बेलायतमा विहीबार आमचुनाव

uk election

तस्वीर इन्टरनेटबाट

 

लण्डन । बेलायतमा विहीबार आमचुनाव हुँदैछ ।
विहीबार बिहान ७ बजे शुरु भई राति १० बजेसम्म चल्ने चुनावले बेलायतमा आगामी पाँच वर्षका लागि कसले सरकार चलाउने भन्ने छिनोफानो गर्ने छ ।
विश्लेषकहरुका अनुसार यसपटक पनि गत चुनावमा जस्तै कुनै पनि राजनीतिक पार्टीले स्पष्ट बहुमत नपाउने सम्भावना बलियो छ । उनीहरुको आँकलन सही ठहरिएको खण्डमा बेलायतमा नयाँ किसिमको राजनीतिक अभ्यास शुरु हुनेछ । त्यो भनेको वर्तमान दुई दलीय गठबन्धन होइन अब सरकार गठनका लागि त्रिदलीय गठजोडको आवश्यकता पर्ने छ ।
बीबीसी मत सर्भेक्षणको बुधबार बिहानसम्मको तथ्यांकअनुसार सत्तारुढ कञ्जरभेटिभले ३४ प्रतिशत, प्रमुख प्रतिपक्षी लेबोरले ३३ प्रतिशत, युके इण्डिपेण्डेन्ट पार्टी (युकिप)ले १५ प्रतिशत र लिबरल डेमोक्र्याटले ८ प्रतिशत मत पाउने छन् ।
यद्यपि सिट संख्याका हिसाबले भने सरकार बनाउन चाहने जुनसुकै दलले स्कटल्याण्डको स्कटिशन न्याशनलिष्ट पार्टी (एसएनपी)सित साझेदारी वा समर्थन लिनै पर्ने अपरिहार्य अवस्था आउन सक्ने विश्लेषण गरिएको छ । कुल ५९ सिट रहेको स्कटल्याण्डमा प्रायः सबै सिट सो पार्टीले जित्ने अनुमान गरिएको छ ।
उता देशव्यापी मतमा तेस्रो स्थान ल्याउने अपेक्षा गरिएको युकिपले भने १ देखि २ स्थान मात्र ल्याउने भविष्यवाणी गरिएको छ । बरु युकिपभन्दा उत्तरी आयरल्याण्डका क्षेत्रीय दलहरु र ग्रीन पार्टीले बढी सिट ल्याउनसक्ने बताइएको छ ।
चुनावको मिति नजिकिादै जाँदा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मतदातालाई आफूतिर तान्न सफल भएको छ भने विगतका मत सर्भेक्षणहरुमा कञ्जरभेटिभलाई पछि पारिरहेको लेबोर अहिले दोस्रो स्थानमा झरेको छ ।
कञ्जरभेटिभलाई मिडियाहरुले पनि समर्थन गरिरहेका छन् । मिडिया टाइकुन रुपर्ट मुर्डोकको स्वामीत्वका द सन्, टाइम्स र स्काईले खुलेर कञ्जरभेटिभको पक्षपोषण गरेको छ भने अर्को लोकप्रिय ट्याबलोइड डेली मेलले पनि कञ्जरभेटिभको पक्ष लिएको छ । द टेलिग्राफले सधैँ कञ्जरभेटिभको पक्ष लिने गरेको छ भने गार्डियनले लेबोरको ।
नेपाली लगायतका आप्रवासीहरुले यस चुनावमा लेबोरलाई मतदान गर्ने सम्भावना छ । कञ्जरभेटिभले विगत पाँच वर्षमा आप्रवासन सम्बन्धी कडा नीति ल्याएको र तुलानात्मक रुपमा लेबोर आप्रवासीमैत्री भएको उनीहरुको बुझाइ छ ।
गोरखाहरुको पक्षमा खुलेर लागेकाले लिवरल डेमोक्र्याटलाई गत चुनावमा गोरखाहरुले समर्थन गरेका थिए तर कञ्जरभेटिभसित सत्ता साझेदार बनेपछि उसले आफ्ना नीति कार्यक्रमहरु बिर्सिएको कारण यसपटक लिबरल डेमोक्र्याटलाई मत दिने सम्भावना कम छ ।
६५० सिट रहेको युकेको संसदमा बहुमतका लागि ३२६ सिटको आवश्यकता पर्छ । विगतको चुनावमा कञ्जरभेटिभले ३०७, लेबोरले २५८ र लिवरल डेमाक्र्याटले ५७ सिट पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री