तिवारी सचिवमा लड्ने

 tiwari
लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतको आसन्न निर्वाचनमा विभिन्न पदका लागि नामहरु बाहिर आइरहेकै बेला सक्रिय सामजिक अभियन्ता कृष्ण तिवारीले सचिवमा लड्ने उद्घोष गरेका छन् । विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभवले एनआरएनए यूकेको सचिव पद सम्हाल्न आफू उचित उम्मेदवार भएको उनको ठम्याइ छ । तिवारी हाल चितवन एड ट्रस्ट (क्याट यूके)का उपाध्यक्ष छन् । ‘एनआरएनए युकेलाई स्थापनाकालका उद्देश्य, आदर्श र बाटोतिर लैजान यसका विभिन्न नेतृत्वमा सक्षम र योग्य व्यक्तिको आवश्यकता छ’, उनले भने, ‘अब अनुहार हेरेर होइन, दक्षताका आधारमा उम्मेदवार छाने साख गुमाउने संघारमा पुगिसकेको संस्थाले पुनर्जीवन पाउन सक्छ ।’ चितवन स्थायी घर भएका तिवारी नेपाल छँदा लामो समय अध्यापनमा संलग्न थिए । बुद्धिजिवी परिषदका जिल्ला अध्यक्ष समेत भएर अनुभव बटुलिसकेका तिवारी मानवअधिकार संरक्षण मञ्चका जिल्ला संयोजक थिए । सन् २००६ मा बेलायत आएपछि तिवारी नेपाली समुदायमा विभिन्न तरिकाले सक्रिय छन् । वाटफोर्ड नेपाली समाजका प्रमुख सल्लाहकार उनले यसअघि चितवन एड ट्रष्टमा महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । एकसमय आफैंले कलेज समेत सञ्चालन गरेका उनी हाल लण्डनस्थित एक कलेजमा ग्र्याजुएट विद्यार्थीहरूको सुपरभिजनको काम गर्छन् । उनमा रहेको प्रचुर बौद्धिक उचाइ, अनुभव र कुशल नेतृत्व क्षमताले उनको उम्मेदवारीलाई मजबुत बनाउने राय धेरैको छ । एनआरएनए संस्था गैरआवासीय आम नेपालीको आफ्नै संस्था भएकाले यसको संरक्षण र गरिमावृद्धि गर्न सबै एकजुट हुने बेला आएको उनले बताए । यसका लागि युवा र बौद्धिक वर्ग खुलेर नेतृत्वमा अघि बढ्नुपर्ने उनको आग्रह छ । तिवारीलाई वाटफोर्ड नेपाली समाज, नेपलिज नर्सिङ एसोसिएसन यूके, चितवन एड ट्रष्टलगायत संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष साथ दिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री