सगरमाथा चढ्न गएका गोरखाहरु सकुशल

तस्वीर ः द टेलिग्राफ

तस्वीर ः द टेलिग्राफ

लण्डन । गोरखा भर्तीको दुईसय वर्षको अवसरमा सगरमाथा चढ्न गएका गोरखा सैनिकहरु सकुशल रहेको थाहा भएको छ ।
नेपालमा शनिबार गएको भुकम्प र सगरमाथा आरोहणको मार्गमा आएको हिमपहिरोको बाबजुद गोरखाहरुको टोली सुरक्षित रहेको आरोहणका आयोजकले बताएका छन् ।
आरोहणको आयोजक गोरखा २०० एभरेष्ट कमिटीका अध्यक्ष ब्रिगेडियर इयान रिज्डेनका अनुसार आरोहण दलमा रहेका आरोही र सहयोगी शेर्पाहरु सबै सकुशल छन् ।
रिज्डेनलाई उद्धृत गर्दै स्थानीय केन्ट अनलाइनले लेखेको छ, “आरोहण दलका सगरमाथा क्याम्प १ मा रहेका डेपुटी टिम लिडर आन्ड्रयु टोडसित छोटो सम्पर्क भयो । आरोहण दलका सबै १८ जना सदस्यहरु र शेर्पा भरियाहरु सकुशल छन् ।”
सगरमाथा क्षेत्रमा आएको हिमपहिरोमा परी १८ जनाको मृत्यु भएको र ३० जना घाइते भएको अहिलेसम्मको रिपोर्ट छ ।
“आरोहण दलका एकजना सदस्य जो पछि आधार शिविरमा सहायताका लागि जाँदै थिए उनी बाटैमा छन् र उनी आफैँले परिवारलाई सम्पर्क गरिसकेका छन्” उनले भने ।
१४ जना आरोहण दलका सदस्य र धेरैजसो शेर्पाहरु जो क्याम्प १ मा थिए उनीहरुलाई हेलिकोप्टरले आधार शिविरमा ल्याएको छ । आरोहण दलका तीन सदस्य पहिले नै बाँकी शेर्पाहरुसित आधार शिविरमै थिए ।
आधार शिविर भुकम्पले नचिनिने भएको छ । आधार शिविरलाई सुरक्षित बनाउन गोरखाहरु अरुसित मिलेर काम गरिरहेको बताइएको छ । उनीहरु अरु दुई दिन आधार शिविरमै रहने योजना छ ।
“आरोहण दलका एक सदस्य आधार शिविर पुगेपछि उनीहरु सबै जना पैदल वा अन्य कुनै माध्यमबाट काठमाडौँ फर्किने छन्” उनले भने ।
सगरमाथा क्षेत्रमा करिब ७०० आरोहीहरु रहेको अनुमान छ । त्यसमध्ये करिब ३०० आधार शिविरमा रहेको बताइएको छ ।
सगरमाथा आरोहीहरु कति हताहत भए भन्ने यकिन विवरण आइसकेको छैन । सगरमाथा क्षेत्रमा भएका आरोहीहरुलाई उद्दार गर्ने कार्य जारी छ ।
यसैबीच, टेलिग्राफका अनुसार चीनले तिब्बती क्षेत्रबाट आरोहणका क्रममा रहेका सबै आरोहण दलको आरोहण अनुमति रद्द गरेको छ । चीनले सबै आरोहीहरुलाई फर्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री