लण्डन । बेलायतमा विहीबार आमचुनाव हुँदैछ ।
विहीबार बिहान ७ बजे शुरु भई राति १० बजेसम्म चल्ने चुनावले बेलायतमा आगामी पाँच वर्षका लागि कसले सरकार चलाउने भन्ने छिनोफानो गर्ने छ ।
विश्लेषकहरुका अनुसार यसपटक पनि गत चुनावमा जस्तै कुनै पनि राजनीतिक पार्टीले स्पष्ट बहुमत नपाउने सम्भावना बलियो छ । उनीहरुको आँकलन सही ठहरिएको खण्डमा बेलायतमा नयाँ किसिमको राजनीतिक अभ्यास शुरु हुनेछ । त्यो भनेको वर्तमान दुई दलीय गठबन्धन होइन अब सरकार गठनका लागि त्रिदलीय गठजोडको आवश्यकता पर्ने छ ।
बीबीसी मत सर्भेक्षणको बुधबार बिहानसम्मको तथ्यांकअनुसार सत्तारुढ कञ्जरभेटिभले ३४ प्रतिशत, प्रमुख प्रतिपक्षी लेबोरले ३३ प्रतिशत, युके इण्डिपेण्डेन्ट पार्टी (युकिप)ले १५ प्रतिशत र लिबरल डेमोक्र्याटले ८ प्रतिशत मत पाउने छन् ।
यद्यपि सिट संख्याका हिसाबले भने सरकार बनाउन चाहने जुनसुकै दलले स्कटल्याण्डको स्कटिशन न्याशनलिष्ट पार्टी (एसएनपी)सित साझेदारी वा समर्थन लिनै पर्ने अपरिहार्य अवस्था आउन सक्ने विश्लेषण गरिएको छ । कुल ५९ सिट रहेको स्कटल्याण्डमा प्रायः सबै सिट सो पार्टीले जित्ने अनुमान गरिएको छ ।
उता देशव्यापी मतमा तेस्रो स्थान ल्याउने अपेक्षा गरिएको युकिपले भने १ देखि २ स्थान मात्र ल्याउने भविष्यवाणी गरिएको छ । बरु युकिपभन्दा उत्तरी आयरल्याण्डका क्षेत्रीय दलहरु र ग्रीन पार्टीले बढी सिट ल्याउनसक्ने बताइएको छ ।
चुनावको मिति नजिकिादै जाँदा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मतदातालाई आफूतिर तान्न सफल भएको छ भने विगतका मत सर्भेक्षणहरुमा कञ्जरभेटिभलाई पछि पारिरहेको लेबोर अहिले दोस्रो स्थानमा झरेको छ ।
कञ्जरभेटिभलाई मिडियाहरुले पनि समर्थन गरिरहेका छन् । मिडिया टाइकुन रुपर्ट मुर्डोकको स्वामीत्वका द सन्, टाइम्स र स्काईले खुलेर कञ्जरभेटिभको पक्षपोषण गरेको छ भने अर्को लोकप्रिय ट्याबलोइड डेली मेलले पनि कञ्जरभेटिभको पक्ष लिएको छ । द टेलिग्राफले सधैँ कञ्जरभेटिभको पक्ष लिने गरेको छ भने गार्डियनले लेबोरको ।
नेपाली लगायतका आप्रवासीहरुले यस चुनावमा लेबोरलाई मतदान गर्ने सम्भावना छ । कञ्जरभेटिभले विगत पाँच वर्षमा आप्रवासन सम्बन्धी कडा नीति ल्याएको र तुलानात्मक रुपमा लेबोर आप्रवासीमैत्री भएको उनीहरुको बुझाइ छ ।
गोरखाहरुको पक्षमा खुलेर लागेकाले लिवरल डेमोक्र्याटलाई गत चुनावमा गोरखाहरुले समर्थन गरेका थिए तर कञ्जरभेटिभसित सत्ता साझेदार बनेपछि उसले आफ्ना नीति कार्यक्रमहरु बिर्सिएको कारण यसपटक लिबरल डेमोक्र्याटलाई मत दिने सम्भावना कम छ ।
६५० सिट रहेको युकेको संसदमा बहुमतका लागि ३२६ सिटको आवश्यकता पर्छ । विगतको चुनावमा कञ्जरभेटिभले ३०७, लेबोरले २५८ र लिवरल डेमाक्र्याटले ५७ सिट पाएका थिए ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता