मगर संघ युकेले एक करोडको छात्रवृत्ति कोष स्थापना गर्ने

मगर संघ युकेले एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापनाको लक्ष्य राखेर यही नोभेम्बर २१ तारिखका दिन युकेको अल्डरसटमा च्यारिटी डिनर आयोजना गर्दैछ । गतवर्ष मात्र युकेमा घर किनेको संघले यस्तो महत्वाकांक्षी योजना किन ल्यायो त ? यसै सन्दर्भमा संघका अध्यक्ष दुतबहादुर पुनसित गरिएको संक्षिप्त वार्ता :

DUT'S PROFILE PHOTO

नोभेम्बर २१ मा च्यारिटी गर्दै हुनुहुँदो रहेछ । यसको लक्ष्य के हो ?

मगर संघ युकेले लामो समयदेखि हरेक वर्ष च्यारिटी डिनर आयोजना गर्दै आइरहेको छ । विभिन्न सेवामूलक कामका लागि विगतका च्यारिटी डिनरहरु आयोजना गरिएका थिए । त्यसमा केही वर्ष मगर संघ युकेको घर खरिदका लागि च्यारिटी डिनर गरियो । गतवर्ष मगर संघको घर खरिद पनि गरियो र एक वर्षभित्रमा ऋण, मोर्गेज सबै चुक्ता गरियो । म मगर संघ युकेको अध्यक्ष निर्वाचित हुँदा सार्वजनिक गरेको घोषणा पत्रमा मगर विद्यार्थीहरुका लागि एक करोड रुपियाँ राशीको छात्रवृत्ति बनाउने कार्यक्रम थियो । त्यसैले सो छात्रवृत्तिका लागि यो च्यारिटी डिनर आयोजना गरिएको हो ।
छात्रवृत्तिको अवधारणा कसरी आयो ?
मैले मगर संघ युकेमा बसेर काम गरेकै एकदशक भन्दा बढी भयो । यसरी काम गर्दै जाँदा शैक्षिक क्षेत्रमा मगरहरुको सहभागिता अत्यन्तै कम पाइयो । साक्षारता तहमा अरु जातिसरहकै उपस्थिति भए पनि जति जति उच्चतहमा पुग्दै जान्छ सहभागिता कम्ती कम्ती हुँदै गएको पाइयो । स्नातकभन्दा माथि विश्वविद्यालय तहमा पुग्दा त्यो अनुपात अति नै थोरै हुँदै जाने गरेको देखेँ । त्यसैले राज्यको विभिन्न निकायलाई चाहिने दक्ष र शिक्षित जनशक्ति तयार हुन नसकिरहेको पाएँ । त्यसैले स्नातकोत्तर (एमए) र विद्यावारिधि (पिएचडी) तहमा मगरहरुलाई अध्ययन गर्न प्रोत्साहन मिलोस् भनेर यो छात्रवृत्ति कोष स्थापना गर्न लागिएको हो ।

छात्रवृत्तिको कुरा सुन्दा यो पूर्णत नेपालमा केन्द्रीत देखिन्छ । तपाईहरु त युकेमा केन्द्रीत संस्था कसरी संचालन गर्नुहुन्छ ?
हो, हामी युकेमा केन्द्रीत भए पनि छात्रवृत्ति नेपालमा वितरण हुने हो । यसका लागि हामी मगर संघ युकेको प्रमुख भूमिका रहने गरी विधिविधान, निर्देशिकाहरु निर्माण गर्नेछौँ र नेपालमा नेपाल मगर संघ, मगर विद्यार्थी संघ लगायतका देशव्यापी नेटवर्क भएका संस्थाहरुको प्रतिनिधित्व रहने गरी संयन्त्र बनाएर यसलाई निस्पक्ष र पारदर्शी ढंगले वास्तविक गरिब र जेहेन्दार विद्यार्थीले लाभ पाउने गरी संचालन गर्नेछौँ ।

एमए वा पिएचडी तहमा पुग्ने योग्यता भएकाहरु त यतिकै जीवनमा शिक्षित भइसकेका हुन्छन् । अंग्रेजी र प्रविधिको ज्ञान नभएमा आउने दिनमा धेरै सास्ती भोग्नुपर्ने देखिन्छ । प्राविधिक शिक्षा भए जीवन त्यसैबाट गुजारा गर्न सकिन्छ । त्यता पनि छात्रवृत्ति विस्तार गर्न सकिन्छ कि ?
यसबारेमा पनि कुरा नउठेको होइन । छलफल पनि भए । तर धेरै नै व्यापक क्षेत्र देख्यौँ । काम गर्ने क्षेत्र स्पष्ट पारिएन भने अलिक भद्रगोल हुने हो कि भन्ने सम्भावना पनि रह्यो । त्यसैले अहिलेलाई एमए र पिएचडी तहमै छात्रवृत्ति केन्द्रीत गर्ने भन्ने सल्लाह भयो । तर यो छात्रवृत्तिको कार्यक्रम मगर संघ युकेको दीर्घकालिन कार्यक्रम भएकाले आगामी दिनमा संघको नेतृत्वले आवश्कयता हेरी निर्णय गरेर कार्यक्षेत्र विस्तार गर्न वा परिवर्तन गर्न सक्छ ।

यहाँले भन्नुभएको एक करोड रुपियाँ यही २१ तारिखको च्यारिटीबाट संकलन गर्ने हो ?
एक करोड राशीको छात्रवृत्ति कोष बनाउने भन्ने मगर संघ युकेको कार्यक्रम हो । यही च्यारिटी डिनरमा लक्षित गरिएजति सबै रकम उठ्छ भन्ने छैन । यो दीर्घकालिन कार्यक्रम हो । मगर संघ युकेले हरेक वर्ष कोष थप्दै लैजाने गर्छ । तर युकेमा मगर संघ युकेको संगठन विस्तार, सक्रियता र मगरहरुको संख्या हेर्दा उल्लेख्य रकम उठ्ने विश्वास लिएको छु । मगर संघ युकेका संरक्षकहरु, सल्लाहकारहरु, शाखाका अध्यक्ष र सदस्यहरु, कार्यसमितिका सदस्यहरुले मात्र १०० पाउण्ड सहयोग गर्ने हो भने २०/२५ हजार पाउण्ड उठ्न सक्छ ।

मगर संघ युके जस्तै प्रवासमा रहेका अन्य मगर संघहरुले पनि छात्रवृत्ति कोषमा सहभागी हुन्छौँ भन्यो भने सहभागी गराउनु हुन्छ कि ?
अवश्य पनि । हामीले अहिले शुरुवात गरेका छौँ । नेपालभित्र वा बाहिरबाट मगरहरुलाई शिक्षित बनाउने उद्देश्यका साथ छात्रवृत्तिका लागि सहयोग गर्न चाहने सबैलाई स्वागत गर्न चाहन्छौँ । व्यक्तिगत र संस्थागत रुपमा प्रतिनिधित्व र सहकार्यका लागि छलफल गर्न हामी खुला छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री