काठमाडौँ, १४ पुस । व्यवस्थापिका–संसद्मा नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल मंगलबार पनि जारी रह्यो ।
सो विधेयकमाथि भएको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा प्रकासशरण महतले कुनै जात, क्षेत्र, भूगोल र जनतालाई विभेद गर्ने पक्षमा आफ्नो दल नरहेको बताए ।
उनले जनताको भावनालाई समेट्ने र संविधानमा सबैको अपनत्व होस् भनेर संशोधन विधेयक अघि बढाइएकाले बिना अवरोध यसलाई टुङ्ग््याउनका लागि सहयोग पुरयाउन आग्रह गरे ।
सांसद महतले सीमामा धर्ना र संसद्मा अवरोध गर्ने कार्य छोडेर संवादका आधारमा सीमाका विषयमा छलफलमा आउन पनि अनुरोध गरे । नेकपा (एमाले)का शेरबहादुर तामाङले पहाड र हिमालको भूगोल केही होइन, तराईका जनताले उठाएको मागका आधारमा मात्रै निर्वाचन क्षेत्रको सीमा कोर्ने पक्षमा आफूहरू नरहेको बताए । एनेकपा माओवादीका निशा साहले निर्वाचन क्षेत्र निधारण गर्दा मधेसमा जनसङ्ख्याको आधारमा कायम गर्र्न, छिटोभन्दा छिटो प्रदेशको सीमाङ्कन टुङ्ग््याउन माग गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले सबै जनताको स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक ल्याउन आग्रह गरे ।
आन्दोलनरत मधेसी समुदायसँग छलफल नगरी ल्याएको संविधान संशोधन अपुरो भएको र सीमाङ्कनको कुरा व्यावहारिक नभएकाले सबैको साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली काँङ्ग्रेसका रामहरि खतिवडाले संविधानमा सबैको चित्त बुझाउन नसकिए पनि सबै जातजाति, समुदाय, वर्ग, धर्म र सम्प्रदायको भावनाबमोजिम संविधान जारी भएको टिप्पणी गरे ।
‘‘अझ पनि कुन जात जाति समुदाय सम्प्रदाय र वर्गको अधिकार सुनिश्चित भएन छलफल गरेर समस्या समाधान गरौँ तर संसद्मा नाराबाजी गरेर अवरोधका कार्य नगरौँ’’ उनको भनाइ थियो । नेकपा (एमाले) का रन्जुकुमारी झाले जनसङ्ख्या वा भूगोलको आधारमा सीमाङ्कनले कुनै फरक नभएको उल्लेख गर्दै यो संविधान लचिलो र जुनसुकै समयमा पनि संशोधन गर्न सकिने भएकाले आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले जनसङ्ख्याको आधारमा मात्र सीमाङ्कनले हिमाल र पहाडको प्रतिनिधित्व नहुने र यसले एकात्मक भावनामा खलल् पुरयाउने चर्चा गर्दै भारतको दबाबमा संविधान संशोधन गर्न नहुने भएकाले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर ल्याउन सुझाव दिए । नेकपा (एमाले) का रेवतीरमण भण्डारीले सदनमा प्रस्तुत संविधान संशोधन विधेयकमा हिमाल, पहाड, तराई सबै क्षेत्रका समुदायका जनताको भावनालाई प्रतिनिधित्व गरेकाले सो संशोधनलाई अघि बढाउन आग्रह गरे ।
सोही दलका कृष्णभक्त पोखरेलले हामीलाई चित्त नबुझेको कुरा यही संसद्मा गर्न सकिने भएकाले आन्दोलन छोडेर संसद्बाटै सुन्दर संविधान निर्माणको परिकल्पना गर्न आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका मीना पुनले नेपालको संविधान संशोधन गराउन भारतले नाकाबन्दी गरेको जनाउँदै जनसङ्ख्याको आधारमा गरिने संशोधनले देशमा दूरगामी असर पर्ने जनाए । संविधान संशोधन विधेयकमा सांसदले बोल्ने क्रम बाँकी छ । संसद्को अर्को बैठक यही पुस १६ गते बिहीबार दिनको १ बजे बस्ने छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]