लन्डनमा रमाउंदै बिग आइकन मुस्कान

 

Muskan small

लन्डन । पोखराको बिग एफएम १०१.२ मेगाहर्जले वर्षेनी आयोजना गर्ने गायन रियालिटी शो बिग आइकनकी चौंथो विजेता मुस्कान रानाभाट यतिखेर यूके भ्रमणको अवसरले दंग छिन् । ‘बिग आइकन भएपछि त मेरो जीवनमै परिवर्तन आयो’, एक सांझ लन्डनमा भेटिएकी उनले सुनाइन्, ‘अचेल बिग आइकन भनेर धेरैले चिन्छन् । यसैको प्रतिफल अहिले लन्डन घुम्न पाएकी छु ।’

काठमाण्डौंस्थित द ब्रिटिश कलेजको प्रायोजन र लन्डनबाट प्रकाशित हुने युरोपको नेपालीपत्रको व्यवस्थापनमा उनी लन्डन घुम्न आएकी हुन् । उनको साथमा बिग एफएमका अध्यक्ष महेश भण्डारी समेत छन् ।

मुस्कानले लन्डन आएका बेला घुमघाममात्र होइन, गायनमा समेत सहभागी हुने योजना बनाएकी छिन् । यही शनिवार उनी लन्डनस्थित गोर्खा स्पाइस रेष्टुरेन्टमा सुजन पराजुलीका साथ एउटा शोमा प्रस्तुत हुंदैछिन् भने आइतबार रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीको दशैं तिहार कार्यक्रममा गाउने कार्यक्रम छ ।

‘बिग आइकन उपाधिले मेरो गायन करिअरमा पनि ठूलो टेवा दिएको छ’, उनी प्रसन्न थिइन् । ११ वर्षको उमेरमै वाल गीतहरुको संग्रह ‘बेबी मुस्कान’ निकालेकी मुस्कानको अर्को एल्बम आउने तयारीमा छ । सात वर्षयता गायन प्रशिक्षण लिइरहेकी उनी गीत संगीतमै समर्पण हुने बताउंछिन् । उनलाई बाबा महेश रानाभाट र आमा मन्जु रानाभाटको पनि साथ छ ।

जुनसुकै उमेर समूहले भाग लिन पाउने उक्त प्रतियोगिताको छैटौं संस्करण यही मंसिर १ मा हुंदैछ । बिग एफएमका अध्यक्ष महेश भण्डारीले स्थानीय प्रतिभाहरुलाई अवसर दिन र संगीत पुनर्जागरणका लागि प्रतियोगिता गरिएको जनाए । ‘संगीतको उर्वर भूमि पोखराबाट लोकल ट्यालेन्ट निस्किएनन्, संगीत सिर्जना भएन भनेर हामीले प्रतियोगिताको परिकल्पना गर्यौं’, भण्डारी भन्छन्, ‘हामी विजेतालाई अन्तर्राष्ट्रिय मञ्चको अवसर दिएर नेपाली संगीत प्रवर्धन गर्ने प्रयासमा तल्लीन छौं ।’

डेढ लाख रुपैयां वा मोटर बाइक पुरस्कार राशीको उक्त गायन प्रतियोगितामा गत वर्ष ४९ जिल्लाबाट करिब ९ सयले भाग लिएको भण्डारीले जनाए । पप वा आधुनिक गीत गाउन सकिने उक्त प्रतियोगितामा २५ अडिसनमार्फत अन्तिम तीन जना छानेर दर्शकको एसएमएस भोट मार्फत एकजना विजेता चुन्ने प्रावधान छ ।
हालसम्म म्याग्दीका गगन पुन पहिलो विजेता, पोखराका सुमन गौतम दोश्रो, सर्लाहीका नवीन काफ्ले तेश्रो, पोखराकी मुस्कान रानाभाट चौंथो र मुस्ताङका कुन्साङ गुरुङ पांचौं विजेता भइसकेका छन् । भण्डारी बिग आइकन विजेताले अन्तर्राष्टिय स्तरमा अवसरमा पाइसकेको र उनीहरुले एल्बम समेत निकालेको बताउंछन् । विवादरहित र व्यवसायिक कार्यक्रमले यसको लोकप्रियता झन् बढ्दो छ, उनले दावी गरे । पहिलो प्रतियोगितामा ३५ जिल्लाबाट ६५० जनाको सहभागिता रहेकामा गत वर्ष ४९ जिल्लाबाट सहभागी संख्या करिब ९ सय पुगेको थियो ।

भण्डारीका साथ मुस्कान लन्डन टावर ब्रीजमा

भण्डारीका साथ मुस्कान लन्डन टावर ब्रीजमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री