बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: १४:१२ | UK Time: 08:27

लन्डनमा नेपालबारे अध्ययन, २८ कार्यपत्र प्रस्तुत

वीनेपाली
२०७२ वैशाख ६ गते १२:४१

Nepal day

लन्डन । प्राज्ञिक र अनुसन्धानकर्ताहरुको एउटा संगठन ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) को आयोजनमा लन्डनमा १३ औं नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । सोआस्, साउथ एसिया इन्स्टिच्युटको सहयोगमा
अप्रिल १६ र १७ मा कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष आयोजना गरिने नेपाल अध्ययन दिवसमा नेपालसंग सम्वन्धित विषयले प्राथमिकता पाउंछन् । बीएनएसीका महासचिव डा. कृष्ण अधिकारीका अनुसार नेपाल अध्ययन दिवसमा यसपटक विभिन्न ९ सेसनमा २८ वटा नेपाल सम्वन्धि कार्यपत्र प्रस्तुत भए ।

लन्डन रसेल स्क्वायरस्थित सोआस् भवनमा आयोजित सम्मेलनमा जलवायु परिवर्तन र वातावरण, नेपाल र खाडी, सांस्कृतिक धरोहर, स्वास्थ्य, द्धन्द्धपछिको अवस्था, यूकेका नेपाली र भुटानी लगायत विषयमा प्रस्तुत कार्यपत्रमाथि वहस गरिएका थिए ।
‘विदेशीमाझ नेपालबारे थप व्याख्या गर्न, नेपाल विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थान प्रदान गर्न र नेपालका लागि केही गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो’, डा. अधिकारीले जनाए ।

उक्त सम्मेलनमा सहभागी नेपाल, बेलायत र युरोपेली मुलुकका पोष्ट ग्रयाजुएट विद्यार्थी देखि वरिष्ठ प्राध्यापक र अनुसन्धानकर्ताहरुसम्मले कार्यपत्रमाथि वहस गरेका थिए । सहभागीबीच १६ अप्रिल सांझ लन्डनस्थित नेपाली दूतावासले एक रिसेप्सन समेत आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक प्रा. डा. सूर्य सुवेदी संस्थापक अध्यक्ष रहेको उक्त 
संगठनमा नेपालका शुभचिन्तक बेलायती, नेपाल गएर अनुसन्धान गर्ने बेलायती विद्यार्थी, प्राध्यापक र प्राज्ञिक व्यक्तित्वहरुको वाहुल्यता छ । तर, संगठनले नेपाल अध्ययन दिवसकै अवसरमा सदस्यता सम्वन्धि विधान संशोधन गरेर अब केही खुकुलो बनाएको छ ।

बीएनएसीले आगामी वर्ष लिभरपुल जोनमुर युनिभर्सिटीमा यस्तै खालको नेपाल अध्ययन दिवस आयोजना गर्ने तय गरेको छ ।

यसै वर्षको १२ नोभेम्बरमा नेपाल सम्वन्धि एनुअल नेपाल लेक्चर कार्यक्रम हुने भएको छ भने अर्को वर्ष बेलायतमा दुईवटा नेपाल लेक्चर कार्यक्रम र काठमाण्डौंमा बेलायत नेपाल सम्वन्धबारे कार्यशाला गर्ने तय गरेको छ । २२ देखि २४ जुलाई, २०१५ मा नेपाल र हिमालय सम्वन्धि काठमाण्डौं सम्मेलन गर्न पनि संगठनको संलग्नता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक