शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: २१:४१ | UK Time: 16:56

खान पाएर डरलाग्दा रोग बोक्नु भन्दा खानाका लागि तड्पिनु राम्रो

वीनेपाली
२०७२ वैशाख ४ गते २३:४०

265417_10150241950363963_541360_o

संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी कम खाऔं भनि रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउन पुरुषार्थ सम्झन्छन् भने कोही संभव भएसम्म मिठोमिठो खान हरदम कोसिस गरिराखेका छन् । कोही धेरै खानुपर्दछ भनेर चाडपर्वलाई सराप्छन् भने कोही सारा वर्षदिन भरिको तमन्नालाई एकदिन भने पनि पुरा गर्न रात दिन दिन गनेर वसेका छन् । त्यसैले मलाई खाना खान पाएर विरामी हुनु राम्रो कि खाना खान नपाएर विरामी नहुनु राम्रो भन्नेमा आज मेरो दिमाग रुमल्लियो ।

मान्छेलाई जे चिज पाइदैन त्यहि चिजको बढी चाह हुन्छ । यो कुरा यहां पनि लागु हुन्छ । खान नपाउने मान्छेलाई गएर डाइटिङ्गको कुरा र खान पाउने मान्छेलाई धेरै क्यालोरीको परिकारबारे कुरा गर्नु रिस उठ्ने कुरा हो । संसारमा धनी देशको समस्या नै यसका जनताहरू मोटो भए भन्ने छ । सवैभन्दा बढी मोटो मान्छेहरू भएको देश अमेरिका हो, यहाँका मान्छेका वजन सवैभन्दा बढी छ, कारण के हो भन्दा धेरै खाएर । त्यस्तै बेलायतमा पनि मोटो मान्छेहरूको संख्या प्रसस्त छ र यो क्रम बढ्दो छ, यसले मेडिकल क्षेत्रमा चिन्ताको विषय बनाएको छ ।

हर प्राणीले खानुपर्दछ, संसारमा रहेका प्राय सवै प्राणीको धेरै समय खानाको खोजीमा या खानामा नै वितेको छ । यथोचित रुपमा खानाको दुरुपयोग गरी ज्यानलाई अत्याचार गरेपछि खाना पाएर भाग्यवान हुने होइन वरु खाना नै विष वन्दछ । सारा जीवनभर औषधी र डाक्टरको चक्करमा वित्दछ । खाना बढी खाइ शरीर मोटो भएर नै अनेक किसिमका रोगहरू जस्तै मुटुको, क्यान्सर, मधुमेय, वाथ जस्ता आत्मघाती रोग लाग्ने संभावना बढ्छ । अत्याधिक रुपमा चिल्लो र नुनको सेवनले र धुम्रपान अनि व्यायामको कमि नै रोगलाई निम्त्याउनु हो । खान  या पिउन पाइयो भन्दै जथाभावी गरेमा त्यसको परिणाम आफैले एक दिन भोग्नु पर्दछ । खाना भनेको प्राण, यसको यथोचित सम्मान गर्न जान्नुपर्दछ । एक दाना अन्नमा किसानको कति पसिना बगेको छ, थालमा आइपुग्दा सम्म कतिको श्रम भिजेको छ, यो उब्जाउन कति चमत्कार गर्नुपर्दछ भन्ने कुराहरूको जब दिमागमा घुस्दैन तब सम्म अज्ञानताले आंखा छोप्दछ, मानिस राक्षस बन्दछ, पाउन्जेल जे पनि जहिलेपनि खाइरहन्छ, खानुलाई नै पराक्रम सम्झन्छ, ठूलो ज्यानले नै खान पाएकोमा गर्व गर्दछ, ठूलो ज्यानको भरमा नै ठूलो हुन खोज्दछ जब अस्पतालको खाटमा जीवन र मरणको दोधारमा संघर्ष गरिरहन्छ तब अज्ञानताको पट्टी खोल्दछ अनि एकदम ढिलो भइहाल्छ । खालि पछुतो मात्र गरेर बगेको समय फर्किदैन, सारा जीवन यस्तै गरेर अरुले खाएको हेरेर, डाक्टर औषधीको बसमा रहेर, आफ्नो स्वतन्त्र खोजेर खाली सीमा भित्र बसेर मात्र चित्त बुझाउन बाहेक अर्थोक केही रहदैन ।

रोग नलागुन्जेल राम्रो संग स्वस्थ्यकर खाउ भनी अर्ति दिने मानिस वैरी बन्दछ, डाइटिसियन गाइजात्राको जोगी जस्तो, पोषणका कुराहरू हांसो लाग्ने, दुब्लो मान्छे रोगी बाहेक केही देखिदैन । कति किताव खाना सम्बन्धीको र कति विज्ञापन सव टोकरीका फोहर वन्दछन्, कति पल्ट घरमा झगडा यसको विषयलाई लिएर भएको होला । धेरै पल्ट टेलिभिजनका च्यानल र पत्रिकाका पाना खाना सम्बन्धीका हेर्दै नहेरी फ्याट फ्याट पल्टाइएका होलान् । खान पाएर यस्ता डरलाग्दा रोगहरू बोक्नु भन्दा खानाको लागि तड्पिनु राम्रो हो कि होइन ? यो त खान पाउने मान्छेले नै विचार गर्दछ उसले कसरी गर्ने ??

 

खान पाएर खानाको कारणले  विरामी हुने मानिस मानिस होइन, जसमा विवेकसुन्य र चेतनाको अभाव मात्र देखिन्छ, यसले अरुको चित्कार, ज्वाला, जीवनलाई सुन्दैन, खाली व्यक्तिगत स्वार्थ, कलंक र वैमनस्य बाहेक अरु पाउन सक्दैन । हामी के को लागि जन्मिएका र के गर्नु छ जीवनमा भन्ने सवै प्रश्नहरू निरर्थक बन्दछ । औषधीका प्रत्येक चक्कीले धिक्कारी रहेका हुन्छन्, नाप जाँच गर्ने मेसिनले सदैव खिल्ली उडाउदछन्, अस्पतालको ढोकाले स्वागत गर्न हिचकिचाउदछ । कति मेहनत समय खर्च गरी पढेका डाक्टरले खान पाइ भएका विरामीलाई अफसोच ठान्छन् होला, कति नर्सले प्राकृतिक रुपबाट नै विरामी भएकालाई स्याहार गर्न रुचाउदछन होला मोटो अनि भद्धा शरीर लिएर हिड्नु कुनै काम लाग्ने प्रमाणपत्र नभएर समयको ठूलो वम हो, जुन जहिले पनि पड्किन सक्दछ, यसले विकराल रुप लिइ वंश नाशमा नै सम्म पुग्न पनि सक्दछ । यो बम एटोमिक भन्दा पनि बढी खतरनाक हुन्छ । खुशी भन्ने शब्द केही पनि हुदैन, सुख त झन कल्पना भन्दा धेरै बाहिरको कुरा हुन आउछ । सारा आफ्नो जीवन अनि (शायद सब परिवारपनि) शोकको वैभव्यमा डुविरहदा खान पाउने आत्माले के भन्छ होला ??

खान पाउनेले कहिल्यै पनि खान नपाइ जीवन अर्पेका मानिसहरूको चिन्तन गर्दैन, उनीहरुको व्यथाको वारेमा पुरै अनभिज्ञ हुन्छ, खानको लागि तड्पेका कलिला, बाल, बृद्ध सव यौवनहरूको कहिल्यै विचार गर्न सक्दैन । संसारमा ७०% भन्दा बढी मानिसहरू एक पेट खानको लागि हरदम मुस्किलमा छन् भने तथ्याङ्क सुन्न चाहदैन । आफ्नो एक जना वरावरको खानाले तीन आत्मा बच्न सक्छ भनेर चिन्तत आउने कुरा नै भएन, आफ्नै कारणले खाना खाएर उपचार गर्ने श्रोतले कति भोकै पेटले आशिर्वाद दिन्छन भन्ने कुरा दिमागमा घुस्दैन । उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह संग किन नडराएको  होला ?? यी सबैले जीबनभर डस्दा कति तड्पिनु पर्ला  भनेर डर किन नआएको ? मोटोपनको कारणले जीबन नै गुमाउनु क्षण भोग्नु नपरोस भन्ने कामना नै हो सबैको, यो कुरा बुझेर मनन गर्न कहिल्यै ढिलो नहुने कुरा मा स्मरण गराउन चाहन्छु ।  ढिलै भएपनि गिद्धिमा चश्मा लगाइदिने मानिस कहाँ होला ? कसरी खोज्ने होला ?? आफ्नै छायाँ देखेर अर्को भनि ठूलो इनारमा हाम फाल्ने स्याल जस्तो लागिरहेछ खान पाउने मानिस । यसलाई बचाउन उपयुक्त के होला सवैले सोचौ न ??

खान नपाउने मान्छेले हर समय खानालाई सञ्जीविनीको रूपमा हेरेको हुन्छ । घर परिवार छोराछोरी सवैलाई हरदम पेट भर्न नै रातोदिन लागिरहेको हुन्छ । उसले अन्नको दानालाई अमृत ठानेको हुन्छ, सदैव यसको सम्मान गर्दछ, कहिल्यै वाहियात रुपमा खेर फाल्दैन । हर एक दानाको निमित्त कति पसिना श्रम भिजाउदछ, कति लम्वे दुरी यात्रा गर्दछन्, कति गाली गलौच सुन्नु पर्दछ तैपनि आत्मालाई ज्वलन्त राख्न आफ्नो कर्म गर्नमा कहिल्यै पछि पर्दैनन् । रोगले ठाडो पुच्छर लाउछ, अस्पताल जिन्दगीमा देख्नै परेनी, औषधी त कुरै भएन । विहान खाए बेलुका को चिन्तन, बेलुका भए विहानको । संभव भए हजार वर्ष तपस्या गरेर भगवानसंग सवैलाई वरावर खाना माग्ने थिए, व्यक्तिगत स्वार्थ, घमण्ड, द्वैष केही पनि राख्दैन, सधै मानव आत्मालाई संझन्छ, यसको परोपुकारको निमित्त समय भए खर्चन्छ । खान पाएका मान्छेले जस्तो दृष्टिले हेरेपनि यिनी विचलित हुदैनन् । सवै अहिल्यै खाउ, ठूलो ज्यान बनाउ भन्ने तमन्ना कहिल्यै हुदैन । थोरै खाउ सधै खाउ भन्ने नै मुल मन्त्र हो । यो कुनै विश्वविद्यालयमा सिकेको डिग्री होइन, समयले घोट्दा घोट्दै पठाएको पाठ हो । आफूलाई कहिल्यै सोच्दैनन् खाना देखेपछि छोराछोरी, परिवार सम्झिहाल्छन् । चाडपर्व टार्न पुर्‍याउन कडा मिहनेत गर्दछन्, तर धेरै खुसी रहन्छ, एक थाल खाएमा संतोष पाउछन् ।

खान पाउने मान्छेले जस्तो धेरै कहिल्यै धिक्कार्दैनन् । घर, परिवार, समाज सवैलाई आदर गर्दछन्, पाप भन्नेको भनि नै थाह छैनन् । यति गर्दा गर्दै पनि विना खाना आफन्तको वियोगमा यति कठोर हुन्छन, पृथ्वीमाता काप्छिन, आत्माको झंकारले सारा संसारलाई बादलले झै ढाक्छन, ठूलो गर्जन गरी ढुंगालाई समेत पगाल्छन् । यिनको आवाजलाई ठूला कविले बोक्नै नसकिने महाकाव्य लेख्नेथिए, रुवाइले ठूलो वर्षा गराउछन्, अनि विलापले ठूला ठूला भगवानको समेत मन ब्याकुल बनाउदथे तैपनि केही समय पछि सम्हालिन्छन् आफ्नो वज्रलाई थाति राखेर कर्म गर्दै पुन: प्रत्येक दाना दानाको खोजिमा जान्छन् । यिनी सारा प्राणी वर्गका प्रेरणाका श्रोत हुन सवैले यिनको कदर गर्न सकेमा मोक्ष पाउन अरु केही गर्न नै पर्दैन । पुलिस, अदालत, आर्मी, गोली–बम सब रद्धिको टोकरीमा पुग्दथे यसको सट्टामा प्रेम, भाइचारा, नैतिकवान, सभ्य सवै बन्ने थिए ।

खान नपाउने मानिसको नै सम्मान नभएर संसार अरु बढी मारकाट, लडाइ, हत्या आतंकको चपेटामा खांदिएको छ । सवै मानिस वरावर होइनन् ?? सवैलाई खानको निमित्त पृथ्वी माताले दिन सक्तिनन् ? सच्चा गरिव भनेको खान पाउने मानिस हो, खान नपाउने होइन । परिवार, इष्टमित्रबाट पाउने संतोष र खुशी खान पाउनेले पाउदैन खान नपाउने मान्छेले समय नभएको झै आतुरीको नाटक विलासीका सामान उपभोग गर्ने देखि हिचकिच गर्दछ । सधै मानवको उत्थानको लागि चिन्तन गरी विश्व प्रेम र भातृत्व प्रेमको ज्ञाता नै हुन । यिनलाई धेरै चाहिदैन, जे छ त्यसमा सन्तोष लिन जानेका छन्, आफ्नो छोराछोरीलाई यहि सिकाउंछन्, खुसी र सुख बढी खाएर, ठूलो घरमा बसेर, धेरै द्रब्य भएर, आरामदायी जीवनबाट आउने होइन, आ–आफ्नो परिवेश परिस्थिति अनुरुप आनन्द आफैले लिन सक्नुपर्दछ, खालि भौतिक रुपी सामान थपेर मात्रै हुने होइन । यिनीहरू विश्वविद्यालयका ठूला प्रोफेसरहरू हुन, मानव सभ्यता, प्रेम र भाइचाराका पुजारी हुन । खानुलाई मात्रै जीवन सम्झदैनन् यद्यपी यसको लागि धेरै समय खर्च गर्दछन मोटो हुनुलाई राम्रो ठान्दैनन् यसलाई रोगको पोको मान्छन् । जस्तोसुकै अपमान अरुले गरेपनि खिस्स हास्नलाई अघि साईन खान नपाउने मान्छेले कल्पनामा भएपनि आनन्द रमाएर बस्न जानेको हुन्छ । भयकंर बढी खाएर हुने रोगबाट र यसको अनुभवबाट बची धेरै खाने मान्छेलाई व्यंग्य हानिरहन्छ ।

मुटुरोग, क्यान्सर, मधुमेह जस्ता रोग रहरले आउने हो ? कि त यो वंशाणु हुन पर्‍यो होइन भने के त ?? खान नपाउने मान्छेले जीवनको बास्तविकता बुझेको छ, अरुलाई बुझाउन पनि खोज्दछ तर दुनियाले कानमा तेल हाल्छ परन्तु यसको भागिदार खानै पाउने मानिस आफै हुन्छ, हजारवार भित्तामा टाउको ठोके पनि केही नहुने, जति हात फैलाएर चिच्याइ कराए पनि निको नहुने, जति पछुतो र हिनताबोध भएपनि कहि केही नलाग्ने दर्द लिएर आफूसंग मात्र गुम्स्याएर राख्दा मात्र झल्यास्स ब्युझन्छ, सवै साहारा खोज्दछ, आफ्नो कर्तुत विर्सन्छ, खान नपाउनेलाई संझी उसलाई महान ठान्दछ तर समय नै वलवान भन्ने यहां लागु हुन्छ । त्यसकारण खान पाउने अथवा खाना खाएर रोग लाग्नु भन्दा खाना नपाएर या खाना नखाएर रोगबाट वञ्चित हुनु कुन चाहि राम्रो, आ–आफ्नो तर्क हुन सक्दछ । ठिकै गरी खाना खानु नै बेस भन्दछन् मानिसहरू तर, खान पाएको मानिसले ठिकै भन्ने शब्दलाई खाना संगै चपाएर पचांउछ अनि यसको परिणाम भोग्दछ ।

(आचार्य कोरोनरी मुटुरोग-२०१० का लेखक तथा नेप्लिज हार्ट फाउन्डेशन युकेका अध्यक्ष हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक