जीआरएनसी वोमेन्स फोरमले नारी दिवसमा मनायो इन्फर्मेशन डे  

11045329_919179128112771_7435486586441426895_n
लण्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी वोमेन्स फोरमले १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा फार्नबोरो कम्युनिटी सेन्टरमा इन्फर्मेशन डे कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा सहभागी सबैलाई समान आतिथ्य दिनका लागि परम्परागत शैलीबाट हटेर नितान्त पृथक र अनौपचारिक ढंगले कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा कुनै प्रमुख अतिथि वा विशेष अतिथिको स्थान राखी आसन ग्रहण, खादा लागाउने र सम्मान गरिने कार्यक्रम राखिएको थिएन।
बिहानको ११ बजे चियापानबाट शुरु भएको उक्त कार्यक्रम एउटा बृहत पारिवारिक भेला झल्काउने खालको मैत्रीपूर्ण वातावरणमा भएको थियो। कार्यक्रमको पहिलो चरणमा फोरमकी अध्यक्ष रन्जिता मल्लले स्वागत मन्तब्य राखे पश्चात विभिन्न स्थानिय सरकारी तथा गैर सरकारी संस्थाबाट आएका पेशेवर वक्ताहरुले महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए। वक्ताहरुमा निलम राईले ह्याम्प्शेर पुलिसका तर्फबाट अपराध तथा सामुदायिक सुरक्षा विषय, हेइलि बेविन ले सोलेंट एन एच एस ट्रस्ट का तर्फबाट यौन स्वास्थ्य विषय, कुस्मा लिम्बुले स्तन क्यान्सर विषय, मीना पुनले सिटिजन एडभाइस ब्युरो र नोर्थ ईस्ट ह्याम्प्शेर डोमेस्टिक अब्युज फोरमका तर्फ़बाट घरेलु हिँसा र यौनजन्य दुर्व्यवहार बिषय, निशा तिवारीले माइ टाइम हेल्थका तर्फबाट मधुमेह रोग विषय, शिला लिम्बुले रश्मूर बोरो काउन्सिलका तर्फबाट लागु औषध र मादक पदार्थ दुर्व्यसन विषय, दिया गुरुङले नयाँ युवा संस्था र स्वयंसेवा कार्य सम्बन्धि विषय, बौधमाया गुरुङले जुवातासको कुलत विषय र पुष्पा गुरुङले गोर्खा वेलफेयर एडभाइस सेन्टर र सिटिजन एडभाइस ब्युरोको सेवा र स्वयंसेवा सम्बधमा जानकारी दिएका थिए।

पहिलो चरणको कार्यक्रमको अन्त्यमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो जसमा सहभागीको जिज्ञासा र सवालको जवाफ रश्मूर बोरो काउन्सिलकी कर्मचारी शिला लिम्बु,रश्मूर सिटिजन एडभाइस ब्युरोका कर्मचारीहरु मोनिका लिम्बु तथा जशु मशेन्स गुरुङले दिएका थिए। अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले बेलायत आएपछि अंग्रेजी भाषाको समस्याले गर्दा भोग्नु परेका तिता अनुभवका साथै सम्बन्धित निकायमा कार्यरत नेपाली कर्मचारी र स्वयंसेवकहरुबाट पाएको सहयोगले जीवनयापन सहज बनेको मिठो अनुभव सुनाउँदा सभाहलमा उपस्थित सबै भावुक भएका थिए।

ग्रेटर रश्मूर तथा वरपरको क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरुलाई एकताबद्ध गर्ने र आवश्यकतामा परेका निसहाय महिलाहरुलाई बेलायतमा सरकारी र गैरसरकारी निकायबाट प्रदत्त सहायताबारे जानकारी गराई महिला जागृति र सशक्तिकरण गर्ने र महिलाहरुलाई पुरुषसरह समाजको मूलधारमा ल्याउने उद्देश्यले ग्रेटर रश्मूर नेपाली कम्युनिटीको विधान अन्तर्गत रही गत वर्ष जून २०१४ मा गठन गरिएको जीआरएनसी वोमेन्स फोरमले आयोजना गरेको यो पहिलो ठूलो कार्यक्रम हो।

सो अवसरमा जीआरएनसीकी भूतपूर्व उपाध्यक्ष तथा फोरमकी संस्थापक अध्यक्ष पुष्पा गुरुङले फोरमको उद्देश्यबारे प्रकाश पार्दै स्वस्थ समाज निर्माणका लागि महिला र पुरुष एक रथका दुइ पांग्रा सरह भएकाले महिला शिक्षा र सशक्तिकरणका लागि सबै एकजुट भएर सहकार्य गर्न अनुरोध गरेकी थिइन् ।
उक्त दिन कार्यक्रम सहभागीहरुका लागि फोरमका सदस्यहरु सबैले मिलिजुली खाना र ड्रिंक्स निशुल्क व्यवस्था गरेका थिए। सो कार्यक्रममा फोटोग्राफीको जिम्मेवारी फोरमकी सदस्य रितु सुब्बा लिम्बुले लिएकी थिइन् भने बिबिएनवर्ल्ड टिभिकी निरा पी जी तथा बिसन् गुरुङले भिडिओग्राफीको जिम्मा लिएका थिए।

दोश्रो चरणमा मनोरंजन कार्यक्रम राखिएको थियो। झन्डै १५० जनाको उपस्थिति रहेको सो कार्यक्रममा फोरमकी सदस्य श्रीमती जगना गुरुङले नारी शिर्षकको कविता पाठ गरी नारीहरुलाई अगाडी बढ्न आव्हान गरेकी थिइन्। कार्यक्रम आयोजना गर्न सहयोग गर्ने फोरमका सम्पूर्ण सदस्यहरु तथा उपस्थित सबैलाई फोरमकी प्रवर्तक पुष्पा गुरुङ र अध्यक्ष रन्जिता मल्लले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री