ब्रिटिश सेनामा गोर्खालीको दुईसय वर्ष, के भन्छन् बेलायती राजनीतिज्ञ ?

प्रिन्स ह्यारीसंग गोर्खा । तस्विरः डेली मेल

प्रिन्स ह्यारीसंग गोर्खा । तस्विरः डेली मेल

लन्डन । ‘कायर भएर बांच्नु भन्दा मर्नु नै उत्तम’ भन्ने आदर्श वाक्य हो ब्रिटिश सेनामा कार्यरत गोर्खाको । गोर्खालीहरु कति निडर र साहसी हुन्छन् यो वाक्यबाट नै प्रष्ट हुन्छ । विश्वमा विशिष्ट छ गोर्खालीहरुको परिचय । सन् १८१५ मा अंग्रेज र नेपालबीचको युद्धमा गोर्खालीले आफ्नो मातृभूमिको रक्षार्थ युद्ध भूमिमा देखाएको साहस र वीरताको उपज आज उनीहरु ब्रिटिश सेनामा छन् । गोर्खाली सेनाको युद्ध कौशल देखेपछि बेलायतले आफ्नो सेनामा भर्ती गर्ने इच्छा देखाएर नेपालसंग सम्झौता गरि गोर्खालीहरुलाई ब्रिटिश सेनामा भर्ती शुरु भएको इतिहास छ ।

सन् १८१५ देखि सन् २०१५ सम्म आइपुग्दा ब्रिटिश सेनामा गोर्खा भर्तीले २०० वर्ष टेकेको छ । यो २०० वर्षको इतिहासमा गोर्खालीहरुले पहिलो र दोस्रो विश्व युद्धदेखि अन्य कयौं युद्ध लडे ब्रिटिश साम्राज्यका लागि । गोर्खालीले बेलायती सेनामा भर्तीमात्र होइन, आफ्नो पुर्खाको इतिहास पनि बचाएका छन् । चाहे शान्तिको बेला होस् चाहे युद्ध भूमिमा होमिनु भन्दा अगाडि होस्, आजपनि आफ्नो बाबु बाजेले वीजारोपण गरेको संस्कृति अनुसार पूजाआजा गरेर शक्तिपीठहरुमा शक्ति माग्छन् र युद्धमा विजयका लागि कुनै कसर बांकी राख्दैनन् ।

शिरमा ढाका टोपी, कम्मरमा खुकुरी र आफ्नो निशानको पूजामा सधैं अटल छन् गोर्खालीहरु । विदेशी भूमिमा बसेपनि आफ्नो कला, संस्कृतिमा कहिल्यै आंच आउन दिएका छैनन् । अहिले पनि नेपाली चाडपर्वहरु उत्तिकै स्नेहका साथ, रितिरिवाज अनुसार मान्छन् गोर्खालीहरु । नेपाल भन्ने बित्तिकै गोर्खालीहरुको देश, सगरमाथाको देश, पशुपतिनाथको देश र शान्तिका दूत भगवान गौतम बुद्धको जन्मभूमि भनेर विश्वले चिनेको छ ।

ब्रिटिश सेनामा नेपालीहरुको भर्ती भएदेखि नै नेपाल बेलायतबीच मित्रवत सम्वन्ध शुरु भएको थियो । हाल गोर्खा भर्ती एवं नेपाल र बेलायतको कुटनीतिक सम्वन्ध स्थापनाको २०० वर्षको अवसरमा दुवै देशले कयौं कार्यक्रम आयोजना गरि यसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । यसै २०० वर्षको अवसरमा हामीले बेलायतका केहि प्रभावशाली राजनीतिज्ञलाई सम्पर्क गरि ब्रिटिश सेनामा गोर्खालीहरुको २०० वर्ष सेवा अनि नेपाल बेलायतबीच मैत्रीपूर्ण सम्बन्धबारे उनीहरुको धारणा बुझ्ने प्रयास गरेका छौं ।

ज्याकी डोयल प्राइस सांसद एवं सर्वदलीय संसदीय समिति (गोर्खा वेलफेयर) निवर्तमान अध्यक्ष 

ज्याकी डोयल प्राइस

ज्याकी डोयल प्राइस

म ब्रिटिश सेनामा सेवा गरेका गोर्खालीहरुको ठूलो सम्मान गर्छु । मेरो क्षेत्रमा बसोबास गर्ने गोर्खाली परिवारलाई हाम्रो समुदायमा सबैले अधिक मन पराउंछन् । उनीहरुलाई सबैले स्नेह र सम्मान गर्छन् । गोर्खालीहरु हाम्रो अत्यन्त नजिकका मित्र र हाम्रो राजमुकुटको वफादार समर्थक पनि हुन् । गोर्खालीहरु सेवानिवृत्त भएपछि पनि एउटा मर्यादित जीवन बिताउन सक्षम राख्नु नै हाम्रो मुख्य दायित्व हो । त्यसको लागि हामीले गोर्खा कल्याण कोष मार्फत काम गर्छौं । बेलायतले नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग कार्यक्रममार्फत नेपाललाई लाभ पुर्याउंदै आएको छ । हामी नेपालको सबैभन्दा नजिकका मित्र हौं र नेपालमा धेरै विकास, प्रगति भएको देख्न चाहन्छौं । त्यसमा पनि बेलायती सेनामा गोर्खालीहरुको उपस्थिति २०० वर्ष पुगेको छ । नेपालले हामीलाई गोर्खाली सेना दिएको छ, जसले बेलायतको रक्षा गरेको छ । बेलायतीहरु गोर्खाली वीरताको धेरै ठूलो प्रशंसा गर्छन् । नेपाल र बेलायत कुटनीतिक सम्बन्धको २०० वर्षको वार्षिकोत्सव हामी दुवै देशलाई अत्यन्त ठूलो उत्सव हो । यसबाट पनि प्रष्ट हुन्छ कि बेलायत र नेपाल बीचको मित्रता कति महत्वपूर्ण छ भनेर । बेलायतीहरु गोर्खाली सेनाको निरन्तर उपस्थिति को समर्थन र स्वागत गर्छन् । म गोर्खा ब्रिगेड र नेपाली जनतामा २०० वर्ष 
गांठको शुभकामना दिन चाहन्छु ।

एलान डंकन

एलान डंकन

 सांसद एवं डिएफआइडी पूर्व मन्त्री
गोर्खालीहरु हाम्रो सशस्त्र सेनाको एक अभिन्न अंग हुन् जसको 
संसारमा साहस र सम्मानका लागि एक अद्वितीय प्रतिष्ठा छ । गोर्खालीहरुको ब्रिटिश सेनामा २०० वर्ष वार्षिकोत्सव कार्यक्रम भनेको उनीहरुको बहादुरी र वफादार प्रतिको सम्मान गर्ने उपयुक्त समय हो ।
रोजर विलियम्स् सांसद

रोजर विलियम्स्

रोजर विलियम्स्

गोर्खा रेजिमेन्टले बेलायती रानी र बेलायतको रक्षाको लागि सेवा गरेको २०० वर्ष इतिहास भएको छ । ब्रिटिश सेनामा गोर्खा रेजिमेन्ट विशिष्ट वर्गको रेजिमेन्ट हो जहां गोर्खालीहरु छन् । गोर्खालीहरुको साहस र कर्तव्यनिष्ठ काम विश्वमाझ प्रसिद्ध छ । अचेल गोर्खाली सेनामा भर्ती भएकाहरुलाई बेलायती नागरिकताको अधिकार 
छ । उनीहरु बेलायतमा बसोबास गरिरहेका छन् । सन् १९९६ यता उनीहको सेवा सुविधा समान छ । सशस्त्र सेनाको संसदीय स्किम अनुसार म बु्रनाईमा तैनाथ गोर्खाहरुसंग जंगल वारफेर ट्रेनिंगमा गएको थिएं, जसबाट मैले गोर्खालीहरुको आत्मवलबारे बुझ्ने मौका पाएं । गोर्खालीहरुको आत्मवल अत्यन्त उच्च छ । उनीहरु विशिष्ट वर्गको रेजिमेन्ट हुन्, उनीहरु अत्यन्त कठिन तालिमबाट प्रशिक्षित छन् । गोर्खालीहरुसंग हाम्रो आदर मित्रता भएको २०० वर्ष भइसकेछ । नेपाल र संयुक्त अधिराज्य बेलायतबीचको एकता वन्धन गोर्खालीहरुले गांसेका छन् । बेलायतले नेपालमा स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको सुधार गर्न विशेष सहयोग गर्दै आएको छ । मेरो क्षेत्र साउथ वेल्स्मा बसोबास गर्ने गोर्खा परिवार स्थानीय समुदायको लागि महत्वपूर्ण सदस्य हुन् । हामी २०० वर्षको वार्षिकोत्सव मनाउन अत्यन्त उत्साहित छौं, सांच्चै यो हाम्रो लागि अविस्मरणीय उत्सव पनि हुनेछ । म नेपाली जनतालाई २०० वर्ष गांठको शुभकामना दिन चाहन्छु ।
(नारायण अधिकारीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामाग्री