काठमाडौँ, १५ पुस । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको तराई क्षेत्रमा देखिएको राजनीतिक समस्या वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज राजदूत रायले तराईको समस्या हल गर्न नेपालका सबै राजनीतिक शक्तिले थालेको वार्ता र संवादको प्रशंसा गर्दै सबैले सहमति र लचकताका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
दलहरुबीच संवाद जारी रहेकाले छिट्टै केही निर्णय भएर समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उहाँँले सिमानामा देखिएको अवरोध हटाउने बारेमा सहमतिको खाका बनिसकेको बताउनुभयो ।
सीमामा देखिएको अवरोधका बारेमा स्पष्ट पार्दै उहाँले नेपालमा सामान्य अवस्थामा दैनिक एक हजार ६०० देखि एक हजार ७०० मालबाहक ट्रक भारतबाट प्रवेश गर्ने गरेकामा अहिले दैनिक एक हजार १०० सम्म ट्रक भित्रिरहेको जानकारी दिनुभयो ।
नेपाल र भारतबीचको सम्बन्ध दुवै मुलुकका सरकारबीच मात्र नभई जनस्तरमा समेत प्रगाढ रहेको बताउँदै उहाँले भन्नुभयो, “हाल दुई देशबीचमा देखिएको चिसोपनालाई संवादबाट नै हल गर्नुपर्छ ।”
नेपालमा भारतको स्वार्थ भनेको राजनीतिक स्थायित्व र विकास भएको अवगत गराउँदै राजदूत रायले यस क्षेत्रमा शान्ति र स्थायित्व भएमात्र भारतले चाहेको दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालमा भारत विरोधी भावना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यो दुवै मुलुकको हितमा नभएको बताउनुभयो ।
दुवै मुलुकबीचको सम्बन्ध विशिष्ट र रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले नेपाल सार्वभौम मुलुक भएकाले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा राजदूत रायले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गराउनुभयो ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर