पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापाको बुधबार निधन भएको छ। दिल्लीस्थित मेदान्ता अस्पतालमा उनको ८८ वर्षको उमेरमा निधन भएको राप्रपाका सहायक महामन्त्री भुवन पाठकले विनेपालीलाई बताएका छन्। अल्सरको समस्या देखिएपछि गत आइतबार थापालाई अस्पताल भर्ना गरिएको थियो। शुक्रबार उनको पेटको शल्यक्रिया गरिएको थियो।surya_B_Thapaधनकुटाको मुगामा जन्मिएका थापाको यसअघि दुई पटक मुटुको शल्यक्रिया भएको थियो। उनका समकक्षीहरु उनलाई निकै चतुर राजनीतिक खेलाडीको रुपमा चिन्दछन्।

थापा पञ्चायतकालमा तीन र बहुदलमा एक र राजाको सक्रिय शासनको समयमा एक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री बने।

थापा समय र परिस्थिति राम्रोसँग बुझ्ने र परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने व्यक्ति हुन् ।

२०१५ सालमा कांग्रेसबाट संसदको माथिल्लो सदनमा निर्वाचित थापा राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था बनाउदा पञ्चायत प्रवेश गरे। ०१८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए र अर्को साल मन्त्रिपरिषद उपाध्यक्ष बने। त्यसपछि ०२१ सालमा पनि मन्त्रिपरिषद अध्यक्ष भए भने ०२२ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर प्रधानमन्त्री बने । पञ्चायतमा सुधारको माग गर्दा उनी २०२९ सालमा नजरबन्दमा परे।

जेलभित्रै होम गरेर कालो टीका लगाएका उनले २१ दिनसम्म भोक हडताल गरे। दुई वर्षपछि छुटेका थापाले ०३७ सालमा प्रधानमन्त्री भएर जनमत संग्रहमा निर्दललाई जिताउँदै दरबारलाई गुन लगाए । यस हिसाबले पनि थापालाई उनका निकटवर्तीहरू ‘एकैपटक दरबारको सहयोगी हुने र टक्करसमेत लिनसक्ने’ नेताका रूपमा लिन्छन् ।

थापा परिवर्तन स्विकार्ने व्यक्ति हुन् । उनले पटक–पटक स्वयं यसको दाबी पनि गरेका थिए । राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा प्रधानमन्त्री भएर काम गरेका थापाले २०६२/६३ पछिको परिवर्तनलाई पनि सहज रूपमा लिएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री