बेलायतस्थित नेपाली विद्यार्थीले अस्थायी भिसा माग गर्दै थाले हस्ताक्षर

तस्वीर : इन्डिपेन्डेन्ट

तस्वीर : इन्डिपेन्डेन्ट

लन्डन । यूकेमा अध्ययनरत नेपाली विद्यार्थीले भूकम्पका कारण स्वदेशमा फर्कने वातावरण नभएको जनाउंदै अस्थायी भिसाका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित यहांका विदेशमन्त्री र अन्य प्रभावशाली राजनीतिज्ञहरुलाई सम्वोधन गर्दै थालिएको अनलाइन अभियानमा २५ अप्रिल र १२ मेका दुई शक्तिशाली भूकम्पले करिब ९ हजारको ज्यान गएको, सिंगो देश क्षतविक्षत भएको र लाखौं मानिस प्रभावित भएको अवस्थामा देश फर्कन सहज नभएको भन्दै विद्यार्थी र कामदारलाई कम्तीमा दुई वर्षको अस्थायी आवासीय अधिकार दिन माग छ ।

यसअघि एनआरएनए यूकेले यूके भिजा एण्ड इमिग्रेसनलाई यस्तै व्यवहोराको पत्र पठाउंदै विद्यार्थीलाई तत्काल नेपाल फिर्ता नपठाइदिन आग्रह गरेको थियो । तर, एनआरएनए यूकेको उक्त पत्रलाई केही तप्काले अलिक हतारमा प्रेसित गरिएको भन्दै प्रभावकारीताबारे आंशका गरेका थिए ।

लन्डनस्थित ग्लाइन्डर युनिभर्सिटीका स्टुडेन्ट एम्बेसडर गणेश खड्काले चेन्ज डट अर्गमार्फत अनलाइन हस्ताक्षर शुरुवात गरेका हुन् । हाल उक्त साइटमा समाचार तयार पार्दासम्म ७८२ हस्ताक्षर पुगिसकेको छ । खड्काले जति हस्ताक्षर बढि भयो उति सरकारले आफ्ना गुनासा सुन्ने भएकाले तलको लिंकमा गएर सबैलाई हस्ताक्षर गर्न भनेका छन् । ‘एक मिनेटको जांगरले ठूलो परिवर्तन ल्याउन सक्छ’, खड्काले भने, ‘देशको त्यस्तो विषम परिस्थितिमा विद्यार्थी नेपाल फर्कनुपर्ने अवस्था आए त्यसले झन् विकराल स्थिति लिन सक्ने भएकाले हामीले अभियान थालेका हौं ।’

खड्काले चेन्ज डट अर्गमा हस्ताक्षरकै कारण मलाला नोवेल शान्ति पुरस्कारका लागि मनोनित भएको, कतारमा गिरफ्तार दुई मानवअधिकारकर्मी गुणदेव घिमिरे र कृष्ण उपाध्यायलाई सकुशल फिर्ता ल्याइएको, इरानी कारागारमा रहेका इरानी मुलका बेलायतीलाई मुक्त गराइएको, एक परिवारलाई आफ्नो सन्तानको अन्त्येष्टीमा यूके आउन भिसा दिलाएको जस्ता उदाहरण समेत प्रस्तुत गरेका छन् ।

अभियानमार्फत प्रधानमन्त्री क्यामरुन, विदेशमन्त्री फिलिप ह्यामण्ड, स्कटिश नेशनल लिडर निकोला स्टरजनलाई यस्तो बेला नेपाल र नेपालीप्रति ऐक्यवद्धता र सक्दो सहयोग गर्न जोड दिइएको छ । नेपालको अवस्था सांच्चिकै दयनीय भएको र अधिकांश विद्यार्थीले आफ्नो घरसहित सर्वस्य गुमाएको पनि स्मरण गराइएको छ ।

हस्ताक्षरका लागि तल लिंकमा जानुस्

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री