बुधबार, असोज ७ २०७७ | Wed, September 23, 2020
नेपालको समय: ००:४८ | UK Time: 20:03

वायु–सौर्य विद्युत्् उर्जाले फेरियो भोर्लेनीको मुहार

वीनेपाली
२०७२ पुष २२ गते १०:१८
मकवानपुर फापरबारीमा निर्माण गरिएको २५ किवा क्षमताको वायु–सौर्य मिश्रित विद्युत्् परियोजना । यस परियोजनाबाट स्थानीय १३१ घरमा विद्युत् सुविधा उपलब्ध भएको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस

मकवानपुर फापरबारीमा निर्माण गरिएको २५ किवा क्षमताको वायु–सौर्य मिश्रित विद्युत्् परियोजना । यस परियोजनाबाट स्थानीय १३१ घरमा विद्युत् सुविधा उपलब्ध भएको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस

फापरबारी (मकवानपुर), २२ पुस । हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन । पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देख्नुभएका उहाँलाई साँझ परेपछि र बिहान ९÷१० बजेसम्म घर नै उडाउलाजस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल भएको देख्दा अहिले सपनाजस्तै लाग्दछ ।

यो सबै सम्भव बनाएको छ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजनाले ।

चतुरबहादुर मात्र होइन, हेटौँडाबाट पूर्वमा सवारीसाधनमा करिब चार घण्टाको यात्रापछि मात्र पुगिने दुर्गम भोर्लेनीका १३१ तामाङ्, बाहुन, क्षेत्री, दलितलगायतका घरपरिवार हावा र सौर्य शक्तिबाट उत्पादन भएको बिजुली उपयोग गरेर उज्यालोमा बस्न पाउँदा खुसी मात्र भएका छैनन्, आफूलाई भाग्यमानी पनि सम्झन्छन् । “सहरमा बरु दिनमा १५ घण्टा बिजुली आउँदैन, अन्धकारमा बस्नु पर्छ रे भन्ने सुनेको छु, तर हामी गाउँलेले भने २४ सै घण्टा विद्युत् उपयोग गर्न पाएका छौँ”–स्थानीयवासी प्रेमबहादुर लोप्चन भन्नुहुन्छ ।

काभे्रपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको यस विकट ठाउँमा पहिले पहिले मानिसहरु बस्न रुचाउँदैनथे । बागमती नदीको किनारमा रहेको यो ठाउँ बालुवा र ढुङ्गाको गेग्रानले ढाकिएकाले उब्जनी नहुने र औलोको भयले गर्दा मिल्किएको यो ठाउँ अहिले सिँचाइ सुविधा, सडक यातायातको पहुँच र विद्युतीकरणले स्थानीयवासीको जीवनशैली फेरिएको मात्र होइन, यस ठाउँको परिचय नै बदलिएको छ । अहिले यहाँ चार बाली खेती हुन थालेको, विद्युत्् सुविधाले सूचना, सञ्चारको पहुँचको विस्तारले गाउँलेको आर्थिक–सामाजिक तथा चेतनास्तरमा अभिवृद्धि भएको छ ।

पहिले वनमारा र दाउराका झिँजा बालेर गुजारा गरेको स्मरण गर्दै ९७ वर्षीय दलवीर आले भन्नुहुन्छ, “बाँचिरहनुपर्ने रहेछ, आँखाले अनेक देख्न पाइने रहेछ ।” जीवनमा कहिल्यै बिजुली नदेखेका उहाँँ अहिले घरमै बिजुली प्रयोग गर्न पाउँदा अचम्भित भएको र यसले आफूलाई बाँच्ने रहर बढाएको बताउनुहुन्छ ।

स्थानीय गीता निमाविका शिक्षक जगतबहादुर थोकर पनि गाउँमा विद्युत्् सुविधा भएपछि गाउँका केटाकेटी विद्यालय आउने क्रम बढेको र उनीहरुको शैक्षिकस्तरमा सुधार आएको बताउनुहुन्छ । आफूले २०३६ सालमा हेटौँडा जाँदा सडकमा बत्ती बलेको देख्दा त्यो उज्यालोमा बसेर पढ्न पाए हुन्थ्यो भन्ने चाहना भएको बताउँदै भन्नुहुन्छ, “उतिबेला गाउँमा बिजुली थिएन, आगो बालेर र जुनको उज्यालोमा बढ्नुपर्ने बाध्यता थियो ।”

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा वायु र सौर्य शक्तिबाट २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना निर्माण गरिएको हो । केन्द्रले रु ८९ लाख, जिविसले रु पाँच लाख र गाविसले रु दुई लाख तथा समुदायबाट रु ३० लाख बराबरको नगद र श्रमदान गरी कूल रु एक करोड २५ लाखको लागतमा सो परियोजना सम्पन्न भएको छ ।

गत जेठ १५ गतेदेखि विद्युत् उत्पादन सुरु भए पनि मङ्गलबार जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री पासवानले मुलुकले ऊर्जा सङ्कटको समस्या झेलिरहेको बेला स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतको उपयोग गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन यस्ता वैकल्पिक ऊर्जा प्रविधिको विकास र विस्तारमा लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँँले अँध्यारोबाट उज्यालोतर्फ लैजान सकिए मात्रै नयाँ र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले वर्तमान सरकारले थोपाथोपा इन्धनको बचत र वैकल्पिक ऊर्जाको प्रवद्र्धनलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत्् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ । हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्याल बताउनुहुन्छ ।

परियोजनाबाट उत्पादित विद्युत््लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको छ । देशका अधिकांश डाँडामा मात्र नभएर गहिरा खोँचमा पनि प्रशस्त हावा चल्ने स्थानहरु रहेकाले वायु ऊर्जाको सम्भावना रहेको बताउँदै अर्याल भन्नुहुन्छ, “केन्द्रीय प्रसारण पु¥याउन नसकिने दुर्गम स्थानमा यस्ता प्रविधिको विस्तार गरी ऊर्जाको पहुँच पु¥याउन सकिन्छ ।”

वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो । यसअघि नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्यउर्जा परियोजना निर्माण गरेको थियो ।

यस परियोजनाको सफलताको आधारमा देशका अन्य सम्भाव्य स्थानमा सौर्य÷वायु मिश्रित प्रणाली निर्माण गर्न सकिने र तत्कालै अछाम, सुर्खेत, सिन्धुलीमा स्थापना गर्न कार्य थालनी भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउनुहुन्छ । गाउँ नजिकै प्राधिकरणको केन्द्रीय लाइनसमेत पुगेको र सो स्थानमा हावाको उच्च चाप रहेकाले थप विद्युत्् उत्पादन गरी वरपरका गाउँमा पनि वितरण गर्ने र बढी भएको केन्द्रीय लाइनमा जोड्न सकिने सम्भावना रहेको उहाँको कथन छ ।

केन्द्रीय प्रसारणको लाइन गाउँनजिकै आएपनि विद्युत््को उपयोगबाट वञ्चित रहेका भोर्लेनीवासी आफूलाई प्रकृतिले मात्र होइन, राज्यले पनि ठगेको अनुभव गर्दथे । गाउँमा सक्नेले साना क्षमताका सोलार राखेर घर उज्यालो बनाएपनि अधिकांशको गुजारा टुकी बालेर नै हुँदै आएको थियो । रातको समयमा प्रशस्त हावा चल्ने भएकाले टुकीबाट गाउँमा बर्सेनि आगलागीका घटना हुने गरेको स्थानीयबासी गोरखबहादुर केसी बताउनुहुन्छ ।

गाउँमा बिजुली आएपछि राति अबेरसम्म घरधन्दा गर्न सजिलो भएको अनुभव सुनाउँदै स्थानीय धनकुमारी तिमिल्सिना भन्नुहन्छ, “अहिले बिजुली आएपछि त स्वर्गै पुगेजस्तो भएको छ । घरमा टेलिभिजन हेरेर देश विदेशको समाचार देख्न पाइएको छ ।” मोबाइल चार्ज गर्न पहिले पल्लो गाउँमा जानुपर्ने समस्या पनि टरेको बताउँदै उहाँ कञ्चनपुरमा रहेका छोराबुहारीसँग मोबाइलबाट कुरा गर्न पाउँदा धेरै खुसी लागेको छ, भन्नुहुन्छ ।

समुदायले नै अपनत्व गरी परियोजनाको दिगो सञ्चालनका लागि गाउँलेले मासिक रु ५०० महसुल निर्धारण गरेको सो परियोजनाका अध्यक्ष पद्मबहादुर घलानले जानकारी दिनुभयो । उहाँँले छिटै सौर्य प्रणालीबाट पनि उत्पादित विद्युत््लाई गाउँका अन्य घरधुरीमा पनि विस्तार गरी देशकै नमुना गाउँको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

गाउँलेहरुले यसपटकको तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको करिब डेढ लाख रुपैयाँबाट विद्युत्् गृह निर्माण थालेका छन् । टर्वाइन, विद्युत््गृह र सौर्य प्रणाली राख्न करिब पाँच कट्ठा जमिन पनि अध्यक्ष घलानले निःशुल्क उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक