बेलायत जान छोडी बंगुरपालनमा जमे लाहुरे

तस्वीर : एजेन्सी

तस्वीर : एजेन्सी

झापा । करिब ३५ वर्ष बेलायतमा सेनाको जागिर खाएर फर्केका झापाका विजय सुब्बाले स्वदेशमै बङ्गुरपालन व्यवसाय थालेका छन् ।
झापा तोपगाछी गाविस–७ केर्खाका सुब्बाले स्वदेशमै बसेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धेयले बङ्गुरपालन व्यसाय सुरु गरेका हुन् ।
उनले  ९० लाख रुपैयाँ लगानी गरी कञ्जनजङ्घा बङ्गुरपालन फार्म सञ्चालन गरेका छन् । यति धेरै निजी लगानी गरेर यो व्यवसाय गर्ने सम्भवतः सुब्बा झापाकै पहिलो व्यक्ति हुन् ।
दशवटा बङ्गुर राखी उनले व्यवसाय सुरु गरेका हुन् । पन्ध्र महिनामा एउटा बङ्गुरले तीन पटक बच्चा जन्माउने तथा एक पटकमा १० वटासम्म बच्चा जन्माउने गरेको उनी बताउछन् । बङ्गुरको बच्चा प्रतिवटा पाँच हजारको दरले बिक्री हुने फार्मका सञ्चालक सुब्बाले जानकारी दिए ।
आफूले विदेशमै तालिम लिएकाले व्यवसाय गर्न कुनै कठिनाई नभएको उनी बताउँछन् ।  बङ्गुरका लागि दाना बनाउने उद्योग समेत सुब्बा आफैले सञ्चालन गरेका छन् । “एक दिनमा रु १५ हजार खर्च हुन्छ” उनले भने ।  फार्म सञ्चालन गर्दा १५ महिनामा रु एक करोड ५० लाख बराबरको कारोबार गरेको उनले बताए ।
सोही अवधिमा  ६७ लाख ५० हजार खर्च भएको सुब्बाको भनाइ छ । एउटा बङ्गुरबाट  २० हजार आम्दानी गर्न सकिने उनले बताए । फार्ममा बट्टाई, खरायो, हरिण पाल्नुका साथै बङ्गुरको फोहोरबाट कम्पोष्ट मल समेत बनाइ बिक्री गर्दै आएका छन् । “कम्पोष्ट मल प्रतिकिलो रु एकहजार ५०० सम्ममा बिक्री हुन्छ” सुब्बाको भनाई छ ।
छ जना कामदार रहेको यो फार्मबाट पोखरा, धरान, काठमाडौँसम्म मासुको लागि बङ्गुर पठाउने गरिएको छ । सुब्बाले तीन बिघाहा १० कठ्ठा जग्गामा फार्म सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री