८४ वर्षिय मीनबहादुर शेरचन एनअारएनको झण्डा लिएर सगरमाथा चढ्दै

तस्विरः एपी

तस्विरः एपी

लण्डन । ८४ वर्षिय मीनबहादुर शेरचन गैर अावासीय नेपाली संघ (एनअारएन) को झण्डा लिएर सगरमाथा चढ्ने भएका छन् ।
उनको आरोहणलाई सहयोग गर्न युकेमा गैर अावासीय नेपाली संघ बेलायतले गठन गरेको समितिका अनुसार यही अप्रिल २४ तारिखबाट शेरचनले सगरमाथाको आरोहण यात्रा शुरु गर्दैछन् र उनले यसपटक नेपालको राष्ट्रिय झण्डा र एनअारएनको झण्डा सगरमाथाको चुचुरोमा फहराउने योजना छ ।
यसअघि ७८ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम समेत लेखाइसकेका शेरचनको यसपटक पनि सर्वाधिक उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाउने उद्देश्य छ ।
Min Serchan tayari

तस्वीर ः मिलन तमु

गैर आवासीय नेपाली संघ युकेको मातहतमा गठित जेष्ठ नागरिक मिनबहादुर शेरचन सगरमाथा आरोहण सहयोग समितिको शनिबार युकेमा बसेको बैठकले शेरचनलाई मद्दत गर्ने एनअारएन अाइसिसीलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
समितिले उनको आरोहणमा सहयोग जुटाउन युकेस्थित सबैलाई अनुरोध गरेको छ ।
समितिले ८४ वर्षको उमेरमा पनि शेरचनले देखाएको आँट र साहसको प्रशंसा गर्दै उनलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।
पूर्व गोरखा सैनिक पनि रहेका शेरचनको आरोहणलाई सहयोग गर्नु बेलायतस्थित सम्पूर्ण गोर्खाज एवं पूर्व गोर्खाजको लागि इज्जत र प्रतिष्ठाको विषय भएकाले सहयोगका लागि समितिले अपील गरेको छ ।
शेरचनले आरोहणका लागि पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त गरिसकेका छन् । उनको आरोहणलाई हिमालय ट्रेकिङले ८० लाखमा जिम्मा लिएको छ । जसमध्ये १७ लाख रुपियाँ अग्रिम भुक्तानी भइसकेको छ । एनअारएन युकेले यसअघि ७३० पाउण्ड सहयोग गरेको छ ।
बैठकमा गैर आवासीय नेपाली संघ बेलायतका संरक्षक तथा पूर्व अध्यक्ष डम्बर घले र सूर्य गुरुङ, महासचिव राजकुमार त्रिपाठी, सहयोग समितिका संयोजक ज्ञान शेरचन, मिलन तमु, पूर्ण गुरुङ, होम सुनुवार, इन्द्र गुरुङ, रेशम शेरचन, अर्जुन तिलिजा, गुप्तमान शेरचन, तेज पुनमगर, कल्पना गौचन, हरि बुढामगरको उपस्थिति थियो ।
बैठकमा बेलायतको संसदीय निर्वाचनमा फानब्रोबाट लेबर पार्टीका लागि उम्मेदवार ग्यारी पपेट र फानब्रोका काउन्सिलर एलेक्स क्राउफोर्डको समेत उपस्थिति रहयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री