पारदर्शिता प्रजातन्त्रको मुख्य अङ्ग हो । पारदर्शी बिनाको सँगठन कहिल्यै पनि चल्दैन त्यसैले प्रजातान्त्रिक मुलुकहरूमा पारदर्शितालाई मौलिक अधिकारको रुपमा लिइएको हुन्छ । जस्तै, प्रहरीले कसैलाई पक्रन्छ भने उसले अभियुक्त वा उसको कानुन व्यवसायीलाई त्यसको कारण बताउनै पर्छ । त्यसपछि मात्र उसले अभियुक्तलाई अन्तर्वार्ता लिनुपर्छ । अन्तर्वार्तापछि ऊ अभियुक्त ठहरिन्छ भने अदालतमा पेश गर्नुभन्दा पहिले सम्पूर्ण कागजातहरू विपक्षलाई देखाउनुपर्ने हुन्छ । अर्को शब्दमा यसलाई डिसक्लोजर भनिन्छ । त्यस्तै अर्को पक्षले पनि आफनो प्रत्युत्तर दिनुपर्ने हुन्छ । तर फरक यसैमा हुन्छ, पुलिसले सरकारवादी वकिललाई चाहिने र विरोधीलाई चाहिने सबै प्रमाणहरू सरकारवादी वकिललाई दिनुपर्छ । किनकि प्रहरी भनेको निष्पक्ष हुनुपर्छ र उसले जाहेरीवाला र विपक्ष दुवैको लागि अनुसन्धान गर्नुपर्छ किनकि प्रहरी भनेको राष्ट्रको हुन्छ । सरकारी वकिलले विपक्षलाई फाइदा पुग्ने र आफनो मुद्दालाई कमजोर पार्ने प्रमाणहरू दिनुपर्ने हुन्छ । यो प्रक्रिया मुद्दाको किनारा नलाग्दासम्म निरन्तर चल्दै जान्छ । तर, विपक्षले भने आफनो विरोधमा जाने प्रमाणहरू पेश गर्नु पर्दैन । त्यसैले सुरुदेखि नै पुलिसहरू आफनो अनुसन्धानमा क्रियाशील हुन्छन् ।
कुनै अपराधिक सूचना प्राप्त गर्ना साथ उनीहरूले प्रमाण जुटाउनुपर्छ । उक्त प्रमाण जुटाउने प्रहरीहरूले कुनै अपराधमा संलग्न भएको अथवा अपराध गरेको वा अपराध गर्न सकने शंका लागेको व्यक्तिलाई पक्रन सक्छन् । तर पक्रिएपछि उसका २ वटा जिम्मेवारी हुन्छन् । एउटा प्रमाणको भार र अर्को जनइच्छा । हरेक अपराधी मुद्दाहरूमा पुलिसले शंकाको आाधारमा पक्रिए पनि यथेष्ट प्रमाणविना मुद्दा चलाउन सक्दैन । त्यसमा २ वटा कुरा पार गर्नै पर्ने हुन्छ । एउटा शंकाको चरण र अर्को प्रमाणको चरण । शंकाकै भरमा प्रहरीले हिरासतमा लिएपछि २४ घण्टाभन्दा बढी थुनामा राख्न सक्दैन । त्यसपछि बढी समयसम्म राख्नु परेमा एसपीले ले १२ घण्टासम्म बढाउन सक्छ । अझै अनुसन्धान गर्नुपर्ने भएमा अदालतको स्वीकृतिमा ९६ घण्टासम्म अनुसन्धानको लागि थुनामा राख्नसक्छ। यदि प्रहरीले योभन्दा बढीसम्म थुनामा राख्छ भने त्यो अवैधानिक हुन्छ र हर्जानासमेत तिर्नुपर्ने हुन्छ । दुःखको कुरा, नेपालमा कुनै पनि प्रहरीले पक्रिएको कारण न त वकिललाई नै दिन्छ न त अभियुक्तलाई । २४, ३६ र ९६ घण्टा मात्र हैन कि वषौं वर्षसम्म प्रहरी हिरासतमा राख्छ । थुप्रै मानवअधिकारवादी संस्थाहरूले विरोध गरे तर नेपालको सरकारले कहिल्यै ध्यान दिएन । शक्ति जहिले पनि दुरुपयोग हुनसक्छ । त्यसैले यसको विकेन्द्रीकरण हुनुपर्छ । यो कुरा प्रहरी प्रशासनमा पनि लागू हुन्छ । जुन प्रहरीले पक्रन्छ उसले नै थुनामा राख्न पाउनु हुन्न । थुनामा राख्ने प्रहरी छुट्टै हुनुपर्छ जसले गर्दा निष्पक्ष रुपमा कार्वाही अगाडि बढाउन सकोस् । थुन्ने अधिकारीले पक्रने प्रहरीलाई किन कसरी र कहाँ पक्रेको हो भन्ने विस्तृत विवरण मा लेख्नै पर्ने हुन्छ । यति नलेखेमा त्यो थुना अवैधानिक हुन्छ । तर नेपालमा त्यस्तो हुँदैन । न त यहाँ छुट्टै अनुसन्धान नै हुन्छ न त त्यस्तो डायरी नै न त त्यसले पक्राउको कारण नै सोध्छ । पक्राउमा परेको मानिसका पनि खास केही अधिकारहरू हुन्छन् । उसले आफनो नातेदारहरूलाई तत्कालै खबर गर्न पाउनु पर्छ । निष्पक्ष रुपमा कानुन व्यवसायीलाई भेट्न पाउनुपर्छ र प्रहरी अनुसन्धान सम्बन्धी कानुनका पुस्तकहरू उपलब्ध गराइनुपर्छ । त्यस्तो किसिमको प्रक्रिया नेपालमा अहिलेसम्म सुरु भएको छैन । त्यसैले प्रहरी ज्यादती बढ्दै गइरहेको छ । अभियुक्तको अन्तर्वार्ता लिनको लागि छुट्टै अधिकृत हुनुपर्दछ । उक्त अधिकृतले त्यो अभियुक्तलाई के अपराध लागेको हो भन्ने कुरा सुरुमै जानकारी दिनुपर्छ । यदि दिएन भने यसलाई अवैधानिक मानिन्छ । तर नेपालमा यो पटक्कै लागु गरिएको पाइँदैन ।
अन्तर्वार्ता लिनुभन्दा पहिले अन्तर्वार्ताकर्ताले सावधान गराउनुपर्छ र स्पष्ट रुपमा बताउनुपर्ने हुन्छ कि तपाईंले मैले सोधेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन, तपाईं मौन बस्न पनि सक्नुहुन्छ । तर तपाईंले जे कुरा अहिले गर्नुहुन्न पछि गएर अदालतमा त्यो कुरा उठाउनुभयो भने कारणसहित स्पष्ट जवाफ दिनुपर्ने हुन्छ । यदि जवाफ राम्रो नभएमा तपाईंको मुद्दालाई नकारात्मक असर पर्न सक्छ । यसरी अभियुक्तलाई आफनो अभियोग र प्रहरीमा खुलस्त बयान नदिएमा पर्नसक्ने असर खुलस्त थाहा हुनुपर्छ । तर नेपालमा यस्तो व्यवस्था अहिलेसम्म पाइएको छैन ।अन्तर्वार्ता लिँदा अभियुक्तलाई मानसिक तथा शारीरिक यातनाबाट मुक्त राख्नुपर्छ किनभने कुनै पनि यातनाबाट अपराधको स्वीकृति सत्यमा आधारित हुँदैन । यसैले निर्दोष मानिसहरू सजायको भागिदार हुने गर्दछन् । नेपालमा यस्तो हुन सकेको छैन । अनुसन्धानले देखाएको छ । यदि नेपालमा प्रजातन्त्र हुन्थ्यो भने अपराधी जसले कस्टडीमा मारे उनीहरूलाई जन्मकैदको सजाय हुन्थ्यो तर त्यस्तै हुँदै भएन । त्यसैले पुलिस प्रशासनमा जबसम्म व्यवसायीकरण बनाइँदैन जसरी पुलिसहरूबाट हुने अपराधलाई रोकिँदैन तबसम्म अपराध रोकिँदैन । कुनै पनि प्रजातान्त्रिक मुलुकमा एउटा व्यक्तिले अर्को व्यक्तिलाई बलको प्रयोग गर्छ भने त्यसलाई ६ महिना कैद हुन्छ । सामान्य चोटपटक लगाएमा ५ वर्ष, अंगभंग गराउँछ भने १६ वर्ष र ज्यानै मार्छ भने कम्तीमा २५ वर्ष थुनामा हुन्छ । त्यही कुरा पुलिसले जनतामा गर्ने व्यवहारमा पनि लागु हुन्छ । यदि प्रहरीले साधारण जनतामाथि बल प्रयोग गर्छ भने छ महिना थुनिनु पर्छ, सामान्य चोटपटक गराएमा ५ वर्ष, अंगभंग गरेवापत १६ वर्ष र मारेबापत २५ वर्ष थुनामा राखिनुपर्छं । त्यस्ता किसिमको प्रावधान लागु नगरेकोले नेपालमा प्रहरी ज्यादती बढेको हो । अभियुक्तलाई लिएको सबै वयान टेपमा रेकर्ड हुनुपर्छ र एउटा कपि लाई मास्टर कपी बनाएर सुरक्षित राख्ने, एक कपि अभियुक्तलाई र एक कपि सरकारी वकिललाई दिनुपर्छ । मास्टर कपि सिल हुनुपर्छ । अभियुक्त, उसको वकिल र अन्तर्वार्ता लिने अधिकारीले सहीछाप गरेको हुनुपर्छ ।
आवश्यक परेमा मात्र अदालतमा सो सिल खोल्न सकिन्छ । तर नेपालमा यस्तो व्यवस्था छैन । प्रहरी आफैंले पिट्ने, बयान लिने र आफैंले जबरजस्ती सहीछाप लगाउने गर्दछन् । त्यसैले धेरैजसो मुद्दाहरू अदालतमा गएर वयान फेरिन्छ । जसले गर्दा न्याय प्रशासनको आधारशीला नै टुक्रेको लाग्छ । जब अदालतमा मुद्दा आउँछ, अदालतले पनि निश्चित समयमा मुद्दाको फैसला गर्नुपर्ने हुन्छ । त्यसका लागि ज्यादै गम्भीर मुद्दालाई १ सय ८२ दिन, मझौला खालकोलाई १ सय १२ दिन र साधारण मुद्दालाई ७५ दिनमा फैसला गर्नुपर्छ । न्याय भनेको छिटो हुनुपर्छ । ढिलो न्याय दिनु र न्याय नदिनु बराबर हो । तर, हाम्रो नेपालमा यस्तो छैन् । ४५ वर्षसम्म मुद्दा लडेर न्याय नपाउँदा सर्वोच्च अदालतकै प्राङ्गणमा आत्महत्या गर्ने काभ्रेकी एक महिलाको दर्दनाक कथा हामै् अगाडि खडा छ । कुनै मुद्दा प्रहरीमा गइसकेपछि त्यो प्रहरी अधिकृतले निष्पक्ष रुपमा काम गर्न पाउनुपर्छ । कुनै पनि उच्च पदाधिकारीहरूबाट त्यसलाई भनसुन र दबाव दिनु कानुन विपरीत हो । यदि यस्तो गरेमा यो निष्पक्ष अनुसन्धान हुन सक्दैन । हाम्रो नेपालमा विपरित हुने गर्दछन् । नेपालको अपराध अनुसन्धानको प्रक्रिया ज्यादै फितलो र कमजोर छ । यसप्रकार नेपालमा भएको राजनीतिक दवाव, भ्रष्टाचार, प्रहरी र राजनैतिक नेताहरूमा भएको अपराधीकरणले गर्दा निष्पक्ष न्यायको कल्पनासम्म गर्न सकिने अवस्था छैन् ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन