल्लेख गरेको पाएको छु । यो कुराले मेरो मनलाई धेरै पटक छोएको छ । विगत दश वर्षदेखि म पनि नेपाल छोडेर सपरिवार विदेशी भूमिमा बस्दै आएको छु । यसै सन्दर्भमा मैले विदेशी भूमिमा भोगेका र मलाई मेरो मनमा लागेका मेरा नितान्त व्यक्तिगत विचारहरु यस लेख मार्फत राख्न चाहन्छु । यो लेख पढने पाठकहरुलाई यो लेखसंग सहमत नै हुनुपर्छ भन्ने पनि छैन ।

प्रथमतः विश्वव्यापीकरणको आजको युगमा एक देशका नागरिकहरु अर्को देशमा कुनै काम विशेषले जानु अस्वाभाविक होइन । आर्थिक लाभका उद्धेश्य लिएर विदेश जानु, अध्ययनका लागि विदेश जानु, पारिवारिक वा ब्यक्तिगत सुख, सुविधा वा सम्पन्नताका लागि विदेश जानु वा पेशागत कामका लागि विदेश बस्नु व्यक्ति, समान वा राष्ट्रका लागि अहित गर्ने कुरा हो जस्तो मलाई लाग्दैन । यदि विदेशमा बसेर वा देशभित्रै रहेर पनि आफ्नो देश र समाजको लागि अहित हुने कुनै काम गरेको छ भने यो कसैलाई पनि मान्य हुँदैन । विदेशमा बसेर ज्ञान, सीप, अनुभव वा अर्थ आर्जन गरिरहेको छ र आफ्नो देश र समाजलाई कुनै न कुनै रुपमा योगदान गरेको छ वा गर्न सक्छु भन्ने छ भने यो सबैले प्रसंशा गर्नु पर्ने पक्ष हो । मानौ कोही व्यक्तिले राष्ट्र वा समाजका लागि कुनै पनि थप योगदान दिन सकेको छैन, तथापि उ विदेश बसेर आर्थिक रुपमा आफू र आफ्नो परिवारलाई सबल र सक्षम बनाएको छ भनै त्यसलाई नकारात्मक रुपमा लिनु पर्ने कुनै कारण देख्दिनँ । यसको अर्थ उसमा देशभक्ति नै छैन भन्ने पनि होइन । राष्ट्रप्रेम भावना हो, भक्ति हो, राष्ट्रका लागि गरिने कर्म हो । यो दृश्य वा अदृश्य, प्रत्यक्ष वा परोक्ष जे पनि हुन्छ । नेपाल जस्तो विकासशील मुलुकले अरु देशको विकास, प्रविधि, अनुशासन, लगनशीलता र परिश्रमबाट सिक्नु पर्ने धेरै पाठहरु छन् । यी कुराहरु आफुले सिकेर कम्तिमा आफ्नो जीवनमा लागु गरी क्रमशः समाज र देशका लागि पनि केही योगदान गर्न सकियो भने त्यो नै सन्तोषको विषय पक्कै बन्नेछ ।

आफ्नो स्वेच्छा होस वा बाध्यता, कुनै न कुनै कारणले बिदेशमा बस्दैमा विदेशको तेस्रो दर्जाको नागरिक वा मानिस होइन्छ भन्ने कुरामा म सहमत छैन । मैले बुझेसम्म तेस्राे दर्जाको मानिस वा नागरिक भनेको त्यो मुलुकको सबैभन्दा तल्लो स्तरको मानिस हो । जसरी नेपालमा धनी र गरीब बिचमा ठूलो भिन्नता छ, विदेशमा पनि त्यो असमानताको अवस्था कायम नै छ । फरक यति मात्रै हो, असमानताको दुरी कुनै देशमा बढी हुन्छ भने कुनै देशमा कम । विकसित देशमा दह्राे सामाजिक सुरक्षा र प्रत्याभूतिका कारण नागरिकले भोकै बस्नु पर्ने अवस्था छेैन, यद्यपि विकसित मुलुकमा पनि धनी, गरीब, शिक्षित, अशिक्षित, रोजगार, बेरोजगार आदि सबै प्रकारका मानिसहरु पाइन्छन् । विदेशमा बसेर पनि कतिपय नेपालीको आर्थिक अबस्था त्यहि देशमा जन्मे हुर्केका नागरिकको भन्दा पनि सबल छ । आर्थिक अवस्था कमजोर भएतापनि तेस्रो दर्जाको नागरिक भएर बस्नु पर्ने अबस्था छेैन । यो भन्दा पनि अर्को महत्वपूर्ण कुरा, नेपालीले जुन प्रकारको कडा परिश्रम, मेहेनत, इमान्दारिता र लगनशीलता देखाएका छन्, यो पक्कै पनि प्रशंसनीय छ । अपवाद जुनसुकै देश र समाजमा पनि हुन्छ । तर, समग्रमा विदेशमा बसेर नेपालीले आफ्नो पहिचान र मनोबल गुमाउनु पर्ने कुनैपनि अवस्था र बाध्यता छैन र हुने पनि छैन । जहाँ परिश्रम र काम अनि इमान्दारिताको कदर हुन्छ, त्यहाँ नेपाली तेस्रो दर्जाको नागरिक भएर बस्नु पर्ने कुनै बाध्यता र आवश्यकता छैन ।

विदेशमा बस्दा कहिलेकाहीं आफ्नो पराम्परा, धर्म, संस्कृति, सामाजिक मान्यता र संस्कारबाट टाढा रहेको महसुस हुन्छ । तथापि यो अवस्था र परिस्थितिले धेरै हदसम्म कोल्टे फेरेको छ । नेपालीहरुले विदेशमा बसेर सामूहिक जमघट, भेटघाट गरी आ-आफ्नो धर्म र संस्कृति अनुसारको कार्यक्रम गर्ने चलन बढ्दो छ । नेपालीहरुको संघ, संस्थाहरु गठन हुने क्रम विश्वको विभिन्न मुलुकमा बढ्दो छ । यसले विदेशमा बसेर पनि आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने र आफ्ना सन्ततिलाई पनि सिकाउने काम भईरहेको छ । मलाई लाग्छ, धर्म, संस्कृति र परम्पराका कारणले पनि हामी विदेशमा तेस्रो दर्जाको नागरिक भएर बस्नु पर्ने अवस्था छैन । हामीले देखे सुनेकै कुरा हो, नेपालमा बसेर पनि कतिपय मानिसले धर्म, संस्कृति र परम्परालाई वास्ता नगरेको र विदेशमा बसेर यसका लागि योगदान दिएका उदाहरणहरु पनि छन् । नेपालमा बस्ने हाम्रा कतिपय दाजुभाइ दिदीबहिनीहरु जातीय विभेद, सामाजिक कुरिति, परम्परागत अन्धविश्वास र कुसंस्कारका कारण आफ्नै देशभित्र तेस्रो दर्जाको नागरिक भएर बाँच्नु परेको तीतो सत्य र यथार्थ हामी कसैको सामु लुकेको छैन । यस प्रकारको कुरितिका विरुद्ध नेपालमा आफूलाई पहिलो दर्जाको नागरिक ठानेर बस्नेहरुले सोचेमा कति सुन्दर हुनेछ । यसका लागि हामीले पनि केही योगदान दिन सकेमा पक्कै सुनमा सुगन्ध हुने थियो ।

कानूनी, सामाजिक वा नैतिक रुपमा हेर्ने हो भनेपनि कुनैपनि देशमा नागरिक वा वासिन्दालाई पहिलो, दोस्रो वा तेस्रो दर्जाको रुपमा वर्गिकरण गरेको पाईदैन । यसरी वर्गिकरण गर्नु गैरकानूनी हो । जहाँसम्म अरु कसैले हामीलाई हेर्ने दृष्टिकोण वा हामी प्रति गर्ने व्यबहारको कुरा छ, यो केही व्यक्ति मात्रमा पाइने अपवादको कुरा हो र खास चरित्र भएका व्यक्तिमा भर पर्ने कुरा हो । यस्ता चरित्र भएका केही नगन्य असामान्य व्यक्तिहरु जुनसुकै समाजमा पनि पाइन्छ । नेपालमा नै बसेर पनि कतिपय नेपाली नागरिकहरुले नेपालीबाट नै हेपिनु परेको वास्तविकता जोकोहीलाई पनि ज्ञात भएको तथ्य हो । तसर्थ समग्र रुपमा हामीलाई के कसरी हेरिन्छ, त्यस अनुसार मुल्यांकन गर्नु पर्छ ।

पढेलेखेका नेपालीहरु विदेशमा बस्दा बौद्धिक पलायन भएको, राष्ट्रको ठूलो ढुकुटी खर्च गरी अध्ययन गर्ने दक्ष जनशक्तिले राष्ट्र विकासको लागि महत्वपूर्ण योगदान दिन नसकेको आदि तर्कका सम्बन्धमा सकारात्मक र नकारात्मक दुबै पक्षमा चर्चा र बहस गर्न सकिन्छ । तथापि विदेशमा बस्ने प्राय सबै नेपालीहरुले कुनै न कुनै रुपमा आफ्नो देशलाई योगदान पुर्याइरहेको पक्षलाई नकार्न सकिँदैन ।

मेरो यो लेखको आशय हामी विदेशमा बसेर पहिलो दर्जाको विशिष्ट नागरिक भइबसेका छौं भन्न खोजेको हैन । मेरो आशय त विदेशमा बसेर पनि नेपालीले समग्र रुपमा सम्मानजनक रुपमा आफ्नो कर्मक्षेत्रमा लगनशील र इमान्दार भई काम गरेका छौ र विदेशी भूमीमा तेस्रो दर्जाको नागरिकका रुपमा हैन कि एउटा नेपालीको रुपमा आत्मसम्मानलाई उच्च राख्ने काम गरेका छौ भन्ने हो । आजलाई तथास्तु, पछि फेरी अर्को लेखमा भेटौला ।

(लेखक क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनमा वरिष्ठ ब्यबस्थापक र डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर साथै ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको असोशियट लेक्चरर हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक