शुक्रबार, मंसिर १२ २०७७ | Fri, November 27, 2020
नेपालको समय: ११:५६ | UK Time: 06:11

गोर्खा स्मारक बनाउन सहयोगको बाढी

वीनेपाली
२०७१ चैत १८ गते १३:०५

ggg
लन्डन । गोर्खा भर्ती शुरु भएको दुई सय वर्ष गांठका अवसरमा बेलायतको ननिटनमा निर्माणाधिन गोर्खा स्मारकका लागि सहयोग संकलन तीव्र भएको छ । ननिटन र बेडवर्थमा रहेका गोर्खा समुदायको अपिलमा स्थानीय काउन्सिलदेखि बेलायतीहरुले सहयोगका हात बढाएका हुन् ।

वार्वीकसायर काउन्टी काउन्सिलले आठ फिट अग्लो स्मारक बनाउन ४ हजार पाउण्डको चेक दिएपछि सहयोगको बाढी आएको ननिटन न्यूजले जनाएको छ । करिब ४० हजार पाउण्ड लगानीमा गोर्खा स्मारक बनाइंदैछ । स्मारक निर्माणको जिम्मा ब्रिटिश गोरखा भेटेरान एसोसिएसनको स्थानीय शाखाले लिएको छ । सो स्मारक निर्माणले गोरखाहरुलाई मात्र फाइदा नभई समग्र ननिटन, बेडवर्थ, वार्वीकसायर र मिडल्याण्डकै आकर्षण हुने विश्वास एसोसिएसनका प्रवक्ता ओम गुरुङ एमबीईले लिएका छन् ।

गोर्खा भर्ती शुरु भएको दुई सय वर्ष गांठका अवसरमा एक भव्य समारोहबीच ‘गोर्खा २००’ समारोह हुने तय भइसकेको छ । आगामी अप्रिल २६ बिहान ११ बजे रिभर्सली पार्कमा हुंदैछ जसमा करिब ५ हजारले भाग लिने अपेक्षा छ । त्यस दिन सांस्कृतिक कार्यक्रम, फुड स्टल र संगीत नृत्य देखाइने छ जहां हरेक समुदायको उपस्थिति रहनेछ । भेट्रान्स सैनिकहरुको मार्च पास पनि आकर्षण बन्ने गोर्खा समुदायले जनाएका छन् ।

ननिटनका काउन्टी काउन्सिलर बब हिक्सले भनेका छन ‘यस बरोसंग गोर्खाहरुको लामो सम्वन्ध छ, यस्तो अवस्थामा ननिटनमा गोर्खा स्मारक बन्नु गर्वको कुरा छ ।’

बांकी रकम जुटाउन ‘गोर्खा २००’ कोष अभिवृद्धि कार्यक्रम समेत तय भएको छ । ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन, ननिटन शाखाका अध्यक्ष ओम गुरुङ (एमबीइ) ले आगामी ११ अप्रिलमा कोओपरेटिभ क्लव ननिटनमा एक च्यारिटी कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक