
नेपाल आयरल्यान्डसँग आठ विकेटले पराजित
काठमाडौँ, २८ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको तेस्रो खेलमा सोमबार नेपाल आयरल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।
आयरल्यान्डको बेलफास्टमा नेपालले घरेलु टोली ५४ रनको झिनो लक्ष्य दिएको थियो । चउन्न रनको झिनो विजय लक्ष्य आयरल्यान्डले ८ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो । उसका लागि पौल स्टलिङले र विलियम पोटर्फिलले महत्वपूर्ण ४९ रनको साझेदारी गरेपछि घरेलु टोलीले लक्ष्य सजिलै भेट्टायो ।
नेपाली खेलाडीले खेलमा कमजोर ब्याटिङको नमुना आजको खेलमा पेस गरे । ओपनर सागर पुनले बनाएको २० तथा कप्तान पारस खड्काले जोडेको १० रनबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अङ्कको रन छुन सकेनन् । भलै आज नेपालले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेट २.६ ओभरमा गुमाउनुअघि नेपालले १८ रन जोडेको थियो जसमा सागरको योगदान रह्यो । उनले ५.४ ओभरमा आउट हुनुअघि २० रन बनाएका थिए ।
पहिलो विकेटका रूपमा दुई रनमा अनिल मण्डल आउट भएपछि नेपालले लय गुमायो । त्यसपछि क्रिजमा आएका प्रदीप ऐरी शून्य रनमा पेबेलियन फर्के, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको जोडी जम्ने आशा गरिएको थियो तर अपेक्षाविपरीत पारस १० तथा ज्ञानेन्द्र दुई रनमा आउट भए । चौध दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै नेपालले ५३ रन मात्र जोड्यो । यो नै नेपालको टि–ट्वन्टी छनोटमा अहिलेसम्मकै कम स्कोर हो ।
त्यसपछि मैदान आएका राजेश पुलामी छ, विनोद भण्डारी शून्य, सोमपाल कामी शून्य, वसन्त रेग्मी दुई, शरद भेषवाकर छ र शक्ति गौचन शून्य रनमा आउट भएपछि नेपाल कम स्कोरमै सीमित भयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति