रत्ननगर (चितवन), २५ माघ । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा अनुगमनका लागि नेपालमै पहिलो र नयाँ प्रविधिको प्रयोग सुरु भएको छ ।
संरक्षण कार्यलाई प्रभावकारी बनाउन नेपालका संरक्षित क्षेत्रमा नै पहिलोपटक चितवन निकुञ्जको पूर्वी क्षेत्रबाट उक्त प्रयोग सुरु भएको हो । वास्तविक समयमा गैँडा के गर्दै छ भनेर मोबाइल एप्लिकेसनमार्फत हेर्न सकिने गरी सफ्टवेयर तयार पारिएको हो ।
यसअघि नेपाली सेनाले गस्तीका लागि मात्रै भनेर एउटा प्रविधि भित्र्याएको भए पनि गैँडाको अनुगमनमा केन्द्रित गरेर आएको एप्लिकेसनसहितको यो पहिलो प्रविधि हो । कोठामै बसेर गैँडा कहाँ गइरहेको छ भनेर अनुगमन गर्न मिल्ने गरी मोबाइल एप्लिकेसन तयार भएको जनाइएको छ ।
जियोलोजिकल सोसाइटी अफ लन्डन, चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त प्रयासमा मोबाइल एप्लिकेसन ल्याइएको हो । एन्ड्रोइड मोबाइलमा प्रयोग हुने यो एप्लिकेसन संवेदनशील र सुरक्षाका हिसाबले सर्वसाधारणका लागि भने खुला हुँदैन ।
नेपालमै पहिलोपटक मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन गर्न सकिने गरी नयाँ प्रविधिको विकास गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
यसअघि गैँडा अनुगमनका क्रममा प्रत्यक्ष कापीमा टिपेर ल्याई भोलिपल्ट विश्लेषण गर्ने काम गरिन्थ्यो भने यो प्रविधिले अनुगमनकर्ताले रेकर्ड सर्भरमार्फत पठाएपछि तत्कालै कोठामै बसेर विश्लेषण गर्न सकिनेछ ।
उनका अनुसार गैँडा अनुगमनमा गएका संरक्षणकर्मीले सर्भरमार्फत रेकर्ड पठाएपछि मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन गर्न सकिनेछ । यसले कुन गैँडा कहाँ गएको छ ?, के गर्दैछ ?, बस्ती पस्न लागेको छ कि छैन ? भन्ने कुरा कोठामै बसेर अनुगमन गर्न सकिनेछ । गैँडा अनुगमन र अनुसन्धानमा यो प्रविधिको प्रयोग गरिने पोखरेलले बताए ।
“मुख्यगरी गैँडाको गहिरो अनुगमनका लागि यो सफ्टवेयर फलदायी छ,” डा पोखरेलले भने । आइतबार मात्रै चितवनमा तेस्रो शून्य चोरी–सिकार वर्ष मनाइएको छ । आगामी दिनमा संरक्षणमा थप चुनौती थपिएका बेला एप्लिकेसनले ठूलो योगदान गर्ने चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताए ।
सुरुमा अहिले चितवन निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पाँचवटा पोस्टबाट अनुगमनको काम हुनेछ । गैँडाको घनत्व कम भएको क्षेत्रबाट अनुगमन थालिएको हो । “यसबाट रियल टाइम मनिटरिङ हुन्छ,” कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले भने – “गैँडाका गतिविधि र आनीबानीसमेत अनुगमन गर्न सकिन्छ ।”
उनका अनुसार जो कसैले पनि तस्बिर अथवा भिडियो खिचेर तोकिएको सर्भरमा हालेमा उक्त फोटो भिडियो÷मोबाइल एप्लिकेसनमा आउँछ । कार्यालय या कोठामै बसेर पनि गतिविधि हेर्न सकिन्छ । यसले गैँडाको उपस्थिति बताउने भएकाले चोरी–सिकारीको निगरानी गर्न सजिलो हुने र संरक्षणमा टेवा पुग्ने कोषका अर्का संरक्षण अधिकृत शशाङ्क पौडेलले जानकारी दिए ।
नेपालमा संरक्षित क्षेत्रमा २००७ सालदेखि प्रविधिको प्रयोगको थालनी गरिएको थियो र अनुगमन बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु भएको थियो । यसले अवैध गतिविधि नियन्त्रणमा ठूलो सहयोग पुगेपछि शुक्लाफाँटा हुँदै चितवनमा पनि सुरु भएको थियो । तर अहिलेको यो एप्लिकेसन भने पहिलो हो ।
यसअघि चितवनमा नेपाली सेनाले आफ्नो गस्ती टोलीका लागि प्रयोग गरिएको ‘रियल टाइम’ गस्ती फरक खालको प्रविधिको प्रयोग हो । यो प्रयोगले सेनाका गस्ती टोली कहाँ गइरहेको छ ? के गर्दैछ ? गस्तीमा गयो कि गएन ? भनेर थाहा पाउन सकिन्थ्यो ।
स्मार्ट गस्ती, पैदल गस्ती, हवाई गस्ती तथा सवारी गस्ती सञ्चालन गरेको निकुञ्जमा यो नयाँ प्रविधि ल्याइएको हो । अहिलेको गस्तीमा भने कुनै पनि कर्मचारी वा सैनिकले छल्न नसक्ने दावी चितवन निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति सञ्जय देउजाले गरेका थिए ।
चितवन निकुञ्ज संरक्षित वन्यजन्तुको प्रमुख बासस्थान हो । यहाँ बाघ, गैँडा, हात्ती, गोही, भालुलगायतका जनावर छन् । विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा पाउनेमध्ये दोस्रो स्थानमा चितवन पर्छ । भारतको काजिरङ्गा पहिलो हो । चितवन निकुञ्जमा ६०५ गैँडाको बसोबास रहेको अनुमान छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत