अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता पठाउन शुरु

10442933_640513726085591_6800707044753732996_n

क्षतविक्षत धरहरा दायां र बायांको सुन्दर धरहरा अब स्मृतिमा मात्र रहनेछ ।

 

लन्डन । ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभुकम्पपछि तहसनहस नेपालमा मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रियता शुरु भएको छ ।
मित्रराष्ट्र भारतले सबैभन्दा पहिला नेपाललाई राहत सामाग्री र उद्दार टोली पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारले भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्न परिचालन गरेको भारतीय वायुसेनाको विमान चिकित्सक टोली, सहायताकर्मी र राहत सामग्रीसहित काठमाडौं पुगिसकेको राससले जनाएको छ ।
विमानमा कम्बल, खाद्य सामग्री, उद्धार तथा खोजविनका निम्ति आवश्यक पर्ने उपकरण लिएर भारतीय टोली आएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिएका छन् ।

अर्को छिमेकी राष्ट्र चीन सरकारले नेपालको महाविपत्तिप्रति गहिरो दुःख व्यक्त 
गर्दै आइतबार उद्वार टोलीसहित सहयोग पठाउने भएको छ ।
चिनियां राष्ट्रपति सि जिनपिङले शनिबार अबेर समकक्षी रामवरण यादवलाई एक पत्र पठाउंदै यस्तो सहयोगको जानकारी गराएका हुन् । साथै उसले आइतबार करिब ६५ जना तालिमप्राप्त उद्वार टोली र अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहितको विशेष विमान पठाउने भएको छ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि शक्तिशाली महाभूकम्पपछि नेपालमा मानवीय सहयोग गर्ने उद्घोष गरेका छन् । प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपत्तिप्रति दुःख व्यक्त गर्दै आघात पुग्ने खालको उक्त विपत्तिमा बेलायतले सक्दो सहयोग गर्ने बताएका हुन् ।
उनले के कति सहयोग भन्ने चाहिं खुलाएका छैनन् । बेलायती विदेश मन्त्री फिलिप हेमण्डले पनि विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारसंग सम्पर्कमा रहिरहेको जनाएका छन् । उनले काठमाण्डौंस्थित बेलायती दूतावासले नेपालका अधिकारीहरुमार्फत आवश्यक सहायता उपलव्ध गराउने पनि जनाए ।

उता, इजरायले पनि नेपालमा मानवीय सहायता पठाउने तयारी गरेको इजरायली प्रधानमन्त्री कार्यालय श्रोतको भनाइ उधृत गर्दै दि टाइम्स् अफ इजरायलले जनाएको छ । विदेश मन्त्रालयका डाइरेक्टर जनरलले पनि नेपालका लागि मानवीय सहायता तयार भइसकेको जनाएका छन् । इजरायलले नेपालमा आफ्ना करिब करिब दुई हजार नागरिक रहेको उल्लेख गर्दै उनीहरुलाई सम्पर्क गरिरहेको र तिनको उद्दारका लागि विशेष विमान पठाइने जनाएको छ । साथै, इजरायली मानवीय सहायता समूह इजराएडले आकष्मिक कोष खडा गर्न अनलाइन अपिल समेत शुरु गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले शनिवार राती साढे नौबजेसम्म मृत्यु हुनेको संख्या एकहजार ४५७ पुगेको जनाएका छन् । देशभर ठूलो धनको क्षति भएको छ ।

उता, शनिवार नै बसेको मन्त्रिपरिषदको आकष्मिक बैठकले देश भरका भुकम्प प्रभावित क्षत्रलाई संकटग्रस्त क्षत्र घोषणा गरि राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा लगाउने निर्णय गरेको छ । यसबाहेक, केन्द्रिय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन र हेलिकप्टर प्रयोग गरि उद्धार 
गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषदले काठमाडौंमा ९ स्थान, ललितपुर २, भक्तपुर २ र प्रभावित सबै जिल्लामा राहत तथा उद्धार केन्द्र स्थापना गर्ने, प्रधानमन्त्री राहत कोष खडा गरी तत्काल सरकारको तर्फबाट ५० करोड रकम जम्मा गर्ने, उद्धारका निमित्त विदेशी समुदायलाई आव्हान गर्ने, सामाजिक संस्था, निजि क्षेत्र, नागरिक समाज, 
राजनैतिक दल सबैलाई उद्धारमा सहभागी हुन अग्रह गर्ने निर्णय पनि बैठकमा भएको छ । यसबाहेक, मृत्यु भएकाको परिवारलाई उचित क्षतिपूर्ति दिने, घाइतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने, सम्पूर्ण भत्किएको संरचना र पुरिएका व्यक्तिहरुलाई सेना, प्रहरी र स्वास्थकर्मी परिचालन गरि तत्काल सरकारी र निजी डोजर, इक्जाबेटर प्रयोग गरि उद्धार गर्ने, सम्पूर्ण अस्प्ताल २४ सै घण्टा खुल्ला राख्ने,डाक्टर र स्वास्थकर्मी २४ सै घण्टा परिचालन गर्ने, सरकारको तर्फबाट नियमित सूचना सम्प्रेषण गर्ने र खुल्ला ठाउंहरुमा टेण्ट टांगी स्वास्थ सेवा, खाने पानी र खाद्यान्न सेवा उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री