गोर्खा भेट्रान सघाउने च्यारिटीलाई नेशनल अवार्ड

तस्विरः गोर्खा वेलफेयर ट्रष्ट

तस्विरः गोर्खा वेलफेयर ट्रष्ट

 

लन्डन । गोर्खा भेट्रानहरुलाई सघाउंदै आएको बेलायत सेल्स्बरीस्थित एउटा च्यारिटीले नेशनल अवार्ड पाएको छ । विगत ९ वर्षदेखि सिटी सेन्टरमा रहेको दि गोर्खा वेलफेयर ट्रष्टले डेली टेलिग्राफका पाठकहरुको छनोटमा पिपुल्स् च्वाइस अवार्ड पाएको हो ।
बेलायती आर्मर्ड फोर्सेस्का पूर्व प्रमुख जनरल सर रिचार्ड डनटले नेतृत्व गरेको निर्णायक मण्डलले ट्रष्टलाई पुरस्कार दिने निर्णय गरेको सेल्सवरी जर्नलले जनाएको छ ।

उक्त च्यारिटी अन्तर्गत नेपालमा तीनसय कर्मचारी कार्यरत छन् भने सेल्स्बरी र अल्डरसटमा रहेका केन्द्रले पनि बेलायतवासी गोर्खा भेट्रानहरुलाई सहयोग 
गर्दै आएका छन् । ‘ट्रष्टले हरेक अवस्थामा गोर्खा भेट्रानहरुको जीवनशैली परिवर्तनका लागि अत्यावश्यक काममा साथ दिंदै आएको छ’, मनोनयनपछि निर्णायक मण्डलले भनेको छ, ‘गोर्खाहरुलाई पर्याप्त श्रोतसाधनबीच बेलायतमा सुरक्षित र मर्यादित तवरले बस्ने वातावरण बनाउन ट्रष्ट प्रतिवद्ध छ र यो बेलायती जनताका पक्षबाट प्रदान गरिएको सम्मान पनि हो ।’

ट्रष्टकी करेन इंग्ल्याण्डले अवार्ड जितेकामा आफूहरु उत्साहित भएको उल्लेख 
गर्दै यसले बेलायती जनताले गोर्खा भेट्रानहरुप्रति देखाएको सम्मान पुष्टि 
गर्ने बताएकी छन् । यही वर्ष गोर्खाहरु बेलायती सैनिक सेवामा प्रवेश गरेको २०० सय वर्ष गांठका अवसरमा उनीहरुकै सहयोग स्वरुप अवार्ड जितेकामा करेनले थप प्रसन्नता व्यक्त गरिन् ।

विशेषगरि, ट्रष्टको कल्याणकारी काम र औषधोपचारमा उल्लेखनीय योगदान छ । धेरै भेट्रान वृद्ध हुंदै गएका र उनीहरु ट्रष्टसम्म आउन असमर्थ रहेको अवस्थामा गाउं गाउं गएर जिल्ला नर्सहरुले सेवा दिंदै आएको ट्रष्टको भनाइ छ । यस च्यारिटीले सन् १९८९ यता नेपालमा करिब तीन लाख मानिसलाई शुद्ध पिउने पानी व्यवस्थापन गर्नुका साथै एकसय २५ नयां स्कुल निर्माण गरिदिएको छ भने १५ सय थप स्कुलका पूर्वाधार बनाइदिएको छ ।

व्यक्तिगत तवरबाट संकलित चन्दाबाट स्थापित उक्त कोषमा हाल करिब १५ विलियन पाउण्ड छ । उसले अझै पनि दोश्रो विश्व युद्धमा लडेका एकसय वर्ष माथिका २२ जना भेट्रान र विधवाहरुलाई रेखदेख गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री