काठमाडौँ, २८ असार । सधैंँजसो नेपाली क्रिकेटमा खड्किएको ‘हिटर’ ब्याट्सम्यानको अभाव आज भएको आयरल्यान्डसँगको खेलमा पनि रह्यो ।
दुई खेलाडीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । अर्को चाखलाग्दो कुरो, ४९ रन जोड्दा पाँच विकेट गुमाएको नेपालले थप चार रन जोड्दा अर्को पाँच विकेट गुमाउँदै मात्र ५३ रनमा समेटियो । विडम्बना, नेपालका चार खेलाडीले खातासम्म खोल्न सकेनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)अनुसार टी ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोस्रो सानो स्कोर हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम स्कोर सन् २०१४ मा नेदरल्यान्ड्स र श्रीलङ्काबीच भएको खेलमा भएको थियो, जसमा नेदरल्यान्ड्स मात्र ३९ रनमा अलआउट भएको थियो ।
टी–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपाल एसोसिएट राष्ट्रमध्ये सबैभन्दा बलियो मानिएको आयोजक आयरल्यान्डसामु निरीह बन्यो ।
वर्षाका कारण केही ढिला गरी सुरु भएको खेलमा टस जितेर आयरल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ओभरमा राम्रो प्रदर्शन गरे पनि त्यसपछि नेपालले कुनै पनि ओभरमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । पहिलो ओभरमा भने नेपालले १० रन जोडेको थियो ।
पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै २ अङ्क जोडेको थियो भने दोस्रो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र नामिबियाले अङ्क बाँडेका थिए । आज भएको खेलमा पराजित हुँदा नेपालले अङ्क तालिकामा अङ्क थप्न नसकी जारी प्रतियोगितामा तीन खेलमा तीन अङ्क मात्रैमा सीमीत भएको छ ।
अमेरिका, नामिविया र नेपाललाई पराजित गरेको आयरल्यान्ड ६ अङ्कसहित समूह ए को शीर्ष स्थानमा तथा तीन अङ्कसहित नेपाल दोस्रो स्थानमा छन् ।
लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्य पछयाइरहेको नेपालले छनोट प्रतियोगिताको ‘टर्निङ प्वाइन्ट’का रूपमा हेरिएको आजको खेलमा लज्जास्पद हार बेहोरेपछि नेपाली क्रिकेट खेलाडीको सामाजिक सञ्जालमार्फत विरोध भएको छ भने दुई पटक ट्वन्टी–२० विश्वकप छनोटको उपाधि जितिसकेको आयरल्यान्ड घरेलु मैदानमा उपाधिको ‘ह्याट्रिक’गर्ने अभियानमा छ ।
गत वैशाख १२ को ‘गोरखा भूकम्प’ले तयारी प्रभावित हुँदा नेपाल भारतको हिमाञ्चल प्रदेशमा तीन साताभन्दा बढी प्रशिक्षणपछि आयरल्यान्ड पुगेको थियो । युरोपको मौसममा लय समाउन सङ्घर्ष गरिरहेको नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । शनिबार नेपाल र नामिबियाबीचको दोस्रो खेल वर्षाले बिथोल्दा दुवै टोलीले एक÷एक अङ्क बाँडे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ केही राम्रो भए पनि नेपालको ब्याटिङ पक्ष भने निकै कमजोर रहँदै आएको छ । क्यानका अनुसार नेपाली खेलाडीलाई टोली युरोपका पिचमा खेल्न अप्ठयारो हुनेगर्छ ।
नेपाल, जर्सी, नामिबिया, पपुवा न्युगिनी, अमेरिका र हङकङ भएको समूहमा आयरल्यान्ड सबैभन्दा बलियो टोली हो । प्रतियोगिताको दाबेदारीका रूपमा हेरिएको आयरल्यान्डले यसै वर्ष भएको एक दिवसीय विश्वकपमा जिम्बाब्बे र वेस्ट इन्डिजजस्ता अनुभवी टोलीलाई हराएको थियो भने अघिल्लो विश्वकपमा इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो । ट्वन्टी–२० छनोट क्रिकेटमा आयरल्यान्ड सन् २०१२ र २०१३ मा गरी दुई पटक विजेता हुँदै विश्व कपका लागि छानिएको थियो ।
यसअघि २०१४ मा बङ्गलादेशमा भएको विश्व कप क्रिकेट खेल्नुअघि नेपाल र आयरल्यान्डबीच भएको अभ्यास खेलमा समेत नेपाल ५ विकेटले पराजित भएको थियो ।
आगामी साउन १० गते आयरल्यान्डमा हुने प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले बुधबार हङकङ, शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा