
रोम, ६ साउन । इरान र जर्मनीसमेत संयुक्त राष्ट्रसङ्घका पाँच स्थायी राष्ट्रहरु (चीन, बेलायत, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका) बीच हालै भियनामा आणविक सम्झौता सम्पन्न भयो जुन वास्तवमा एक दशक पहिले नै हुनुपर्दथ्यो । कुटनीतिक समझदारीका निम्ति लिइएको यति लामो अवधिमा मध्यपूर्वले सहजै साम्य गर्न सकिने असंख्य तनावहरु झेल्नुपरयो भने सुरक्षा सहयोगसम्बन्धी अवसर पनि गुम्यो ।
सन् २००३ देखि २००६ सम्म इरानले हालैको सम्झौताका सबै मुख्य तत्वहरुलाई स्वीकार्ने मनसाय व्यक्त गरी सबै सम्बद्ध पक्षहरुलाई सुनाउने प्रयत्न गरेको थियो, जसमा आणविक बम निर्माणका लागि आवश्यक पर्ने युरेनियम र प्लुटोनियमको आयात वा प्रशोधनलाई रोक्ने समेतको व्यवस्था थियो । मुख्यत, इरानले खासमा युरेनियमको प्रशोधन गर्ने आफ्नो अधिकारको औपचारिक मान्यता मात्र पश्चिमा मुलुकहरुबाट चाहेको थियो । साथै, आणविक सम्झौतापछि आफूमाथि लागेको नाकाबन्दीहरु फुकुवा हुनुपर्ने इरानको भनाइ थियो ।
युरोपेली युनियनसँग सन् २००३–२००४ मा सम्पन्न छलफलमा इरानले स्वेच्छिकरुपमा सानै स्तरमा भएपनि आणविक प्रशोधनको कार्यलाई स्थगन गरेको थियो । इरानले अतिरिक्त सम्झौताका निम्ति इच्छा देखाउँदै आवेदन दिएको घोषणा पनि गरेको थियो जसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा कसिकसाउ अनुगमनका लागि अनुमति प्राप्त गरेको थियो । तथापि, त्यसलाई मापदण्ड नपुगेको पनि अस्वीकार गरियो ।
त्यो प्रतिबद्धता सन् २००५ मा समाप्त भयो, तर अमेरिकाको समर्थनमा ईयूको निरन्तरको जोडबलका कारण इरानले युरेनियम प्रशोधनको कार्यलाई पूर्णरुपमा परित्याग गरयो । यो अडानले इरानको “अवशिष्ट अधिकार” लाई तिरस्कार गरयो, जसलाई यथार्थमा आणविक अप्रसार सन्धिमा स्पष्टरुपमा स्वीकार गरिएको छ । सन्धिले शान्तिपूर्ण आणविक ऊर्जा कार्यक्रममा आणविक ऊर्जा अप्रसार सन्धिका पक्ष राष्ट्रहरुले आणविक इन्धन चक्रका सबै चरणमा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
त्यो समयमा, यदि पश्चिमा राष्ट्रहरुले इरानी आणविक कार्यक्रमलाई प्रभावकारी किसिमबाट समाधान गर्नेगरी तयारी गरेका भए आजको सम्झौता पहिल्यै भइसक्थ्यो । र, यथार्थमा सन् २००६ को पूर्वार्धमा इन्टरनेसनल क्राइसिस ग्रुपले सीमित प्रशोधन प्रस्तावको विस्तृत ढाँचा प्रस्तुत गरेको थियो जसमा हाल भियनामा हस्ताक्षर गरिएकै मुख्य बुँदाहरु समेटिएका थिए ।
तेहरान, न्यूयोर्क र अन्यत्र भएका वरिष्ठ सरकारी अधिकारीहरुसँगका वार्ताहरुका आधारमा म विश्वस्त छु, यी प्रस्तावले इरानसँगका गतिरोधको पहिलै अन्त्य गर्न सक्थ्यो । प्रभावकारी सम्झौताका लागि आवश्यक सबै अधिकारहरु यसमा निहित छन् । तर इरानसँग कुनै पनि तहमा वार्ता नगर्ने पक्षमा रहेको अमेरिका र कुरा गर्ने तर ध्यानपूर्वक नसुन्ने ईयूका कारण सबै प्रयत्नहरु अर्थहीन भएका थिए ।
इरानीहरु एनपीटी अन्तर्गत दोस्रो दर्जाको मान्यता दिइएको कुराप्रति त्यति सन्तुष्ट थिएनन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले यसलाई स्वीकार गरी सन् २०११ मा परोक्ष विधिबाट वार्ता थालेपछि मात्र पछिल्लो प्रगति सम्भव भएको हो । वार्ताको मुख्य पक्ष नै इरानको आत्मसम्मानलाई मान्यता प्रदान गरिनु हो ।
अमेरिकी कङ्ग्रेस, इजरायल र अरब विश्वका भियना सम्झौताका आलोचकहरु इरान कुनै सम्मानयोग्य मुलुक होइन झैं व्यवहार गर्दछन् । उनीहरुको विश्वासमा इरान आणविक हतियार बनाउन सर्वदा अडिग छ, र १५ वर्षका निम्ति मुलुकको आणविक कार्यक्रमलाई सीमित गर्नेगरी सम्झौतामा हस्ताक्षर गर्ने इरानी नेताहरुले तहसनहस हुन लागेको इरानी अर्थतन्त्रलाई नाकाबन्दीबाट जोगाउन मात्र चाहेका हुन् । इरानले समयलाई दाउमा राखेको मात्र हो, आलोचकहरुको ठम्याइ छ, यसलाई भङ्ग गर्नेतर्फ इरान सदैव उद्यत छ ।
इरान अब एउटा नमूना अन्तर्राष्ट्रिय मुलुक रहेको कुरामा कोही पनि भ्रममा नरहे हुन्छ । यो मुलुकको आणविक चाहनाका बारेमा आधारभूत तहमै गलत बुझाइ छ । मेरो अध्ययनमा, विगतमा जस्तोसुकै इन्जिनियरिङ अनुसन्धान गरेको होस् र हालैका वर्षहरुमा जस्तोसुकै इन्धन बनाउने तथा मिसाइल प्रक्षेपणको क्षमता निर्माण गरेको होस् इरान आणविक हतियार निर्माणका लागि वास्तवमै निर्णायक तहमा पुगेको थिएन ।
इरान सदैव त्यो रातो रेखा नाघेको खण्डबाट उत्पन्न हुने बहुआयामिक जोखिमहरुप्रति सचेष्ट छ । उसलाई थाहा छ, हातहतियारबाट ज्यादै सुसज्जित इजरायलले आक्रमण गर्नेछ चाहे त्यो अमेरिकाले समर्थन गरोस् वा नगरोस् । मध्यपूर्वका सुन्नी सत्ताधारीहरु सिया बमलाई प्रतिरोध गर्नेतर्फ तत्कालै अगाडि बढ्ने खतरा अर्को छ, र थप अन्तर्राष्ट्रिय नाकाबन्दीहरु यो क्षेत्रका मुलुकहरुले सामना गर्नुपर्नेछ । साथै, अर्को एउटा पक्षलाई पनि नजरअन्दाज गर्नु हुँदैन, त्यो हो इरानी नेताहरुको धार्मिक आधारमा आमविनाशकारी हातहतियारको प्रयोग नगर्ने अडान ।
पश्चिमी राष्ट्रहरु, इजरायल र यसका अरब छिमेकी राष्ट्रहरुमा आणविक कार्यक्रम अहिले इरानले किन रोक्न छटपटी देखाएको होला भनी प्रश्न उब्जिएको छ । मेरो विचारमा, यसको सोझो उत्तर छ, राष्ट्रिय प्रतिष्ठाको लहर इरानमा प्रबल छ । यहाँका जनताको चाहना नै इरानलाई पश्चिमी राष्ट्रहरुले सम्मानजनक व्यवहार गर्नु पर्दछ भन्ने हो । प्राविधिक कौशलबाट सुसज्जित तर अन्तर्राष्ट्रिय आत्मग्लानीबाट प्रताडित यो मुलुकले पहिचान र मान्यता चाहेको छ ।
इरानीहरुले सिआइए र बेलायती गुप्तचर निकायहरुको गुप्त योजनामा सन् १९५३ मा मोहम्मद मोसादेगको निर्वाचित सरकार फालिएको घटनालाई अद्यापि बिर्सेका छैनन् । उनीहरुले पश्चिमा राष्ट्रहरुले जनताबाट तिरस्कृत शाह सरकारको पक्षमा गरेको निरन्तरको समर्थनलाई पनि राम्रैसँग बुझेका छन् । जनताले सन् १९८० को दशकमा इराकसँगको जबर्जस्त लडाईं तथा इराकी राष्ट्रपति सद्दाम हुसेनले रासायनिक हतियार प्रयोग गरेको कारण पनि थाहा पाएका छन् । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तान मामिलामा इरानले सहयोग गरेपनि त्यसलाई बेवास्ता गर्दै इरानलाई शैतान भनेको पनि सम्झिरहेका छन् ।
इरानको इमान्दारीप्रति धेरैले सहजै विश्वास नगरेको प्रस्टै छ, र इरानीहरुको सम्झौता वार्ताको शैली रुखो भएकोले यस्तो भएको होइन बरु वैयक्तिक विचारलाई आमजनताले बेग्लै किसिमबाट बुझ्ने गरेकाले वास्तविक कुरा मूल्याङ्कन गर्न कठिनाइ भएको हो । तर भियना सम्झौताले इरानको पक्षमा व्यापक समर्थन जुटाएको स्वीकार्नै पर्दछ ।
यथार्थमा, सम्झौताले इरानको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि वास्तविक अभिरुचिलाई प्रतिबिम्बित गर्नेगरी यथेष्ट कारणहरु प्रदर्शित गरेको छ । यसले क्षेत्रीय सुरक्षा सहयोगमा नयाँ आशाको सञ्चार गर्नेछ । होसियारीपूर्ण सकारात्मक कुटनीतिले कठोरतालाई सधैं परास्त गर्दछ ।
(ग्यारेथ इभान्स अस्ट्रेलियाका पूर्व विदेशमन्त्री (१९८८–९६) हुन्)
अनुवादः सोमनाथ लामिछाने, रासस
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई