टुटेका सपनाहरु

265417_10150241950363963_541360_o

भूकम्पले तहस नहस बनाइहाल्यो । शहर गएको छोरो संग सम्पर्क हुन सकेको छैन ।  यतिका दिन भइसक्यो, केहि खबर आएको छैन । बल मद्दत मागेर खोज्न गएं  अझै केहि पत्ता लागेको छैन । हुने सम्म उपाय गरिरहेको छु तर छटपटी र बेचैनी बाहेक अरु केहि रहेन ।

राति सुतेको बेलामा त बच्चाहरु भूइंचालो आयो भनेर झस्किरहेछन् । घर गोठ सबै लागिहाल्यो । यहि टौवामुनि यसो बेरेर बास बनाएको छु  । भएको सम्पत्ति सबै पुरिहाल्यो । बस्तुभाउ सबै किचिएर मरिहाले । नाती नातिना च्यापेर भाग्दा  मेरी श्रीमतीलाई छानोको ढुंगाले किचिहाल्यो । हात खुट्टा दुवै भांचिएको छ । अस्पताल पुर्याउन सकेको छैन । ऐया ऐया गर्दै बांचेकी छिन् । हलचल गर्न सक्दिनन् । आत्तुरिमा भागदौड गर्दा पर्खालमा मेरो घुडा फुट्यो । बैठकीको सहायताले यसो हलचल गर्छु ।

आफूं त ओरालो लागेको घाम, अस्ताए पनि केहि छैन । यी कलिला मुनाहरुको यथोचित संरक्षण गरिदिन पाए हुर्केर आफ्नो जीबनमा केहि गर्थे होलान । बस्ने बास छैन, खाने कुरा केहि छैन, औषधि मुलोको त कुरै भएन । पुरिएको अन्न खोतल्दा मैकैको झुत्ता फेला पर्यो । पिध्ने कुनै साधन छैन । सिङ्गै गेडो उसिनेर बाल बच्चालाई खुवाउनु पर्यो । अरु खाने उपाय केहि छैन । गाउंको दुकानको साहुजीले धर्म छोड्नु भएको छैन । “म कहा भएको नून सबै गाउंलेलाई दिन्छु” भनेर यस दुखद घडीमा आफ्नो उदारताको प्रमाण प्रस्तुत गरिरहेका छन् ।

बच्चाहरु भोक र गरिबीले रोइरहेका छन्, तर्सिरहेका छन्, कुरा बुझ्दैनन् । श्रीमती थला परिहालिन, म सक्षम छैन । यहि छ जीवनको वास्तविकता । मेरो आफ्नो मात्र कुरा के गरौ ! गाउँ नै सबै ध्वस्त भएको छ । सबै गाउंले जम्मा भएर आशु झार्यो, दुख पिर बाड्यो, एक आपसमा मनलाई सम्झाउन कोशिश गर्छौ ।

माथिल्लो घरको दाइको सबै सखाप भए, लालेको जहानलाई पुर्यो, अझैँ झिक्न सकेका छैनन् । सांहिलोको जवान छोरो नै गुमाउनु पर्यो । सबैका पशु पुरिएर गन्हाइरहेका छन् । मान्छेको सतगत गर्न त गाह्रो परिरहेकोछ, पशुको त कुरै भएन । सारा गाउँ दुर्गन्ध छ । जाऔं कहा ? बसौ कसरी ?? कहांको श्राप लाग्यो यस्तो ?

हुन त प्राकृतिक प्रकोप आ-आफ्नो समयमा सबैले भोगेकै कुरा हो । मेरा हजुरबुवाको पालामा आंठेले (टाइफाइड) पुरै गाउँ नै सोत्तर भएको थियो रे । मेरो हजुरबुवाको परिवारमा मात्रै एकै दिनमा तीनजनाको मृत्यु हुंदा त्यसबेलामा शोक, क्रन्दन र चित्कारको सामना कसरी गरे होलान ?

११ सालको ठूलो बाढी पैरोले हाम्रो घरबार र तीस मुरिको नामी खेत बगाएर लग्दा मेरी आमाले डांको छोडेर रोएर गरेकी बिलौना म अलि अलि सम्झन्छु । ‘यी लाला बालाहरुलाई अन्याय भयो, यिनीहरु अब भोकै मर्ने भए, हाम्रो एउटा मात्रै भएको घर खेतमा पैरो लाग्ने मेरो कर्म किन फुटेको होला ?

२२ सालमा ठूलो अनिकाल पर्यो यहाँ ।  दिनभर जंगल गएर बाआमाले कन्दमुल, गिठा, निगुरो जस्ता तरकारी खोजेर ल्याएर सब परिवार पाल्नु भएको थियो । त्यस बेला  सार्है नमिठो गन्ध आउने उसिनेको चामलको  देशी भात पहिलो चोटि मुखमा परेको थियो ।  हाम्रो मुख हेर्दै आंसु झार्दै भन्नुभएको थियो, “मेरो छोराछोरीको बिचल्ली कसरी हेर्ने होला मैले ?

सार्है दिक्क लागेर पर्खाल माथि बसेर दिनभरी मेरी आमाले बिलाप गर्दा मेरो बाले ‘चुप लाग, जसरी पनि हुर्काउंला, दैबसंग केहि लाग्दैन । महामारीबाट बांचियो, ९० सालको भूइंचालो काटियो, त्यत्रो बाढी त सहियो । अझैँ  पनि केहि गर्ने हिम्मत छ, भो रुने काम छैन भनेर’ सम्झाउनु भएको मेरो कानमा ठोक्किरहन्छ ।

पहिलाका मान्छेले आफ्नो कर्तब्य गरेर गए । अहिले फेरी विपद आयो । मेरो जीवनले सबैभन्दा ठूलो परिक्षा लिदै छ । भूकम्पको कम्पन बारम्बार आइरहेछ । यसबेलामा भाग्न परिहाल्यो । जीबन नै प्यारो रहेछ । यी बच्चाहरुलाई हेर्छु, ग्लानी हुन्छु, हतोत्साही हुन्छु, आफ्नो लाचारीप्रति नतमस्तक हुन्छु ।

बांचेका तीन सन्तान मध्ये कोहि साथमा छैनन् । गरिबी र अवसरको कमीले सबै युवा युवतीलाई गाउंबाट लखेटी रहेछ । यो सबैको घरको साझा कहानी हो । छोरी बिहे गरेर आफ्नो घर गइ हालिन् । जेठो छोरा र बुहारी कतार गएका उनीहरु कै बाल बच्चा हेरी बसिरहेका छौ । यिनीहरु गएको बर्षदिन पनि नहुदै कान्छा छोराले अरु इलम नपाएर तीन लाख ऋण झिकेर दाजुकहा संगै जान हिडेको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उता पुगेको छैन, भूइंचालोले कता अलपत्र पर्यो कि के भयो थाहा पाउन सकिएन ।

आफूले कमाएको सबै सम्पत्ती गयो, गत महिना मात्रै नब्बे हजार रुपैया हालेर ल्याएको लैनो भैसी, एक हल गोरु लगायत अरु चौपाया सबै सखाप भइहाल्यो । सन्तान एउटा छोरो हराइरहेछ, छोरीको झन् सबै घरबार लागिहाल्यो, गरिबीले गर्दा छोरा बुहारी मुग्लानमा । अरु उपाय केहि छैन, सामना गर्न गाह्रो पर्यो ।

आफ्नो मनोदशा मन भित्रै राखेर “नआत्तिनु, सबै ठिक छ, बिस्तारै सामान्य हुदै छ” भनेर छोरा बुहारीलाई खबर पठाएं । हतारिदै आउलान, पिर गर्लान, हुने भइहाल्यो । यहाँ आएर पनि के गर्नु, यत्रो ऋण तिर्नु छ, अब घर बनाउनु छ ।

पीडामा छटपटाइरहेकी मेरी श्रीमतीलाई हेर्छु । उपचार छैन, सन्तानको पिरमा चिन्तित छिन् । सुख भनेको कहिल्यै पाइनन् । पहिले घरबार चलाउन अनि बालबच्चा  हुर्काउन, बढाउन, पढाउने गर्दा गर्दै दुखान्तका दृष्टान्तहरुको कहानी मात्रै भयो । यस उमेरमा छोरा परदेश गएर केहि सुख होला भनेको यसरि भूइंचालोले बर्बाद बनायो । कस्तो पार्यो समयले ? मैले केहि सुख दिन सकिन ।

उता राहत बढेका छन्, उपचार पाइन्छ भन्ने खबर सुनेर बिस्तारै हिड्दै पुगें । मान्छेका भिडमा बसेर केहि ल्याउने साहस नै आएन । अलिकति चाउचाउ र चिउरा हात पर्यो, त्यहि बोकेर ल्याएं, दुई छाक पुर्याएं ।

पुरिएको अन्न खोतल्दा खोतल्दै दिन बित्छ । बच्चाहरु रोइरहेछन्, चिच्याइरहेछन्, आत्तिरहेछन  । म फुल्याउन खोज्छु, असमर्थ हुन्छु  । रिस उठ्छ, पछि आत्म ग्लानी हुन्छु । मकैं उमालेर खुवाउने बाहेक अरु खाना केहि छैन । यहि पनि सकिन लाग्यो । अन्न अब केहि छैन । अरु उपाय केहि छैन ।

घर कसरी बनाउने, ऋण कसरी तिर्ने, यिनीहरुलाई कसरी सम्हाल्ने ? भन्ने प्रश्न दिमागमा सधै तेर्सिरहेपनि हिम्मत चाहिं अझै हारेको छैन । यसबाट पार पाउन सक्छु भन्ने नै छ यद्यपी बर्तमानको रापले पोलिरहेको छ । जीवनको यस अकल्पनीय परिक्षामा सकेको संघर्ष गरिनै रहनेछु ।

चौतारामा सिरिरी हावा चलेको शान्त बातावरणमा म एकछिन झुलेछु ।

“जस्तो भएपनि जीबन चलाउनु पर्छ, मानिसको चोलामा दुख त भोग्न लेखेकै कुरा हो । भूइंचालोले खत्तम बनायो । जे भयो भयो । भएकोलाई नभएको बनाउन सकिन्न अब । मानिस परिस्थितिको दास हो । हिजोका सबै उन्नतिहरु माटोमा मिलेपनि यस विपत्तिबाट शिक्षा लिएर अघि बढ्नु बाहेक अरु उपाय केहि छैन भनेर बुझ्नु  । हरेक पुस्तामा यस्ता प्राकृतिक प्रकोपले सताएको यथार्थ बुझेकै छौं । त्यसैले यो बिपत्तिमा पनि आफ्नो कर्तब्य गर्न जस्तोमा पनि पछि नपर्नु । जीबन एकै रफ्तारमा बग्दैन । बितेको समयबाट पाठ लिएर बर्तमान र भविष्यको लागि जस्तोमा पनि डट्न तयारी हुनु पर्छ । नआत्तिनु, हामी यहाँ बसेर हेरी रहेका छौं, एक्लो महशुस नगर्नु । हामीले पनि हिजो यी सबै भोगेकै हौ, आ-आफ्नो पालामा समयको बज्र खेप्नै पर्छ । जीवनको मुल्यांकन प्रायश दुखमा नै बढी  हुन्छ ।”

कुरा गरिरहेको बेलामा नजिकै ठुलो आवाजले मेरो निन्द्रा खुल्यो । सपनामा मेरो आफ्नो बा संग पो बोल्न पुगेछु । धन्य मेरा बा आमा !! वहाहरुकै सत्प्रेरणा नै मेरो ठूलो सम्पत्ति भइरहेको छ । यस दुखद घडीमा टुटेका मेरा सपनाहरु सबैलाई सार्थक बनाउने प्रयत्न गर्दै जीवनको यस सङ्ग्राममा अगाडी बढ्ने बाचा गर्छु  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री