काठमाडौँ, ४ पुस । सरकारले सबै खालको प्रयास गर्ने हो भने चीनतर्फका चारवटा नाका सहजरुपमा सञ्चालनमा आउन सक्ने देखिएको छ ।
व्यवस्थापिका–संसद्को विकास समितिले पछिल्लो दिनमा गरेको अध्ययनअनुसार मुस्ताङको कोरला, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ र ताप्लेजुङको ओलाङ्चुङगोलालाई सञ्चालनमा ल्याउन सकिने पाइएको हो ।
भारतको अघोषित नाकाबन्दीपछि उत्तरी छिमेकी चीनतर्फको नाका खोलेर आयात निर्यातलाई सहज बनाउने विषयमा चासो बढेको छ । सरकारलाई मार्ग प्रशस्त गर्ने र काम गर्न सहज वातावरण बनाउने उद्देश्यका साथ समितिले प्रमुख उत्तरी नाकाको स्थलगत अनुगमन गरेको जनाएको छ ।
नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीबीच केही समयपहिले भएको द्विपक्षीय छलफलका क्रममा सात वटा उत्तरी नाका खोल्न दुवै पक्ष सहमत भएका थिए । त्यसमा अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के नाका रहेका छन् ।
लामो समयदेखि चर्चामा रहेका तर उत्तरी नाका खोल्नका लागि पहल नभएको अवस्था त छँदै थियो तर भारतको अघोषित नाकाबन्दीपछि सरकार र सरोकारवाला निकायलाई उत्तरी नाका खोल्ने दबाब परेको हो ।
भूकम्पपछि ठप्प तातोपानी
उत्तरी छिमेकी मुलुकसँग जोड्ने मुलुकको प्रमुख नाकासमेत रहेको तातोपानी सडक गत वैशाख १२ गते गएको भूकम्पका कारण ठप्प रहेको छ । भूकम्पपछि तातोपानी सडक खण्ड र आसपासका बस्तीमा पहिरोले असर गरेको र चीनतर्फको खासाबजारसमेत क्षति पुगेपछि उक्त नाका बन्द हुन पुगेको हो ।
खासास्थित भन्सार, अध्यागमन, सुरक्षा पोस्टलगायत कार्यालयमा भूकम्पले क्षति गरेपछि चीनले उक्त नाका तत्कालै सञ्चालन गर्न नसकिने जनाउ दिएको थियो । नेपालको प्रमुख भन्सार बिन्दुको रुपमा रहेको सो नाकाबाट वार्षिक रु छ अर्बभन्दा बढी राजस्व उठ्ने गरेको थियो । वैशाख पछि चीनले खासामा रहेका भन्सारलगायतका कार्यालयलाई खासाबाट १८ किमी उत्तरतर्फ रहेको न्यालममा स्थापना गर्ने तयारी गरेको बुझिएको छ ।
एक सय २० किमी दुरीमा रहेको तातोपानी नाकामा पर्ने अरनिको राजमार्गमध्ये भूकम्पका कारण तातोपानी मितेरी पुलदेखि खाडीचौरसम्मको ३५ किमी सडकमा बढी क्षति पुगेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म सडक खण्ड चार लेनमा विस्तार गर्न जापान सरकारले प्रतिवद्धता जनाइसकेको छ ।
धुलिखेलदेखि बाह्रबिसेसम्म दुई लेनको सडक विस्तार गर्ने एमओयुमा सडक विभाग र चाइना रेलवेले हस्ताक्षर गरेका छन् । बाह्रबिसेदेखि मितेरी पूलसम्मको भौगोलिक अवस्थाबारे चिनिया प्राविधिकले अध्ययन गरिरहेको छ । विकास समितिले सरकारलाई केही सुधारको प्रयास थाल्न र चिनियाँ पक्षलाई छिटोभन्दा छिटो नाका खोल्न सकिने भन्दै सो नाकाको विकल्प अर्को कुनै नाका हुन नसक्ने सुझाव दिएको छ ।
तातोपानी नाका बन्द भएपछि सञ्चालनमा ल्याइएको रसुवागढी–केरुङ नाका पनि भौतिकरुपमा त्यति सवल नाकाको रुपमा स्थापित भइसकेको छैन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर ८ गते जारी गर्नुभएको श्वेतपत्रमा समेत सो नाकालाई उच्च प्राथमिकतामा राख्नुभएको छ । चीन सरकारको समेत प्राथमिकतामा रहेको सो नाका नेपाल, भारत र चीनको त्रिदेशिय व्यापारको हिसाबले उत्तम मानिएको छ । सबैले प्राथमिकतामा राखेपनि नेपालतर्फको सडक मुस्किलले एक लेन मात्रै छ । सरकारले नेपाली सेना र सडक विभागलाई संयुक्तरुपमा कार्य अघि बढाइ सो सडकलाई दुई लेन बनाउने घोषणा गरिसकेको छ ।
नुवाकोट बेत्रावतीदेखि स्याफ्रुबेसीसम्म दुई लेनको सडक निर्माण गर्ने निर्णय भइसकेको छ । बेत्रावती–स्याफ्रुबेसी ३० किमी सडक निर्माणको ट्र्याक नेपाली सेनाले खोल्ने र सडक विभागले उक्त सडक कालोपत्रे गर्नेछ । विभागले धादिङको गल्छीदेखि स्याफ्रुबेसीसम्मको १०६ किमी सडकलाई नै दुई लेनको बनाउनेछ ।
पहल भए तीन महिलामा खुल्छ कोरला
म्याग्दीबाट १७६ किमी उत्तरमा रहेको मुस्ताङको कोरला नाका द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अर्र्को सहज मार्ग हो । तर ट्रयाकका रुपमा मात्रै सञ्चालनमा रहेको सो सडक खण्डलाई तत्कालमर्मत सुरु गर्ने हो भने आगामी तीन महिनाभित्र सहजरुपमा यातायात सञ्चालनमा ल्याउन सकिने विकास समितिको स्थलगत अध्ययन प्रतिवेदनमा समेटिएको छ ।
चीनले समेत प्राथमिकतामा राखेको रहेको सो सडकको म्याग्दीदेखि जोमसोमसम्मको कच्ची सडक ठिकै भएपनि जोमसोमदेखि कोरलासम्मको १०० किमी पूर्णरुपमा कच्ची छ । सरकारले विशेषरुपमा ध्यान दिएर मर्मत सुरु गर्ने हो भने खास समस्या भने नभएको प्राविधिकको ठहर छ ।
नेपाल सरकारले कुटनीतिक र राजनीतिक पहल गर्ने हो भने चीनले पोखरा–जोमसोम सडक दुई लेन र जोमसोमदेखि कोरलासम्मको सडकलाई स्तरोन्नति गर्न सघाउने वचन प्राप्त भएको छ । बाह्रै महिना सहजरुपमा यातायात सञ्चालन गर्न सकिने सो नाका हिउँ वा चिसोका कारण कुनै पनि समय समस्यामा पर्दैन । बेनी–मुस्ताङ–जोमसोम–कोरला सडकको स्तरोन्नति र कालोपत्रे गर्न करिब रु. १० अर्ब लाग्ने अनुमान गरिएको छ ।
लगानी र पहलको पखाईमा किमाथांका
सङ्खुवासभाको किमाथाङ्का नाकालाई सरकारले दुई वर्षभित्र सञ्चालनमा ल्याउन गरी काम सुरु गरेको छ । सङ्खुवासभाको खाँदवारीबाट १६२ किमी दुरीमा रहेको उक्त नाका खोल्न उत्तर र दक्षिण दुवैतर्फ बाट सडक निर्माणको काम भइरहेको छ ।
कूल १६२ किलोमिटरमध्ये ८० किमी ट्र्याक खुलेको र बाँकी पनि दुबैतर्फबाट काम भइरहेको छ । केही दिन अघि सो आयोजना सम्पन्न गर्न रु दश अर्ब लाग्ने अनुमान गरिएको छ । करिब १८ किमी ट्र्याक खोल्ने हो भने सहजरुपमा खोल्न सकिने नाका दोलखाको लामाबगर हो । तर सो नाका प्राथमिकतामा पर्न सकेको छैन ।
यारी, ओलाङचुङगोला आम्जापास र लार्के दीर्घकालीन योजना
हुम्लाको यारीरहिल्सा सडक चीनतर्फबाट बन्दै गरेको भएपनि त्यसबाट हुम्लाबासीले मात्रै तत्काल फाइदा पाउनेछन् । कालीकोटबाट सिमीकोटतर्फ नेपाली सेनाले सडकको ट्र्याक खोली रहेको छ ।
चीन जोड्ने परम्परागत नाकाको रुपमा रहेको ताप्लेजुङको ओलाङचुङगोला र गोरखाको लार्के नाका समुन्द्री सहतबाट पाँच हजार मिटरभन्दा माथि रहेकाले हिउँले प्रभाव पार्ने नाका हो । अधिकांश समय हिउँ पर्ने भएकाले ती नाकाले स्थानीय उत्पादन, दैनिक उपभोग्य वस्तुको व्यापार मात्र गर्न सक्नेछ । ताप्लेजुङबाट ओलाङचुङगोला ९४ किमी टाढा रहेको छ । हाल त्यसतर्फ ३५ किमी सडक निर्माण भइसकेको छ । नेपाल चीन सीमाबाट चीनतर्फको नजिकको सहर २२ किमी दुरीमा छ ।
यस्तै, गोरखाको सिरदीबास फेदीसम्म पुगेको गोरखा बेनीघाट सडकको लम्बाई १६२ किमी छ । लार्के नाकामा सडक पु¥याउन फटाफट काम भएमा पाँच वर्ष लाग्ने देखिन्छ ।
मुगुको आम्जापास नाका सञ्चालनमा ल्याउन भने लामो समय लाग्नेछ । मुगु सदरमुकाम गमगढीबाट एक सय किमीभन्दा बढी दुरी ढाटा छ । तर आम्जापास नाकाबाट चीनतर्फको सहर भने करिब १५ किमी मात्रै टाढा पर्दछ ।
उत्तरी नाकाको फाइदा सबैले लिनसक्छन्–सभापति अधिकारी
प्रमुख चार वटा उत्तरी रणनैतिक नाकाको स्थलगत अध्ययन गर्नुभएका विकास समितिका सभापति रवीन्द्र अधिकारीका विचारमा नेपालको भारततर्फका नाकाबाट चिनले फाइदा लिन सक्छ र नेपालको चीनतर्फका नाकाको लाभ भारतले लिन सक्छ । उहाँले नेपाल बफर जोन, व्यापारिक केन्द्रको रुपमा विकास हुनुपर्नेमा जोड दिँदै त्यसबाट भारतका व्यापारीलाई सबैभन्दा बढी फाइदा हुने उल्लेख गर्नुभयो ।
सभापति अधिकारीले भन्नुभयो, “हाम्रो हित छिमेकीको पनि हित हो । छिमेकीको अहित हामीले चिताउन हुँदैन । उत्तरका नाका सञ्चालनमा ल्याएर नेपालले आफ्नो हित गर्न खोजेको हो । यसमा कसैले पनि चिन्ता व्यक्त गर्नुपर्ने अवस्था छैन ।”
आजको समयमा व्यापार प्रवद्र्धन गरेर एकले अर्कोलाई प्रभाव पार्ने भएकाले सहयोग लेनदेन गर्ने बाटो रोकेर होइन, बाटो खोलेर प्रभुत्व जमाउने जमाना भएकाले सभापति अधिकारी नाकालाई व्यवस्थित गर्दा कसैले पनि समस्या मान्न नहुने बताउनुहुन्छ ।