बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: २३:१२ | UK Time: 17:27

अढाइ शताब्दी पुरानो भैरब नृत्य प्रदर्शनमा

वीनेपाली
२०७२ फागुन २९ गते १०:४६
पोखरामा प्रर्दशन गरिएको अढाइ शताब्दी पुरानो भैरव नृत्यमा सहभागी हुँदै कलाकार । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

पोखरामा प्रर्दशन गरिएको अढाइ शताब्दी पुरानो भैरव नृत्यमा सहभागी हुँदै कलाकार । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

पोखरा, २९ फागुन । संरक्षणको अभावमा नेपालका कतिपय प्राचीन कला र संस्कृति लोप भइसकेका छन् तर पोखराका जनताले भने दुई शताब्दीभन्दा पनि पुरानो भैरब नृत्यलाई निरन्तरता दिँदै आएका छन् ।

प्राकृतिक रुपले सुन्दर पोखरालाई सांस्कृतिक रुपमा पनि आकर्षक स्थलका रुपमा विकास गर्ने सोचका साथ बाह्र भैरब नृत्यलाई पोखरावासीले निरन्तरता दिँदै आएको छ । स्थानीयवासी एवम् भैरब नृत्य २०७२ उपसमितिका सदस्य उदयबहादुर अमात्यका अनुसार करिब २५० वर्ष पहिले भक्तपुरका केही नेवार पोखरामा बसोबास गर्न आएसँगै उनीहरूले यो नृत्य पोखरा भित्र्याएको हो ।

तत्कालीन अवस्थामा २६ कुरिया घरपरिवारसहित पोखरामा आएका नेवारले आपूmसँगै विभिन्न संस्कृति भित्र्याउनुका साथै धार्मिक मान्यताअनुसारका मन्दिर, चैत्य, विहार बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार भीमसेनटोलको भीमसेन मन्दिर र भैरबटोलको भैरब मन्दिर यसका ज्वलन्त उदाहरण हुन् । यिनै मन्दिरसँगै आराध्यदेव महादेवको रौद्र रुप भैरबको नाच परम्परा अहिलेसम्म पनि जीवितै रहेको छ ।

भैरब नाचमा बाह्रजना नर्तक भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी, गणेश, दागिनी (पार्वतीको रुप) भुच्चा र कवा भई नृत्यस्थलमा आउँछन् । यी भैरब गणका पात्रहरु विभिन्न शास्त्रीय गीत, सङ्गीत, वाद्यवादनको तालमा आफ्ना हाउभाउ र कटाक्ष देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्छन् ।

पोखरामा ६÷६ वर्षको अन्तरालमा प्रस्तुत गरिने यो नाच सामान्यतः बेलुकीपख सुरु भएर मध्यरातमा समापन गरिन्छ । नाच सुरु हुनुअघि नर्तकहरु भैरबटोलमा अवस्थित भैरब मन्दिरबाट मुकुट पहिरी हिँड्दै नाच्दै नृत्य प्रदर्शनका लागि माग गरिएको र तोकिएको स्थानमा आइपुग्ने अमात्यले जानकारी दिनुभयो ।

उनीहरु आइपुग्नासाथ नृत्य आमन्त्रण गरेको व्यक्ति वा संस्थाका सदस्यले भैरब र भैरब गणको पूजाआजा र आराधना गर्ने प्रचलन छ । नृत्यस्थलमा इच्छुक जो कोही पनि विधिवत् रुपले पूजा गर्न सकिने र पूजाआजाका क्रममा पनि मधुर वाद्यवादनमा नर्तकहरु नाचिरहने गर्दछन् । नृत्य प्रदर्शन एक मनोरञ्जनात्मक क्रियाकलापभन्दा पनि विशेष धार्मिक क्रियाकलापका रुपमा रहेको उहाँ बताउनुहुन्छ । उक्त क्षणमा नाच्ने नृत्यलाई ‘गंछि प्याखँ’ भनिन्छ ।

‘गंछि प्याख’ ले सम्पूर्ण गण नाचमा सहभागी छन् भन्ने अर्थ दिन्छ । पूजा समाप्त भएपछि चरण चरणमा विभिन्न नृत्य सम्पन्न गरिन्छ । पहिलो चरणमा भैरब र दुई बालकलाकार भुच्चा र कवाको नृत्य हुन्छ जसलाई ज्योति नृत्य भनिन्छ ।

दोस्रो चरणमा चार भैरबको नृत्य हुन्छ जसमा भैरब, काली, इन्द्रायणी, बाराही हुन्छन् भने लगत्तै तेस्रो चरणमा चार देवी कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी (गाजू) दाहिने हातमा डमरु लिएर नृत्यमा संलग्न हुन्छन् ।

चौथो चरणमा गणेश एक्लै दाहिने हातमा सानो बञ्चरो लिएर आकर्षक नृत्य गर्छन् । यस पछि पाँचाँ चरणमा दुई बाल कलाकार भुच्चा र कवाको नृत्य हुन्छ भने अन्तिम चरणमा दागिनी एक्लै एक हातमा चिराग र एक हातमा कलः (पूजा सामग्री राख्ने भाँडो) लिएर नृत्य गर्छिन् ।

विभिन्न चरणको नाच सम्पन्न गर्न सामान्यतया चार÷पाँच घन्टा लाग्ने र सङ्गीत तथा गायनको ढाँचा पनि फरक फरक हुने पोखराको भैरब नृत्यका मूल गुरु कृष्णबहादुर वैद्यले बताउनुभयो ।

उहाँका अनुसार नेपालको काठमाडौँ, भक्तपुर लगायतका स्थानमा हुनै भैरब नृत्य र पोखराको भैरब नृत्य भिन्नभिन्न किसिमका रहेका छन् । यो नाच पहिले पहिले बाह्र्र वर्षमा एकचोटि देखाउने गरिएकामा २०२९ सालदेखि संस्थागत रुपले व्यवस्थित गर्दै ६÷६ वर्षमा देखाउन थालिएको प्रचार समितिका संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस नाचको सञ्चालन गर्न भैरब सांस्कृतिक संरक्षण समिति गठन गरी त्यसअन्तर्गत भैरब नृत्य प्रदर्शन व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । छवर्षको अन्तरालमा यसपटक सञ्चालन गरिएको नृत्यका लागि परम्परागत संस्कारअनुसार साइत जुराएर गत माघ ७ गतेदेखि सुरु गरिएको थियो । आगामी चैत २७ गतेसम्म सञ्चालन हुने नाच विभिन्न २० भन्दा बढी ठाउँमा प्रदर्शन गरिसकिएको छ ।

घर, समाज वा टोलमा नाच प्रदर्शन गरे कुनै पनि अनिष्टबाट बच्न सकिने जनविश्वासका आधारमा विभिन्न व्यक्तिले समितिको नियमअनुसार आफ्नो घर तथा टोलमा नाच लैजाने गर्दछन् । यस वर्ष नाचलाई व्यवस्थित गर्न विभिन्न १५ वटा उपसमितिलाई क्रियाशील बनाइएको छ । हरेक पटक नाच देखाउन वाद्यवादक, रागी, नर्तक, स्वयम्सेवक, पुजारी गरेर एकसयभन्दा बढी जनशक्ति एकैचोटि परिचालित हुन्छन् भने यसको नाच निकाल्ने बेलामा २०० देखि २५० जति जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन् ।

नाच सुरु गर्न नै एक–डेढ महिना पहिले नाट्येश्वरको पूजा गरेर तालिमसमेत सञ्चालन गर्न आवश्यक पर्दछ । उक्त तालिम मूल गुरुमार्फत अन्य कलाकारलाई दिइन्छ । नाच सञ्चालनमा यसअघि सर्वज्ञमान प्रधानाङ्गले त्यो जिम्मेवारी बहन गर्दै प्रदर्शनमा सहभागी हुने कलाकारलाई तालिम दिने गर्नुभएको थियो ।

गत वर्ष उहाँको देहावसान भएपछि हाल मूल गुरुको जिम्मेवारी पोखराको तेर्सापट्टी निवासी कृष्णबहादुर वैद्यले सम्हाल्नुभएको छ । उपगुरु भैरब सांस्कृतिक संरक्षण समितिकै अध्यक्ष कृष्णदेव प्रधानाङ्ग हुनुहुन्छ । प्रचार–प्रसार उपसमितिका संयोजक अष्टमान प्रधानाङ्ग बाह्र भैरव नृत्य पोखराको एउटा प्राचीन र अत्यन्त महत्वपूर्ण संस्कृति भएको बताउनुहुन्छ । “आफ्नै विशिष्ट मौलिकता रहेको यो नृत्यको निरन्तरताका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक