उद्दारका लागि नेपाली चिकित्सक र नर्स नेपाल

11148587_955288664490122_1079606472067462159_n

नेपाल उड्नुअघि नेपाली नर्सहरुको टोली

लन्डन । भूकम्प पीडितहरुको उद्दार तथा स्वास्थ्य सेवाका लागि बेलायतस्थित नेपाली चिकित्सकहरुको समूह आइतबार विहान नेपाल उडेको छ । नेपलिज 
डक्टर्र्स एसोसिएसन, यूकेको पहलमा १८ चिकित्सकसहित तीन सहयोगी गरि २१ जनाको टिम नेपाल गएको हो ।

एसोसिएसनका अध्यक्ष डा. अरुणकुमार झाका अनुसार, डा. कपिल रिजालको नेतृत्वमा चिकित्सकहरु भूकम्प प्रभावित जिल्लामा जानेछन् । आजै सांझ डा. कमल अर्यालको नेतृत्वमा चार जना चिकित्सक नेपाल उड्ने कार्यक्रम छ भने ६ मेका दिन डा. चुडा कार्की नेतृत्वको अर्को समूह पनि नेपाल जाने तय भएको छ । डा. कार्कीको समूहले मनो सामाजिक आवश्यकता तथा परामर्श सम्वन्धि जिम्मेवारी सम्हाल्नेछ ।

‘अप्ठेरोका बेला नेपाली चिकित्सकहरुले आफ्ना तर्फबाट सक्दो सहयोग गरेका छन्’, अध्यक्ष झाले भने, ‘म भूकम्प प्रभावित क्षेत्रमा खटिने साथीहरुप्रति आभारी छु ।’
उनले चिकित्सकहरु नेपालबाट फर्किएपछि के कस्तो आवश्यकता हुन्छ त्यो अनुसार कार्यक्रम बनाउने पनि जनाए ।

उता, डक्टर्स एसोसिएसनले शनिवार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित च्यारिटी डिनरमा संकलित करिब तीनहजार पाउण्डमध्ये एकहजार पाउण्ड भूकम्प पीडितलाई दिने जनाएको छ । उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ । च्यारिटी डिनरबाट भूकम्प पीडितहरुकै लागि कार्यरत फेज नेपाल नामक संस्थालाई दुई हजार पाउण्ड प्रदान गरिएको छ । उक्त अवसरमा अभिनेतृ जोआना लुम्लेले हस्ताक्षर गरेको किताव, प्रवल गुरुङका फेशन लगायत लिलाम बढाबढ समेत गरि रकम उठाइएको थियो ।

यसैबीच, नेपलिज नर्सिङ एसोसिएसन यूके आवद्ध नर्सहरु पनि नेपाल उडेका छन् । आज आइतबार अप्सरा खलाल, बबिता लामा, सरोजा अर्याल पूर्णिमा र गुरुङ देभ नेपाल उडे ।
हिजो शनिवार टुका स्याण्डवेल क्षेत्री, अजिता सिम्खडा, कमला पाण्डे, हिरा श्रेष्ठ, उमा दाहाल र राजेन्द्र पुडासैनी नेपाल गइसकेका छन् । पहिलो चरणमा एसोसिएसनकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नेपाल गएका सोविता कार्की सिलवाल, भावना श्रेष्ठ र मोनिका लामा अहिले अति प्रभावित जिल्लामा उद्दारमा संलग्न छन् । एसोसिएसनकी अध्यक्ष सुशिला कार्कीले आगामी बुधवारसम्म १६ जना नर्स भूकम्प प्रभावित क्षेत्रमा हुने जनाइन् । हालसम्म बेलायतबाट गएका नर्सले करिब तीनहजार जनाको स्वास्थ्य जांच तथा उपचार गरेका छन् ।
गृह मन्त्रालयका अनुसार हालसम्म भूकम्पबाट मर्नेको संख्या मुलुकभर ७ हजार चालिस पुगेको छ । मानवीय सहायता एजेन्सीहरुले यतिखेर भूकम्प पीडितका लागि टेन्ट, सुख्खा खाना र औषधिको प्रमुख आवश्यकता रहेको जनाएका छन् ।

11033135_10206972494617760_1014885293_o

चिकित्सकहरुको च्यारिटी डिनर

चिकित्सकहरुको च्यारिटी डिनर

प्रतिक्रिया

सम्बन्धित सामाग्री