मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १३:४३ | UK Time: 08:58

नेपालमा ‘ओलम्पिक डे’

वीनेपाली
२०७२ असार ८ गते २३:५९

oratory1

काठमाडौँ । ‘विपत्विरुद्ध हामी लड्न सक्छौँ’ भन्ने नाराका साथ मंगलबार राजधानीमा ‘ओलम्पिक डे’ मनाइएको छ ।

नेपाल ओलम्पिक कमिटी, स्पोट्र्स फर अल कमिसनको आयोजनामा नेपालमा पनि ‘ओलम्पिक डे’ मनाउन सुरु गरिएको थियो । मोर्डन ओलम्पिक गेम्स जन्म भएको सम्झनामा २३ जुनलाई विश्वभरका २०५ राष्ट्रले ‘ओलम्पिक डे’का रूपमा मनाउँछन् । सन् १८९४ जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) विधिवत् रूपमा स्थापना भएको थियो ।

लगनखेलस्थित नेपाल आर्मी स्पोट्र्स एन्ड फिजिकल टे«निङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमीको उपस्थितिमा ‘ओलम्पिक डे’ मनाइएको हो ।

नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, सांस्कृतिक र शैक्षिक गतिविधिसहित ३२ कार्यक्रम गरी ओलम्पिक डे मनाइएको कमिसनका प्रमुख विष्णुगोपाल श्रेष्ठले बताए । ओलम्पिक डे को विशेष समापन समारोहमा नेपालका ओलम्पियन जितबहादुर केसी, सङ्गीना वैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फूलमाया क्याप्छाकी, पुष्पराज ओझा, प्रवीण तुलाधर र टीकाराम श्रेष्ठले ओलम्पिक मसाल लिएर मार्चपास गरेका थिए ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपालले २०२० सम्म ओलम्पिक खेलमा पदम जित्ने तयारी गरिरहेको बताउँदै सन् २०१६ मा ब्राजिलमा हुने ओलम्पिक खेलमा नेपालको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले कुनै पनि भेदभावबिना खेलकुदमा सहभागिता वृद्धि गर्ने र खेलाडीको स्तरवृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको जानकारी दिए । नेपालका लागि जापानी राजदूत मासाइ ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए ।

नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले सन् २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिँदै नेपाललाई प्रवेशाज्ञा प्रक्रिया सहज रहेको उल्लेख गरे ।

कार्यक्रममा ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठलाई कमिटीको मानार्थ सदस्यता प्रदान तथा मार्चपासमा सहभागी नौ ओलम्पियनलाई सम्मान गरिएको थियो । सो अवसरमा गायिका कुन्ती मोक्तान, गायक सत्यराज आचार्य र रोज मोक्तानले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक