अलबिदा सुशील दा

Sushil_Koi

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक मृत्युको खवरले नेपाली काँग्रेसजनहरु मात्र नभै समग्र देशप्रेमी नेपालीहरुलाई मर्माहत बनाएको छ । उनी कस्ता थिए, उनी के थिए, कति साधा थिए, पदका लागि लोभी थिए वा थिएनन्, उनले पछिल्ला दिनहरुमा मुलुकका लागि के कस्ता भूमिका निर्वाह गरे, उनी कति कमजोर थिए, उनी कति शक्तिशाली थिए, उनी कति गुटगतका आशिर्वादक थिए वा थिएनन् आदि आदि भनेर यहाँ लेख्न आवश्यक ठान्दिनँ किनभने यी कुराहरु रेडियोले टिभीले एकदुई हप्तासम्म बजाइरहने छन् ।
मैले सुशील कोइरालालाई २०४२ सालमा काठमाडांै जमलमा पहिलोपटक भेटेको हुँ । त्यतिबेला नेपालमा राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । त्यतिबेला नेपाली काँगे्रसको केन्द्रीय कार्यालय जमलमा प्रतिबन्धित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय भनेर साइन बोर्ड टँगाइएको थियो । त्यो साइन बोर्ड चाहिँ मैले यताउता हिँड्दा हरेक दिनजस्तो हेर्ने गर्थें । मैले उनलाई पहिलोपटक भेट्दा नेपाली काँग्रेसले सत्याग्रह गर्ने भनेर घोषणा गरिसकेको थियो । उनीसंग मेरो पहिलो भेट गराउने ब्यक्ति भने हरिहर विरही हुन् ।
एक बिहानको कुरा हो म लगनटोलको साप्ताहिक विमर्शको कार्यालयमा पुग्दा हरिहर विरही कार्यालय पुगिसकेका रहेछन् । उनी आफू बसिरहेको कुर्सिबाट उठ्दै भने ‘ल हिँड शशीभाइ, म तिमीलाई नै पर्खेर बसेको, हामी आज नेपाली काँग्रेसको कार्यालय जमल जाऔं’ । त्यतिबेला हरिहर विरहीको स्कुटर थियो । म स्कुटरको पछाडी बसें । केही क्षणपछि नै जमल पुग्यौं । नेपाली काँग्रेसको कार्यालय जमलमा भित्र एउटा मध्यम साइजको कोठा जहाँ पदाधिकारीहरु विराज हँुदा रहेछन् र त्यसको बाहिर पट्टी अर्को अलि ठूलो कोठा जहाँ अन्य कार्यकर्तालगायत पदाधिकारीहरुलाई भेट्न जानेहरु र नेपाली काँग्रेसको फुर्सद डुलाउन जानेहरु विराज हुँदा रहेछन् । हामी दुवै भित्र गयौं । हरिहर विरहीलाई विराज हुने आग्रह आइहाल्यो । म भने हरिहर विरहीको बडीगार्ड जस्तै ठिंग उभिरहें । हरिहर विरहीले त्यहाँ न त मेरो परिचय दिए न त कसैले मलाई सोध्ने कष्ट नै गरे । यस्तै लगभग ५ मिनेट बितेको हुँदो हो भित्रबाट एकजना ब्यक्ति बाहिरको कोठामा निस्कें र मलाई उभिरहेको देखेर बस्ने आग्रह गर्दै भने ‘बस बाबु ।’ यो सुनेपछि हरिहर बिरही झस्के र भने, ‘ओ शशीभाइ बस न बस ।’ हरिहर विरहीले शशी भाइ भनेको सुनेपछि ‘ओ शशी पौडेल तिमी नै हो’ भन्दै आफ्नो परिचय दिए ‘म शुशिल कोइराला ।’ मैले त्यतिखेर त्यहाँ विराज नेपाली काँग्रेसजनहरुमध्ये शुशिल कोइराला मात्र एक घमण्ड नभएको मान्छे भनेर चिनेको हुँ । त्यसपछि भने म शुशिल दासंग भेट्न बेलाबेलामा पुग्ने गर्थें । उनले साना वा ठूला कान्छा वा जेठा समान ब्यबहार गर्थे ।
२००६ सालको कुरा हो हामी लण्डनको नजिक क्याम्बर्ली भन्ने ठाउमा बस्थ्यौें । एक राति यस्तै १० बजेतिर ढोकाको घण्टी बज्यो । झ्यालबाट बाहिर गाडी पार्क गर्ने ठाँउमा हेर्न मिल्थो । ढोका खोल्नु अघि मैले त्यहाँ हेरें । त्यहाँ एउटा मैले नचिनेको गाडी उभिएको थियो । अचम्म र संकोच मान्दै ढोका खोलें । ढोका अगाडि त सुशीलदा पो उभिइरहेको । मैले सोधें कसरी यहाँ ? शुशिलदाले उत्तर दिनु अघि नै मैले संगिता ढुंगानालाई देखें र भर्यांगं उक्लिदै गरेका डा सम्पूर्णानन्द ढुंगाना । मैले २०४५ सालमा नेपाल छोडेपछि सुशीलदा संगको यो पहिलो भेट थियो । मैले हाँस्दै भने ‘सुशीलदा तपाइँ त बूढो पो हुनुभएछ’ । उनले जवाफमा भने ‘बूढो म मात्र भएको छैन तिम्रा पनि त कपाल सबै फुलेछन् नी ।’ प्रष्टवक्ता सुशिलले आफूलाई भोक लागेको कुरा खुलाइहाले र भने ‘दाल भात मात्र है ।’ मैले त्यो रात यतै बस्ने आग्रह गरें तर उनी भोलिपल्ट उड्नु पर्ने रहेछ । बेलीबिस्तार गर्दै उनले भने ‘म अमेरिकाबाट फर्किदै हो यहाँका लागि त एकदिन मात्र समय थियो त्यसैले यति राति सम्पूर्णानन्दलाई दुख दिएको । तिमीसंगको पुरानो चिनजान रिन्यु गर्नमात्र आएको’ । लगभग एकबजे राति उनी म कहाँबाट निस्के ।
पछिल्लो पटक मेरो उनीसंग २०११ सालमा लण्डनमा भेट भयो । नेपाली काँग्रेसको गुटगत राजनीतिले चुर्लुम्म डुबेको लण्डने काँग्रसी राजनीतिमा उनलाई लण्डनमा पनि सजिलो थिएन । एउटा गुटले अर्को गुटको पानी बार्ने दवाव दिन्थे भने अर्को गुटले दैलो छेक्थे । एउटाले अर्काको अस्तित्व स्वीकार गर्न आनाकानी गर्थे । बेलायतबासी काँग्रेसीहरुका लागि गुटगत राजनीति गर्नु, अर्को गुटलाई तथानाम गाली गर्नु, नेपालबाट बेलायत पुगेका नेताहरुलाई चिलले कुखुराको चल्ला टिपे जस्तै एयरपोर्टबाट टप्प टिपेर एउटा कुनामा लुकाउनु उनीहरुको प्रजातन्त्रको ब्याख्याभित्र पर्छ । बेलायती काँग्रसहरुकोे त्यो प्रजातान्त्रिक ब्याख्याको शिकार सुशिल कोइराला पनि भए ।
बेलायती गुटगत काँग्रसी राजनीतिलाई एकता गराउने प्रयासमा सुशिल कोइरालाले आफ्नो शक्ति लगानी गरे पनि जव जव शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको बेलायत आगमन हुन्छ तबतब गुटगत राजनीतिले मलजल पाउने गर्याे एकातिर भने अर्काेतिर आफूलाई नेपाली काँगे्रस भनेर परिचय दिन मन पराउने बेलायतका लागि तत्कालिन नेपाली राजदूत सुरेशचन्द्र चालिसेले गुट अन्त गराउने र काँग्रेसभित्र एकता गराउने आबश्यक योगदान दिन सकेनन् । उनी बेलायती नेपाली डायस्पोरामा कता हराए वा उनी कता भेटिन्छन् भन्ने कुरा नेपालीहरुबीच प्रश्नवाचक चिन्ह नै रह्यो । उनीबाट शुशिल कोइरालाले बेलायती काँग्रसी गुटलाई एकठाँउमा ल्याउने सवालमा यथेस्ठ मद्दत पाउन सकेनन् ।
कमी कमजोरीहरु हरेक मान्छेका हुन्छन् । यसबाट सुशील कोइराला पनि अछुत हुने कुरै भएन । तर दुर्भाग्य हाम्रो समाजमा उसले गरेका राम्रा कामहरु जीबित रहँदासम्म नदेख्ने अनि कमी कमजोरीका बारेमा आलोचना बढी गर्ने रहेको छ भने उसको मृत्यु पछि बल्ल उसका सवल पक्षहरु पर्दा बाहिर ल्याउने र प्रशंसा गर्ने गरिन्छ । यस्तै सुशील कोइरालामा पनि लागू भएको छ ।
सुशील कोइराला संयम थिए, शालिन थिए, धैर्य थिए भनेर भने म कदापि भन्न सक्तिनँ तथापि उनी अत्यन्त अधैर्य, अशालिन र असंयम थिए भनेर आरोप लगाउने ठाउँ गिरिजाप्रसाद कोइरालाको मृत्यु पछि भने मेटाएका थिए उनले । नेपाली काँग्रेसलाई एकगठ गराउने प्रयास नगरेका होइनन् उनले । नेपाली काँग्रेसभित्र एउटा समस्या थियो छ र रहिरहने छ । त्यो के भने जसरी एउटा गाडी त्यसको इन्जिन, त्यसको चक्का, त्यसको ब्रेक, त्यसको इक्सिलेटर अनि अन्य पार्टपुर्जा दुरुस्त नभए सडकमा चलाउन सकिंदैन त्यसरी नै एउटा राजनीतिक पार्टी होस् वा अन्य कुनै संघ संस्था होस् सबै तह र तप्कामा एकता हुँदैन भने त्यो संचालन गर्न पनि कठिन हुन्छ । त्यही कठिन अवस्थाबाट सुशिल कोइराला गुज्रिरहेका थिए । उनको यो असामयिक मृत्युले नेपाली काँग्रेस र समग्र नेपालीबीच उनको पार्थिव शरीर नरहे पनि उनीप्रति रहने सम्झनाको आयु लम्ब्याएको छ । यिनै पंक्तिहरुका साथ हार्दिक श्रद्धान्जलि । अलबिदा सुशिल दा ।

शशी पाैडेलका अरू लेखरचना  www.theglobal.co.uk मा पढन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री