रोम, १९ असार । ग्रिसमा युरोको विरोध गर्ने कट्टरपन्थी बामपन्थी तथा दक्षिणपन्थी दलहरूले आइतबार आयोजना गरिने जनमत सङ्ग्रहलाई युरोको विरोध गर्न र आफ्नो योजना अगाडि सार्न प्रयोग गरेका छन् ।
प्रधानमन्त्री अलेक्सिज सिप्रासका कट्टरपन्थी बामपन्थी सरकारले ग्रिसका जनतालाई ऋणदाताहरूले बढी मितव्ययी कार्यक्रमका साथमा जमानत दिने भनी राखेको प्रस्तावलाई अस्वीकार गर्न आग्रह गरेको छ ।
केही बामपन्थी तथा मितव्ययी कार्यक्रमका विरोधी युरोपका राजनीतिज्ञहरूले प्रधानमन्त्री सिप्रासलाई सहयोग गर्ने बताएका छन् । यसका लागि उनीहरू आइतबारको जनमत सङ्ग्रहको समयमा एथेन्स आइपुग्ने भएका छन् ।
इटालीको प्रतिपक्षी बामपन्थी इकोलोजी एन्ड लिबरल पार्टीका नेता निची भेन्डोलाले आफूहरूले ग्रिसका जनताप्रति एकता प्रदर्शन गर्ने बताउनुभएको छ । उनले ब्रसेल्सको आदेश तथा बर्लिनको आशीर्वादबाट भएको सामाजिक कसाईपनाको विरोध गरिने बताउनुभयो । उनले यस्तो कार्य युरोपेली एकताको संस्थापक सिद्धान्तसँग नमिल्ने बताए ।
स्पेनमा कट्टरपन्थी पोदेमोसले पनि ग्रिसका प्रधानमन्त्री सिप्रासलाई समर्थन गर्ने बताएको छ । यस पार्टीले सार्वजनिक रूपमा ‘हुन्न’ भन्ने मतलाई प्रत्यक्ष रूपमा समर्थन नगरे पनि आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख पाब्लो बस्टिन्डुइलाई एथेन्स पठाउने भएको छ ।
उक्त पार्टीका दोस्रो स्थानका नेता यिनिगो इरेजोनले यो ग्रिसका जनताको समस्या नभएको र युरोपको समस्या रहेको बताए । उनले केही व्यक्तिले ग्रिसका जनतालाई युरोपमा र विशेष गरी दक्षिणी युरोपमा वैकल्पिक नीति लागु गर्न सकिन्न भन्ने देखाउन चाहेको बताए ।
फ्रान्सका लेफ्ट पार्टीका संस्थापक जँ लक मेलेन्चोले ग्रिसका जनतालाई आफ्नै मुलुकमा युरो समूहले वित्तीय प्रकोपबाट डराउनु पर्ने अवस्था सिर्जना गर्न प्रणालीगत रूपमा दबाउने कार्य गरेको आरोप लगाएका छन् ।
इटालीका हाँस्यअभिनेता बेप्पे ग्रिलोले युरोक्षेत्रको तेस्रो ठूलो आफ्नो मुलुक यसको सदस्य रहने वा नरहने भन्ने विषयमा जनमत सङ्ग्रह हुनुपर्ने बताएका छन् । उनले आइतबार एथेन्स आइपुग्ने बचन दिएका छन् ।
उनले ग्रिसका प्रधानमन्त्री सिप्रासले यो जनमत सङ्ग्रह गराएर असाधारण काम गर्नुभएको र त्यसले जनतालाई अन्तिम भनाइका लागि प्रजातान्त्रिक अधिकार दिएको बताउनुभयो । उनले ग्रिसका जनतालाई ‘हुन्न’ भन्ने पक्षमा मतदान गर्न आग्रह गरे ।
यसबीच युरोपका दक्षिणपन्थी राजनीतिक दलहरूले पनि ग्रिसको बामपन्थी सरकारले आयोजना गरेको जनमत सङ्ग्रहलाई समर्थन गरेका छन् । उनीहरूले यसबाट सदस्य मुलुकले ब्रसेल्सबाट आफ्नो सार्वभौमसत्ता फिर्ता पाउने धारणा राखेका छन् ।
सिल्भिया बर्लुस्कोनीको फोर्जा इटालीया पार्टीका अधिकारी रेनाटो ब्रुनेटाले आफूले ग्रिसका प्रधानमन्त्री सिप्रासको राजनीतिक दृष्टिकोण, नीति तथा धोकेवाजीलाई अस्वीकार गरे पनि उनलाई जनमत सङ्ग्रह अगाडि बढाउन बताउने बताए ।
उनले कर्मचारीतन्त्रको युरोप तथा जर्मन युरोपबाट आफूहरू दिक्क भएको बताए ।
फ्रान्सको कट्टरपन्थी दक्षिणपन्थी पार्टी नेसनल फ्रन्टका उपाध्यक्ष फ्लोरियान फिलिपोटले ब्रसेल्सले ग्रिसका जनतालाई उच्च मितव्ययी प्रयोगशालामा गिनिपिग बनाउन खोजेको आरोप लगाए ।
बेलायतको युकेआईपी पार्टीका नाइजेल फारेजले यस मतदानले ग्रिसका जनतालाई आफ्नो स्वतन्त्रता तथा मुद्रा फिर्ता पाउन अवसर दिएको बताए ।
इटालीको नर्दन लिगका माटेओ साल्भिनीले आफू ग्रिसका जनता भए हुन्न भन्ने पक्षमा मतदान गर्ने बताउँदै आफूहरू युरोपको केन्द्रीय बैङ्कको दास नभएको बताए ।
अस्ट्रियाको एफपीओ पार्टीका तर्फबाट युरोपेली संसदका सदस्य ह्यारल्ड विलिम्स्कीले ग्रिसको सङ्कट युरो अन्त्यको आरम्भ भएको बताए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता