काँग्रेसमा खुला र आरक्षणमा पुरानैको वर्चस्व

congress

काठमाडौँ, ३० फागुन । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खुला र आरक्षणका अधिकांश पदमा पुरानै अनुहारको वर्चस्व कायम भएको छ ।

पार्टीको १३औँ महाधिवेशनअन्तर्गत यही फागनु २३ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म पदाधिकारीसहित सदस्य गरी २५ जनाको प्राप्त मतपरिणामअनुसार विजयी घोषणा भएका नेताहरुमध्ये अधिकांश अघिल्लो केन्द्रीय समितिका पदाधिकारी र सदस्य नै छन् ।

खुला २५ सदस्य र १४ प्रदेश सदस्यको मतपरिणाम भने आउने क्रम जारी छ । आइतबार रातिसम्म ती पदहरुको पनि मतगणना सम्पन्न हुने गरी कार्य अघि बढाइएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।

यस महाधिवेशनमार्फत केन्द्रमा आउन कोसिस गरेका नयाँ अनुहार भने अधिकांश पराजित भएका छन् । शनिबार सम्पन्न महिला, मधेसी, जनजाति र दलिततर्फको नतिजा हेर्दा अघिल्लो समितिका सदस्यको वर्चस्व कायम रहेको देखिएको छ । आरक्षणमा पनि पुरानै अनुहार हाबी छ ।

महिलाको छ आरक्षण कोटामा निर्वाचित डा डिला सङ्ग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपानेमध्ये सङ्ग्रौला र प्रसाईंबाहेक चारैजना यसअघिको केन्द्रीय समितिका सदस्य हुनुहुन्थ्यो ।

मधेसीतर्फ विजयी हुनुभएका अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादवमध्ये रामकृष्णबाहेक दुवैजना यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

त्यस्तै, मधेसी महिला कोटाबाट निर्वाचित किरण यादव र पार्वता डिसी चौधरीमध्ये यादव मात्र नयाँ अनुहार हुनुहुन्छ । आदिवासी जनजातितर्फको आरक्षण कोटामा निर्वाचित चिनकाजी श्रेष्ठ, बहादुरसिंह लामा र कल्याण गुरुङमध्ये लामा पहिलोपटक केन्द्रीय सदस्य बन्नुभएको हो । आदिवासी जनजाति महिलातर्फ निर्वाचित सीता गुरुङ र रत्ना शेरचन दुवै यसअघिका केन्द्रीय सदस्य हुनुहुन्छ । मुस्लिम कोटामा निर्वाचित हुनुभएका फर्मुल्ला मन्सुर पनि यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

दलिततर्फ केन्द्रीय सदस्यमा निर्वाचित जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा तीनैजना पुराना अनुहार हुनुहुन्छ भने दलित महिलातर्फ निर्वाचित लक्ष्मी परियार र सुजाता परियारमध्ये लक्ष्मी मात्र केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश गर्नुभएको हो ।

विसं २०५३ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवशेनपछि मात्र काँग्रेसमा केन्द्रीय सदस्यको निर्वाचन हुने प्रावधान सुरु भएको हो । त्यसभन्दा अघि सभापतिको मात्र निर्वाचन हुन्थ्यो र कार्यसमितिको मनोनयन सभापतिले नै गर्ने वैधानिक व्यवस्था थियो ।

नवौँ महाधिवेशनमा प्रत्येक विकास क्षेत्रबाट एक एकजनाका दरले केन्द्रीय सदस्य निर्वाचित हुने र सभापतिले आवश्यकताअनुसार केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था भयो ।

विसं २०५७ मा पोखरामा सम्पन्न १०औँ महाधिवेशनपछि काँग्रेसले सभापति र १८ जना केन्द्रीय सदस्य निर्वाचित हुने र १८ जना केन्द्रीय सदस्य सभापतिबाट मनोनीत हुने व्यवस्था लागू गरेको हो ।

काठमाडौँमा सम्पन्न १२औँ महाधिवेशनले पहिलोपटक समावेशीसहित ८५ जना केन्द्रीय समिति रहने व्यवस्था गरयो जसमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यको निर्वाचन हुने र बाँकी सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था गरिएको हो ।

मतगणना जारी रहेका खुला केन्द्रीय सदस्य र प्रदेश केन्द्रीय सदस्यमा पनि पुराना अनुहारको बोलवाला कायम छ । खुला केन्द्रीय सदस्यको हालसम्म प्राप्त मतगणनाअनुसार खुमबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, केवी गुरुङलगायत यस अघि पटकपटक केन्द्रीय रहिसकेकाहरु नै अग्रस्थानमा रहनुभएको छ ।

त्यस्तै, प्रदेश केन्द्रीय सदस्यमा पनि पुरानै अनुहारको बाहुल्यता छ । पार्टीको केन्द्रीय प्रवक्ता रहिसक्नुभएका दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सङ्गठन विभाग प्रमुख रहिसक्नुभएका आनन्दप्रसाद ढुङ्गाना, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गुरुराज घिमिरे, पार्टीको केन्द्रीय सदस्य रहिसक्नुभएका भीष्मराज आङदेम्बेलगायत हस्तीहरु प्रदेश केन्द्रीय सदस्यका प्रतिस्पर्धी हुनुहुन्छ ।

हालसम्मको मतगणताअनुसार उल्लिखित नामहरु नै अग्रस्थानमा देखिएका छन् । पार्टीको केन्द्रमा दरिलो हैसियत बनाएकाहरु यस निर्वाचनमा प्रदेश केन्द्रीय सदस्यका उम्मदेवार हुनुमा भविष्यमा बन्ने पार्टीको प्रदेश समितिको प्रमुख बन्ने उद्देश्य रहेको देखिन्छ । यसअघि पार्टीको पदाधिकारीको सम्पन्न मतगणनाअनुसार सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री